भरतपुर अस्पतालबाट एक वर्षमा बिरामीले सवा २ करोड भन्दाबढी रकमको निःशुल्क उपचार लिए



Download our app to get more features

चितवन, १४ असोज । चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालबाट बिरामीले एकवर्षमा सवा २ करोड भन्दाबढी रकमको निःशुल्क उपचार लिएका छन् ।

विपन्न नागरिक उपचार कार्यक्रम अन्तर्गत गत आर्थिक वर्ष २०७७/७८ को एकवर्ष भित्र स्पाइनल इन्जुरी र डायलाइसिस सेवा गरी अस्पतालबाट २ करोड २६ लाख ७४ हजार ९ सय रूपैयाँ बराबरको निःशुल्क सेवा प्रदान गरिएको अस्पतालका प्रवक्ता डा. युवानिधि बसौलाले जानकारी दिए ।

उनका अनुसार अस्पतालले गतवर्षको साउन १ गतेदेखि यस वर्षको असार ३१ गतेसम्म स्पाइनल इन्जुरी भएका २६ जना बिरामीलाई ८ लाख २९ हजार ९ सय बराबरको नि:शुल्क उपचार सेवा दिएको छ । अस्पतालले सोही अवधिमा १ सय ५८ जना बिरामीलाई २ करोड १८ लाख ४५ हजार बराबरको नि:शुल्क डायलासिस सेवा प्रदान गरेको छ ।

त्यसैगरी चालु आर्थिक वर्ष २०७८/७९ मा अस्पतालले गरीब तथा विपन्न वर्ग र सामाजिक सेवा इकाईमार्फत साउन र भदौ महिनामा गरी १ हजार ५ सय ६७ जना बिरामीको नि:शुल्क उपचार गरिएको छ ।

जस अन्तर्गत सामाजिक सेवा इकाईबाट १ हजार १ सय ५६ जनाको नि:शुल्क उपचार गरिएको प्रवक्ता डा. बसौलाले जनाए । जसमा ६ सय ४ जना महिला र ५ सय ५२ जना पुरुष छन् । उनीहरूले २७ लाख ७१ हजार ९ सय एक रूपैयाँ बराबरको उपचार सेवा लिएका उनले बताए ।

त्यस्तै, गरीब तथा विपन्न वर्गलाई आकस्मिक सेवा मार्फत ४ सय ११ जनाले निःशुल्क उपचार लिएका छन् । उनीहरूले १२ लाख ४६ हजार १ सय १३ रुपैयाँ बराबरको निःशुल्क सेवा लिएका प्रवक्ता डा. बसौलाले जनाए ।

आर्थिक अभावकै कारण उपचारबाट वञ्चित हुनु पर्दैनः मेसु प्रा.डा. पौडेल
भरतपुर अस्पताल आर्थिक रूपमा विपन्न बिरामीको लागि आशाको केन्द्र रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) प्रा.डा. कृष्णप्रसाद पौडेलले बताए । विकट स्थानका चेपाङदेखि नदि किनारामा बस्ने माझिहरुसम्मको निःशुल्क उपचार यहाँ हुँदै आएको उनले जनाए । गरिब जनताहरुको उपचार हुने विशेष अस्पतालको रुपमा भरतपुर अस्पताल रहेको छ । कोही मानिस उपचारबाट वञ्चित हुनु नपरोस् भनेर विभिन्न राहतका कार्यक्रमहरू समेत यस अस्पतालमा सञ्चालनमा रहेको उनले जानकारी दिए ।

‘अस्पतालमा छिरेपछि यहाँ सम्भव हुने उपचारको हकमा बिरामी आर्थिक अभावकै कारण उपचारबाट वञ्चित हुनु पर्दैन । कतिपय बिरामीलाई कसरी सेवा लिन सकिन्छ भन्ने जानकारी नहुँदा अलमल हुने गरेको पाइएको छ ।’ उनले भने ‘त्यसलाई हामीले सहज बनाउदैं लगेका छौं ।’

अस्पतालमा बेवारिसे बिरामीको समेत निःशुल्क उपचार हुँदै आएको उनले बताए । उनीहरूको हकमा बिरामीको कुरूवा नहुँदा उपचारमा कहिलेकाहीँ समस्या आउने गरेको उनले बताए । त्यस्तो अवस्थामा विभिन्न सामाजिक संस्थाहरूलाई आवश्यक सहकार्य गरिदिन समेत उनले अनुरोध गरेका छन् ।

नेपालको मध्यभागमा अवस्थित यस भरतपुर केन्द्रीय अस्पतालमा चितवनसहित नवलपरासी, गोरखा, धादिङ, मकवानपुर, वारा, तनहुँ, लम्जुङ, रुपन्देही सहितका १९ भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि यहाँ आउने गर्दछन् ।

Last modified on 2021-09-30 13:10:25

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts