बैतडीमा ४५ जनामा स्क्रब टाइफसको संक्रमण 



Download our app to get more features

बैतडी, १८ असोज ।  जिल्ला अस्पताल बैतडीमा हाल दैनिकरूपमा  ‘स्क्रब टाइफस’का बिरामी फेला पर्न थालेका छन् । अस्पतालमा आउने बिरामीमध्ये दैनिक एक/दुई जनामा स्क्रबटाइफस देखिन थालेको अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए । 

उनले भने,'पछिल्लो केही दिनदेखि अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये दैनिक एक दुई जनामा स्क्रबटाइफस पोजेटिभ देखिन थालेको छ।' पछिल्लो समय दिनप्रतिदिन यहाँ ‘स्क्रबटाइफस’का बिरामी देखिन थालेपछि यस रोगको जोखिम बढ्दै गएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले बताए ।

'अस्पतालले ज्वरोका प्रत्येक बिरामीमा स्क्रबटाइफसको परीक्षण गरिरहेको छ', उनले भने, 'केही स्क्रबटाइफसका बिरामीलाई अस्पतालमा भर्ना नै गरेर उपचार गर्नुपर्ने अवस्था रहेको छ', उनले भने, 'दैनिकरूपमा नै देखिनुले यसको जोखिम निकै बढी देखिएको छ, यसबाट बच्न जरुरी छ।' जिल्ला अस्पतालमा बढीजसो भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् ।

अस्पतालका सूचना अधिकारी पन्तका अनुसार विगतका वर्षमा फाट्टफुट्ट मात्र देखिए पनि यो वर्ष स्क्रबटाइफसका बिरामीको सङ्ख्या बढेको छ । गत साउनदेखि हालसम्म जिल्लामा ४५ जनामा संक्रमण  देखिसकेको छ । उनले भने, 'वर्षायामको सुरुबाटै बिरामीको सङ्ख्या बढेको छ, साउनदेखि हालसम्म ४५ जनामा  स्क्रबटाइफस पुष्टि भइसकेको छ।'

जिल्लाका सबै स्थानीय तहबाट आएका बिरामीमा स्क्रबटाइफस देखिने गरेको छ। त्यसमध्येबाट पनि सदरमुकामस्थित दशरथचन्द नगरपालिका र दोगडाकेदार गाउँपालिकाबाट उपचारका लागि जिल्ला अस्पतालमा उपचारका लागि आएका बिरामीमा बढी यो रोग देखिएको सूचना अधिकारी पन्तले बताए ।

वर्षातमा पानीका मुहान सफा नहुँदा पानीजन्य रोग देखापर्ने गरेको स्वास्थ्यकर्मीले बताएका छन् ।  
रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts