चितवनमा कोरोना महामारीबीच स्क्रब टाइफस र डेङ्गुका बिरामी बढे, २ महिनामा १ सय १० जनामा संक्रमण



Download our app to get more features

चितवन, ५ असोज । चितवनमा कोरोना महामारीकाबीच स्क्रब टाइफस र डेङ्गु संक्रमण बढ्न थालेको छ ।

चालू आर्थिक वर्षमा साउन १ गतेदेखि हालसम्म जिल्लामा ८ सय ३९ जनामा परीक्षण गरिएको मध्य ९४ जनामा स्क्रब टाइफस र ८ सय ८९ जनामा परीक्षण गरिएको मध्य १६ जनामा डेङ्गु संक्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । 

स्क्रब टाइफस संक्रमित हुनेमा पुरूषभन्दा महिला बढी छन् । ९४ जना संक्रमित मध्य ५४ जना महिला र ५० जना पुरूष रहेका छन् । त्यस्तै, डेङ्गु संक्रमित हुनेमा भने महिलाभन्दा पुरूष बढी छन् । १६ जना संक्रमित मध्य १४ जना पुरूष र २ जना महिला रहेका छन् । दुबै संक्रमणका कारण जिल्लाभर अहिलेसम्म कसैको पनि मृत्यु नभएको कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षमा ३ सय १८ जनामा स्क्रब टाइफस र २ सय ४७ जनामा डेङ्गु संक्रमण
कार्यालयका अनुसार गत आर्थिक वर्षमा जिल्लामा २ हजार २ सय ९० जनामा परीक्षण गरिएको मध्य ३ सय १८ जनामा स्क्रब टाइफस र १ हजार ९ सय ८६ जनामा परीक्षण गरिएको मध्य २ सय ४७ जनामा डेङ्गु संक्रमण देखिएको थियो । त्यति बेला संक्रमित मध्य एकजनाको स्क्रब टाइफसका कारण मृत्यु समेत भएको थियो । डेङ्गु संक्रमणका कारण भने जिल्लामा गत आर्थिक वर्षमा समेत कसैको पनि मृत्यु भएको थिएन ।

कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षमा साउनदेखि कार्तिकसम्म जिल्लाको भरतपुर महानगरपालिकामा ५४ जनामा स्क्रब टाइफस र २० जनामा डेङ्गु संक्रमण देखिएको थियो । त्यस्तै, रत्ननगर नगरपालिकामा २३ जनामा स्क्रब टाइफस र ८ जनामा डेङ्गु, राप्ती नगरपालिकामा १० जनामा स्क्रब टाइफस र १ जनामा डेङ्गु संक्रमण देखिएको थियो । 

त्यसैगरी, खैरहनी नगरपालिकामा १५ जनामा स्क्रब टाइफस र ४ जनामा डेङ्गु, माडी नगरपालिकामा ८ जनामा स्क्रब टाइफस र १ जनामा डेङ्गु, कालिका नगरपालिकामा ३ जनामा डेङ्गु र जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामनामा एकजनामा स्क्रब टाइफस देखिएको थियो ।

जिल्लामा कालिका नगरपालिकामा स्क्रब टाइफस र इच्छाकामनामा गाउँपालिकामा डेङ्गु संक्रमण साउनदेखि सो समयसम्म कसैलाई पनि देखिएको थिएन ।

कसरी लाग्छ, स्क्रब टाइफस र डेङ्गु ?
स्क्रब टाइफस छुचुन्द्रो, मुसा लगायतमा पाइने ‘माइट’ भनिने किर्नाले टोक्दा मानिसमा सर्छ । यो किर्ना विशेषगरी चौर, झारपात, पुरानो काठ, घास आदिमा पाइन्छ । त्यस्तै डेङ्गु ज्वरो लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । खासगरी स्त्रीजातिका एडिज लामखुट्टेको टोकाइबाट यो रोग मानिसमा सर्ने गर्छ । डेङ्गुभएकालाई टोकेर अन्य स्वस्थ मानिसलाई टोकेमा यो रोग सर्ने गर्दछ । त्यस्ता किर्ना र लामखुट्टेको टोकाइबाट बच्नु नै यी संक्रमणबाट जोगिने उत्तम उपाय हो ।

Last modified on 2021-09-22 07:26:11

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts