विद्युत नहुँदा जिल्ला अस्पताल बझाङको सेवा प्रभावित 



Download our app to get more features

बझाङ, ६ कात्तिक । गत आइतबारबाट ३ दिनसम्म परेको अविरल वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत सेवा प्रभावित बनेको छ। विद्युत आपूर्ति नहुँदा जिल्लाका स्वास्थ्य संस्थाको सेवा प्रवाहमा समस्या भएको छ। 


वर्षाका कारण गएको बाढीपहिरोले बझाङ जोडने राष्ट्रिय प्रसारण लाइन अवरुद्ध भएको छ। विद्युत सेवा अवरुद्ध नहुँदा जिल्ला अस्पतालका अक्सिजन, नेवुलाइजर, शल्यक्रिया, एक्सरे, भिडियो एक्सरे जस्ता उपकरण सञ्चालन हुन नसक्दा स्वास्थ्य सेवा प्रभावित भएको छ।  विद्युत सेवा नभएपछि आकस्मिक सेवा पनि प्रभावित हुँदा बिरामीलाई सास्ती भएको छ।


विद्युुत नहुँदा बिरामीहरुलाई दिनभर कुराउनुपर्ने अवस्था आएको जिल्ला अस्पताल बझाङका प्रमुख डा योगेन्द्र खातीले बताए। एक हप्तादेखि अस्पतालमा भएको वैकल्पिक उर्जा जेनेरेटर चलाएर सेवा दिइरहेको भए पनि जिल्लामा डिजेल सकिँदा थप समस्या निम्तिएको उनले बताए। बाढीपहिरोले सडक समेत अवरुद्ध हुँदा जिल्लामा डिजेल लग्न नसकिने अवस्था छ। 

जिल्ला सदरमुकाम चैनपुर बजारमा बिजुली बलिरहेको रहेको भएपनि अस्पतालमा विजुली नभएको र विद्युत सेवा सुचारु गर्न विद्युत प्राधिकरण वितरण शाखा चैनपुरमा जानकारी गराएको डा। खातीले बताए। 

नेपाल विद्युत प्राधिकरणले २ सय किलोवाटको जेउलीगाड जलविद्युत आयोजनाबाट जिल्ला सदरमुकाम चैनपुरमा बिहीवार साँझबाट विद्युत सेवा सुचारु गरेको छ। तर अस्पताल लाइनमा विद्युतका पोल ढलेको र केही स्थानमा मर्मत गनुपर्ने भएकाले समय लाग्ने विद्युत प्राधिकरण वितरण शाखा चैनपुरका प्रमुख हरेन्द्र राय यादवले बताए।

बैतडीको खोडपेदेखि चैनपुरसम्म ६० भन्दा बढी पोल ढलेका कारण राष्ट्रिय प्रसारणको लाइन मर्मत गर्न समय लाग्ने उनले बताए।

Last modified on 2021-10-24 10:39:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts