रकम भुक्तानी भएको आठ महिना पुरा हुँदासमेत १० लाख मात्रा कोभिसिल्ड खोप आएन



Download our app to get more features

काठमाडौं, ५ असोज । सरकारले सेरम इन्स्टिच्युट अफ इन्डियासँग खरिद गरेको २० लाख मात्रा खोपमध्ये १० लाख मात्रा आठ महिनादेखि आउन सकेको छैन । सरकारले गत माघमा २० लाख मात्रा खोप खरिदका लागि ९३ करोड रुपैयाँ भुक्तानी गरेको थियो ।

सेरमले गत फागुन ९ गते १० लाख डोज खोप मात्र पठाएको थियो । पहिलो चरणको खोप आएको एक साताभित्रै दोस्रो चरणको खोप पठाउने भने पनि सेरमले अहिलेसम्म खोप पठाएको छैन । स्वास्थ्य मन्त्रालयले अक्सफोर्ड एस्ट्राजेनिकाले विकास गरेको भारतको सेरम इन्स्च्यिुटले उत्पादन गरेको कोभिसिल्ड खोप खरिदका लागि गत फागुन ५ गते अग्रिम भुक्तानी गरेको थियो ।

भारतले कार्तिकसम्म अन्य देशलाई कोरोनाभाइरसविरूद्धको खोप दिने बताएको छ । भारतका केन्द्रीय स्वास्थ्यमन्त्री मनसुख मान्दभियाले सोमबार अक्टोवरदेखि विदेशमा खोप पठाउन सुरू गरिने प्रतिक्रिया दिएका छन् ।

सेरम इन्स्टिच्युट अफ इन्डियाले अष्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले  बनाएको कोरोनाविरूद्धको खोप भारतमै उत्पादन गर्दै आएको छ । भारतमा कोरोनाको दोस्रो लहर फैलिन थालेपछि खोप निर्यातमा प्रतिबन्ध लगाइएको थियो।

भारतले संसारका ७० भन्दा बढी मुलुकमा ६ करोड ६० लाख डोज खोप पठाइसकेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५५ लाख बढि नागरीकले पूर्ण खोप लगाइसकेका छन् ।

भारतले यसअघि कोरोनाविरुद्धको खोप निर्यातमा लगाएको रोक हटाएको छ। भारतीय स्वास्थ्यमन्त्री मनसुख माण्डवीयले दिल्लीमा आयोजित एक पत्रकार सम्मेलनमा विदेशमा खोपमा लगाएको रोक हटाएको बताएका हुन्।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार पत्रकार सम्मेलनमा भारतीय स्वास्थ्यमन्त्रीले खोपमा लगाइएको रोक हटाइएसँगै अब छिमेकी मुलुकसहित कोभ्याक्स संयन्त्रालाई खोप निर्यातको प्राथमिकतामा राखिएको समेत बताएका छन्।

विश्वकै ठूलो खोप उत्पादक मुलुक भारतले गत अप्रिलमा विदेशमा खोप निर्यातमा रोक लगाएको थियो।

खोप उत्पादन गर्ने क्षमता बढिरहेको र अर्को महिनासम्म ३०० मिलियन अतिरिक्त डोज उत्पादन हुने भएकाले विदेशमा निर्यात सुरु गर्ने योजना रहेको स्वास्थ्यमन्त्रीले जानकारी दिएका छन्। 'हामी अन्य देशहरूलाई सहयोग गर्नेछौं र कोभ्याक्स प्रति हाम्रो जिम्मेवारी पनि पूरा गर्नेछौं,' उनले पत्रकारहरूलाई भने।

यसरी भारतले खोप निर्यातमा लगाएको रोक हटाएसँगै अब नेपालमा यसअघि खरिद गरेको र आउन बाँकीमध्ये १० लाख डोज कोभिसिल्ड खोप छिट्टै आउने सम्भावना बढेको छ।

नेपालले उक्त मात्राको खोपका लागि उत्पादक कम्पनी सिरम इन्स्टिच्युटलाई अग्रीम भुक्तानीसमेत गरिसकेको छ। नेपालसँगै भारतले बंगलादेश र श्रीलंका लगायतका छिमेकी मुलुकलाई पनि खोप निर्यात गर्ने भएको छ।

Last modified on 2021-09-22 07:26:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts