ज्येष्ठ नागरिक र दिर्घरोगीलाई कोरोना संक्रमण हुन नदिन के-के कुरामा ध्यान दिने ?



Download our app to get more features

काठमाडौं । कोभिड १९ अर्थात् कोरोना भाइरस संक्रमणको जोखिममा सबैभन्दा धेरै ज्येष्ठ नागरिक देखिएका छन् । नेपालको सन्दर्भमा पनि कोरोना भाइरसको उच्च जोखिममा ज्येष्ठ नागरिक नै रहेका छन् ।  

कोभिड–१९ को संक्रमणसँग लड्ने क्षमता कमजोर भएका मानिसहरूमा कोभिड संक्रमण भएमा यसबाट हुने जटिलता बढी नै देखिएको छ । ६५ वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक र दिर्घरोगीहरु कोभिड संक्रमणको बढी जोखिममा हुन्छन् ।

दीर्घरोगीहरुमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । फोक्सो, मुटुको रोग, दम, उच्च रक्तचाप, नियमित डायलाइसिस गराइरहेका व्यक्ति, क्यान्सरका बिरामीसँग रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । 

उमेर बढ्दै जाँदा क्यान्सरको जोखिम पनि बढ्दै जाँन्छ । यसकारण ज्येष्ठ नागरिकहरू सधैँ कुनै न कुनै दीर्घरोगको जोखिममा हुन्छन् । अङ्ग प्रत्यारोपण गरेका व्यक्तिहरूमा पनि रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । 

विश्वको तथ्याङ्क हेर्ने हो भने कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने ज्येष्ठ नागरिकको संख्या भयावह छ । विश्वमा ८० वर्ष माथिका  १५ प्रतिशत भन्दा बढी व्यक्तिको कोरोना संक्रमणपछि मृत्यु  भएको पाइन्छ । 

दीर्घरोगी र ज्येष्ठ नागरिकलाई छुट्टै आइसोलेसन बनाएर चिकित्सक वा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राख्नुपर्छ । उनीहरुलाई  होम आइसोलेसनमा राख्नु हुँदैन,जुनसुकै वेला जटिलता आउन सक्छ । त्यसैले, कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेका व्यक्तिहरूलाई संस्थागत आइसोलेसनमा स्वास्थ्यकर्मीको विशेष निगरानीमा राख्नुपर्छ ।

ज्येष्ठ नागरिकमा बढी संक्रमण देखियो भने मृत्युदर पनि बढी नै हुनसक्छ । त्यसैले नेपाल सरकारले निर्धारण गरेको जनस्वास्थ्यको मापदण्ड अपनाउन आवश्यक छ । 

हरेक दिन हामीले सुनेका चेतनाका कुरा कति पालना गरेका छौँ भन्ने कुरा महत्वपूर्ण हुन्छ । कोरोना भाइरस संक्रमणमा मुख्य दुई वटा कुरामा ध्यान दिन आवश्यक छ । एक,संक्रमण र दुई, संक्रमणबाट हुने कम्प्लिकेसन (जटिलता)। 

कोरोना संक्रमण हुँदैमा मानिसलाई केही भइहाल्ने होइन तर त्यही संक्रमणबाट निम्तिने कम्प्लिकेसनले असर गर्छ । कोरोना संक्रमण सबैलाई हुनसक्छ तर धेरै जटिलता दीर्घरोगी र ज्येष्ठ नागरिकलाई हुन्छ । त्यसैले, आफ्नो परिवार तथा समाजमा रहेका ज्येष्ठ नागरिक र दीर्घरोगीलाई कोरोना सर्नबाट जोगाउन वयस्क व्यक्तिहरू नै कोरोनाबाट जोगिन आवश्यक छ । 

घरमै रहेका ज्येष्ठ नागरिकभन्दा घरबाहिर निस्केका वयस्क व्यक्तिले घरपरिवारमा कोरोना सार्न सक्ने सम्भावना हुन्छ ।  वयस्क व्यक्तिले मास्क लगाउने, हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, खोक्दा र हाछ्युँ गर्दा मुख छोप्ने, दूरी कायम गर्ने, जरुरी काम नपरी घरबाहिर नजाने जस्ता जनस्वास्थ्यका मापदण्ड पूराका पूरा पालना गर्नुपर्छ । 

कोरोना भाइरस संक्रमणको उच्च जोखिममा  दीर्घरोगी र ज्येष्ठ नागरिकहरू रहेका छन् । त्यसकारणत दीर्घरोगी र ज्येष्ठ नागरिकहरूलाई होम आइसोलेसनमा राख्नु हुँदैन ।  होम आइसोलेसनमा पुर्याउनु पर्ने मापदण्ड पुरा गर्न सक्छौ कि सक्दैनौ भन्ने कुराले धेरै फरक पार्छ ।

ज्येष्ठ नागरिक र दीर्घरोगीलाई कोरोना पोजेटिभ भएपछि कुनै समस्या देखिएमा तत्काल अस्पताल लानुपर्छ । उनीहरुमा सानो संक्रमणले पनि ठूलो जटिलता ल्याउन सक्छ ।

संस्थागत आइसोलेसन पूर्णरूपमा व्यवस्थापन नहुँदासम्म परिवारका वयस्क सदस्यहरूले सावधानी अपनाएर दीर्घ रोगी र ज्येष्ठ नागरिकको विशेष हेरचाह गर्नुपर्छ । 

ज्येष्ठ नागरिक र दीर्घरोगीलाई कोरोना पोजेटिभ भएमा  कुनै लक्षण देखिएको छ कि, सास फर्ने गाह्रो भएको छ झाडापखाला लागेको छ कि, स्वास्थ्यमा अन्य कुनै जटिलताहरू देखिएको छ कि भनेर परिवारका सदस्यले ध्यान दिनुपर्छ । 

यस्तै, संक्रमण नदेखिएका  ज्येष्ठ नागरिक तथा दीर्घरोगीको पौष्टिक आहारमा विषेश हेरचाह गर्नुपर्छ । उनीहरुको  नियमित खानपानमा सागसब्जी र फलफूलको मात्रा बढाउनु पर्छ । 

उनीहरुलाई माछामासु तथा अण्डा राम्रोसँग पकाएर खुवाउनुपर्छ,गेडागुडीहरू खुवाउनुपर्छ,घरमै गर्न सकिने शारीरिक व्यायामहरू दैनिक कम्तीमा आधाघण्टा गराउनुपर्छ । यसबाट रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत पुग्छ । 

कोरोनाका कारण घरमै रहँदा पनि मानसिक तनाव बढिरहेको हुनसक्छ । सधैँ तनावमा हुने मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । त्यसैले, ज्येष्ठ नागरिक तथा दीर्घरोगीलाई सही र सकारात्मक सूचनामात्र दिनुपर्छ । कोरोना भाइरस लागेका सबैको मृत्यु हुँदैन, निको हुन्छन् भनेर मनोबल उच्च बनाउन मद्दत गर्नुपर्छ । 


यस्तै, शरीरमा भिटामिन डि कम भएमा पनि रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले हरेक दिन पातलो कपडा आधा घण्टा लगाएर घाममा बस्नुपर्छ । विशेषगरी हिमाली र पहाडी क्षेत्रका वृद्धवृद्धालाई दिनमा आधाघण्टा घाममा पातला कपडामा बस्न लगाउनुपर्छ ।

(डा.रमेश कंडेल ज्येष्ठ नागरिक रोग विशेषज्ञ हुन।)

Last modified on 2021-10-01 15:47:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts