बझाङका सुत्केरीको ज्यान जोखिममा,स्टेचर समेत नहुँदा स्वास्थ्य सेवाबाट वञ्चित



Download our app to get more features

बझाङ,२८ भदौ । जिल्लाको छबिस पाथिभेरा गाउँपालिका–७ मजखोरी गाउँकी एक महिलालाई गएको आइतबार बिहान एकाएक सुत्केरी बेथाले च्याप्यो । बेथाले छटपटाई रहेकी महिलाका आफन्तले उनलाई स्वास्थ्य चौकीसम्म लैजान स्टेचरको खोजी गरे। तर गाउँमा कतै पनि स्टेचर पाइएन । 

सुत्केरीको अवस्था जटिल बन्दै गएपछि आफन्तले घण्टौँसम्म काठमै बोकेर अस्पताल लग्नुपर्यो । घण्टौँ हिडेर र केही समय गाडीमा समेत गरेर झण्डै ६ घण्टापछि महिलालाई जिल्ला अस्पताल सिमखेत पुर्याइयो ।

सुत्केरीलाई समयमै अस्पताल पुर्याउन नसकिँदा जन्मिएको बच्चालाई गुमाउनु परेको छ। समयमै बेथाले च्यापेकी महिलालाई अस्पतालमा पु¥याएको भए पेटमा उल्टो रहेको बच्चालाई बचाउन सकिने अवस्था रहनसक्ने चिकित्सकले बताएका थिए । तर, गाउँबाट अस्पतालसम्म बोकेर लैजान स्टेचर समेत नहुँदा सुत्केरी महिलासमेत जोखिममा परेको उनका आफन्तले बताएका छन् ।

गाउँघरमै स्थानीय सरकार आइसकेपछि बाटो बन्ने र बीरामीलाई एम्बुलेन्समा अस्पतालसम्म लान पाउने आशा स्थानीयमा थियो । तर, अझै पनि दुर्गम गाउँमा गम्भीर प्रकारका तथा आपत्कालिन अस्पताल लैजानुपर्ने बिरामी बोक्न स्टेचर समेत पाउन मुस्किल छ।

‘हरेक गाउँमा स्टेचर राख्नुपर्ने हो, एम्बुलेन्स सेवा त परै जाओस स्टेचर समेत नपाउने दुर्गमका नागरिकको पिडालाई कसले सुनिदिने’,  स्थानीय लक्ष्मण मण्डेलले भने, ‘स्थानीय सरकारले योजना महत्वकांक्षी बनाए पनि कार्यान्वयन गर्न नसक्दा दुर्गमका पिडा उस्तै छन्।’

जिल्लाका अधिकांश ठाउँमा अहिले सडक बाटो पुगेपनि बर्सामा कतिपय सडक हिलाम्य भएर सवारी साधन सञ्चालन हुँदैनन् । सडक बाटो सञ्चालन नभएको ठाउँ तथा एम्बुलेन्स नपुग्ने ठाउँमा स्वास्थ्यको आधारभूत आवश्कतासँगै स्टेचर तयारी अवस्थामा नहुँदा बिरामीहरुले झनै समस्या झेल्दै आएका छन् । 

सरकारले त्यसतर्फ ध्यानै नदिएका कारण अहिले पनि सुत्केरीलाई बोक्न स्टेचर समेत नपाउँने अवस्था आएको स्थानीयको दुःखेसो छ । गाउँसम्म सडक पुर्याएको देखाउन मात्रै काम भएको अधिकांश गाउँलेको आरोप छ ।

छबिस पाथिभेरा गाउँपालिकाले लाखौँ मुल्य बराबरको एम्बुलेन्स खरिद गरेको छ । पालिकासँग एम्बुलेन्स भएपनि पालिकाभित्र रहेका सबैले त्यसको सहज सेवा पाउने अवस्था छैन। पालिकाका प्रायः गाउँमा सडक पुगेको भएपनि बर्सातको समयमा अधिकांश सडकबाटो बन्द छन् ।

Last modified on 2021-09-13 16:27:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts