कञ्चनपुरको कृष्णपुरमा निर्माण भएको बर्थिङ सेन्टर अलपत्र



Download our app to get more features

कञ्चनपुर, २१ भदौ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा रहेको सामुदायिक स्वास्थ्य इकाईमा  बर्थिङ सेन्टरका लागि निर्माण भएको भवन अलपत्र परेको छ । 

नगरपालिकाले पर्याप्त बजेट विनियोजन नगर्दा सेन्टर सञ्चालनमा आउन नसकेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र९इन्सेक० सुदूरपश्चिम प्रदेश कार्यालयको सहयोगमा कृष्णपुर नगरपालिका स्तरिय मानव अधिकार समूहले निगाली सामुदायिक स्वास्थ्य इकाईमा आयोजना गरेको स्वास्थ्य अधिकारको अवस्था र सरोकारवालाहरुको भूमिका विषयक छलफल कार्यक्रममा बोल्दै सहभागीहरुले उक्त कुरा बताएका हुन् । 

कार्यक्रममा बोल्दै निगाली सामुदायिक स्वास्थ्य इकाईकी प्रमुख आशा भण्डारीले स्वास्थ्य चौकीबाट प्रदान हुने सबै सेवाहरु प्रवाह गरिरहेको भएता पनि जनशक्ति अभावका कारण सेवालाई थप प्रभावकारी बनाउन नसकिएको बताइन् ।

२ जना स्वास्थ्यकर्मीको भरमा संस्था चलिरहेको जानकारी गराउँदै प्रमुख भण्डारीले बर्थिङ सेन्टर सञ्चालन गर्ने भनेर बनाइएको भवन २ वर्ष भइसक्दा समेत सञ्चालनमा आउन नसकेको बताइन्। बर्थिङ सेन्टर नहुँदा  नेपाल सरकारको ‘जिरो होम डेलीभरी’ नारा विपरीत घरमै बच्चा जन्मिरहेको उनले जानकारी दिइन्।  

यस्तै कार्यक्रममा बोल्दै महिला स्वास्थ्य स्वयम् सेविका डम्बरी पाठकले कोरोना महामारीका बेला स्वास्थ्य सुरक्षा सामग्री समेत नपाएको गुनासो गरिन् । स्वास्थ्य संस्थाले प्रत्येक महिना आमा समूहको बैठक बसाएर स्वास्थ्य शिक्षाबारे छलफल चलाउनुपर्दा बैठक पुस्तिका पनि नपाएको उनले बताइन् ।  

यस्तै वडाअध्यक्ष मोहनबहादुर बस्नेतले प्रसूति गृह नहुँदा सुत्केरी हुन नसकेर गर्भवती तथा नवजात शिशुको अकालमै ज्यान जाने गरेको बताए । उनले दशैंअघि प्रसूति गृह सञ्चालनमा ल्याउन आफू लागिपरेको बताए । 

कार्यक्रमको अन्त्यमा मानव अधिकार समूहका संयोजक जयलाल सावदले नेपाल सरकारले सामुदायिक स्वास्थ्य इकाईमार्फत निःशुल्क रुपमा वितरण गर्ने औषधि तथा सेवाहरुको नामावली नेपालीमा लेखेर स्वास्थ्य संस्थामा टास्न आग्रह गरेका थिए।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts