स्थापनाको ३२ वर्षपछि पर्वत अस्पतालमा बाल रोग विशेषज्ञ



Download our app to get more features

पर्वत, १ असोज । पर्वत अस्पतालमा स्थापनाको ३२ वर्षपछि पहिलो पटक बालरोग विशेषज्ञबाट सेवा दिन सुरु भएको छ। नेपाल सरकारले उपलब्ध गराएको छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकहरूले अनिवार्य रूपमा सेवा गर्नुपर्ने नियमअनुसार बाल रोग विशेषज्ञ डा. कुशल बराल अस्पतालमा आएका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिए।

‘अबको डा. बरालबाट बालरोगसम्बन्धी उपचार हुने छ। अहिले अस्पतालको व्यवस्थापन राम्रो बनेका कारण पनि विशेषज्ञ चिकित्सकहरू आउने क्रम बढेको छ। बालरोग विशेषज्ञ यहाँ रहनु खुसीको कुरा हो,’ उनले भने, ‘यहाँका धेरै बालबालिकाहरूलाई उपचारका लागि पोखरा लैजाने गरिएको थियो। अब त्यो क्रमको पनि अन्त्य भएको छ।’ 

नेपाल सरकारले दिने पारिश्रमिकबाहेक अस्पताल व्यवस्थापन समितिको तर्फबाट समेत केही रकम थप गरेर विशेषज्ञ चिकित्सकलाई अस्पतालमा बस्ने वातावरण मिलाइएको अध्यक्ष पहाडीले बताए। अस्पतालमा विशेषज्ञ सेवा थप हुनु र व्यवस्थापकीय पक्ष समेत बलियो बन्दा अस्पतालको आन्तरिक आम्दानीमा समेत बढ्ने भएकाले चिकित्सकका लागि रकम थप गर्न सकिएको उनको भनाइ छ। 

पर्वत जिल्लासहित बाग्लुङ जिल्लाको दक्षिणी भेगका नागरिक पनि पर्वत अस्पतालको सेवा क्षेत्रभित्र पर्छन्। ती ठाउँका बिरामी बालबालिकाहरूलाई उपचारका लागि सिधै पोखरा लैजान्थे। कतिपय निजी मेडिकलहरूले हप्ताको एक दिन पोखरा र काठमाडौंबाट विशेषज्ञ बोलाएर सेवा दिने गरेका थिए। अब भने दैनिक रूपमा सरकारी स्वास्थ्य संस्थामा विशेषज्ञबाट बालबालिकाको रोगको निदान हुने भएपछि बाहिर जानुपर्ने अवस्थाबाट मुक्ति मिलेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ढुण्डिराज पौडेल बताउँछन्। 

२०४६ सालमा स्थापना भएको पर्वत अस्पतालमा अहिले तीनजना कन्सल्टेन्ट चिकित्सकबाट सेवा प्रवाह भइरहेको छ। जनरल फिजिसियन डा. डिबी क्षेत्री र हेमन्त बास्तोला रहेका छन् भने बाल रोग विशेषज्ञमा डा. बराल छन्। जटिल अवस्थाका बिरामीबाहेक अधिकांश बिरामीहरूको उपचार अस्पतालमा नै सम्भव भइरहेको डा. क्षेत्रीले बताए। सुत्केरी, हाइड्रोशील, हर्नियाँको समेत शल्यक्रिया सेवा प्रवाह हुँदा पोखरा जाने धेरै बिरामीहरू पर्वत अस्पतालमा नै अडिने गरेको उनको भनाइ छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts