सुदूरपश्चिम पुग्यो पौने ४ लाख मात्रा भेरोसेल खोप, कुन जिल्लामा कसलाई लगाइने ?



Download our app to get more features

धनगढी, ४ असोज । संघीय सरकारले सुदूरपश्चिमका लागि थप पौने चार लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप पठाएको छ । 

चीनबाट खरिद गरी ल्याइएको ४० लाख डोजमध्ये तीन लाख ७० हजार डोज भेरोसेल सुदूरपश्चिम पुगेको हो ।
 
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त प्रमुख पदक विष्टले ३ लाख ७० हजार खोप धनगढी पुगेको बताउँदै जिल्लामा पठाउन सुरु गरिएको जानकारी दिए । 

‘बैतडी, दार्चुला, बझाङ र डडेल्धुरामा आजै खोप पठाउन सुरु गरेका छौँ,’ विष्टले  भने, ‘अन्य जिल्लामा पनि भोलिदेखि पठाउँछौ । १४ गतेभित्रै खोप लगाउनपर्ने छ ।’

स्वास्थ्य मन्त्रालयका अनुसार अछाममा ४० वर्षमाथिका सबै नागरिकलाई खोप दिइने छ । जिल्लामा खोप लगाउन छुटेका विद्यार्थीलाई पनि खोप लगाइने मन्त्रालयले जनाएको छ । बाजुरा र दार्चुला जिल्लामा १८ वर्षमाथिका खोप लगाउन बाँकी रहेका सबै नागरिकलाई खोप दिइनेछ ।

कैलाली, कञ्चनपुर, बैतडी, डडेल्धुरा, बझाङ र डोटी जिल्लामा भने ४५ वर्षमाथिका सबै नागरिकलाई खोप लगाइनेछ । खोप लगाउन जाँदा आफ्नो उमेर र पेसा खुल्ने परिचय पत्र अनिवार्य लिएर जान आग्रह गरिएको छ । 

परिचय पत्र नभएको खण्डमा पालिकाबाट उमेर खुल्ने सिफारिस लिएर जान भनिएको छ । अहिले पहिलो डोज लगाएकालाई कात्तिक ४ गतेदेखि १४ गतेसम्म दोस्रो डोज खोप लगाइने पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिममा अहिलेसम्म झण्डै १० लाखलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । पूर्ण खोप पाउने नागरिकको सख्या भने झण्डै ५ लाख रहेको छ ।

Last modified on 2021-09-21 08:23:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts