सेती अस्पतालमा एउटै शल्यक्रिया कक्ष,पालो कुर्छन बिरामी

धनगढी,१ कार्तिक । बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ५ का राजकुमार कुँवरको आन्द्रा फुटेपछि तत्काल शल्यक्रिया गर्नुपर्ने भयो ।
शनिबार विहान ५ वजे सेती प्रादेशिक अस्पतालमा ल्याइएका कुँवरलाई तत्काल शल्यक्रिया गर्नुपर्ने भए पनि उनीभन्दा अगाडि दुई जना बिरामी रहेकोले तुरुन्तै उपचार सम्भव नभएको भन्दै बिरामीलाई अन्यत्र लैजान सुझाव दिइयो ।
बिरामीका आफन्त कर्णबहादुर कुँवरले अस्पतालमा तुरुन्तै उपचार सम्भव नभएको भनेपछि कोहलपुर मेडिकल कलेज जान बाध्य भएको बताए । ‘सेती अस्पतालमा उपचार गर्न पाएको भए १० हजारमै शल्यक्रिया हुने थियो,’ उनले भने, ‘अस्पतालमा दुई अन्य बिरामी रहेको भनेर अन्यत्र जान भनियो । यहाँ दोब्बर बढी खर्च भयो ।’
सेती प्रादेशिक अस्पतालमा एक मात्रै शल्यक्रिया कक्ष रहेको अस्पतालले जनाएको छ । तर बिरामीको संख्या भने एउटै शल्यक्रिया कक्षले धान्न मुस्किल हुने गरेको छ । प्रदेश सरकार मातहत सबैभन्दा ठुलो अस्पताल भए पनि बिरामीले उपचार गराउन पालो नपाउँदा अन्यत्र जानुपर्ने बाध्यता रहेको छ ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठ अस्पतालको सेवा बिस्तारको काम यो आर्थिक वर्षमै बजेट प्राप्त भए पुरा हुने बताउँछन् ।
‘सेतीमा सेवा बिस्तारका लागि बजेट माग गरिएको छ,’ उनले भने, ‘हामीले शल्यक्रिया कक्षमा सेवा बिस्तारका लागि काम गरिरहेका छौँ। सम्भवतः यो आर्थिक वर्षमा बजेट प्राप्त भए शल्यक्रिया कक्षको क्षमता बढाउने छौँ।’
सेती प्रादेशिक अस्पतालको सेवा भरपर्दो र सस्तो भए पनि जनशक्ति, उपकरण तथा संरचना अभाव हुँदा बिरामी उपचारबाट बञ्चित हुँदै आएका छन् ।
एउटा बिरामीको जटिल खाले शल्यक्रिया गर्न ४ घण्टाजति लाग्ने तर शल्यक्रिया कक्षमा आवश्यक उपकरण नभएकोले समस्या हुने गरेको बताइएको छ ।
सेती प्रादेशिक अस्पतालमा शल्यक्रियाका लागि पालो कुर्नुपर्ने बाध्यता कायमै रहेको छ । जनशक्ति र उपकरणको अभाव तथा एउटा मात्रै शल्यक्रिया कक्ष हुँदा बिरामीले पालो कुर्नुपर्ने बाध्यता कायमै रहेको हो ।
अस्पतालले शल्यक्रियाका लागि दिन छुट्याउने गरे पनि बिरामीको संख्या बढी हुँदा पालो नै नपाउने समस्या छ । कैलालीका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न विस १९९७ सालमा सञ्चालन भएको कैलाली जिल्ला अस्पताललाई २०४० सालमा सेती अञ्चल अस्पतालमा स्तरोन्नति गरिएको थियो । सो समयमा अस्पताललाई ५० शय्याको स्वीकृति दिइएको थियो ।
सरकारी स्वीकृति ५० शैयाको भए पनि अस्पतालमा बिरामीको संख्या धेरै भएको भन्दै अस्पताल प्रशासनले तीन सय २१ शय्यामा अस्पताल सञ्चालन गर्दै आएको छ । तर अस्पतालमा उपकरण, जनशक्ति तथा भौतिक संरचनाको चरम अभाव छ ।
सुदूरपश्चिमका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले प्राध्यापक डाक्टर शुभेषराज कायस्थको संयोजकत्वमा अस्पताल सुधार सुझाव समिति गठन गरिएको र त्यो समितिले दिने सुझावका आधारमा सुधारका प्रयास थाल्ने बताए ।
‘डाक्टर कायस्थसहित अस्पतालका पूर्व मेडिकल सुपरिटेण्डेण्टहरुको सल्लाहाकार समितिले दिएको सुझावका आधारमा सेती अस्पतालको सेवा बिस्तारको काम गरिने छ,’ उनले भने, ‘ सेतीमा आवश्यक सबै सुधार गर्न प्रदेश सरकार तयार छ।’



















