आजदेखि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै



Download our app to get more features

काठमाडौं, ७ कात्तिक । सरकारले आजदेखि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत आज र भोलि दुई दिन भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने स्वास्थ्य सेवा विभाग अन्तर्गतको पोषण शाखाले बताएको छ । 

शाखाका प्रमुख डा.केदार पराजुलीले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन जाँदा आवश्यक स्वास्थ्यका मापदण्डलाई पालना गर्न आग्रह गरिएको बताए ।

उनले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका लागि सबै जिल्लामा सामग्री पठाइसकिएको भन्दै आवश्यक सबै तयारी पनि पूरा भएको बताए । साथै बाढी र पहिरो प्रभावित क्षेत्रमा विशेष सावधानी अपनाएर कार्यक्रम सञ्चालन गर्न भनिएको उनको भनाइ छ ।

यसवर्ष भिटामिन ‘ए’ २७ लाख बालबालिकालाई खुवाइने छ भने जुकाको औषधि करिब २४ लाख बालबालिकालाई खुवाइने पराजुलीले जानकारी दिए ।

यसअघि कात्तिक ३ र ४ गते खुवाउने भनिएको कार्यक्रम आज र भोलिका लागि तय भएको छ । 

मन्त्रालयले सूचना जारी गर्दै बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन जाँदा आवश्यक स्वास्थ्यका मापदण्डलाई पालना गर्न पनि आग्रह गरेको छ । 

यस्तै भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका लागि खटिएका स्वास्थ्यकर्मीलाई पनि अनिवार्य जनस्वास्थ्यका मापदण्ड पालना गर्न भनेको छ । 

कम्तिमा दुई मिटरको दूरी कायम गर्ने, मास्क अनिवार्य लगाउने, स्यानिटाइजरको नियमित प्रयोग गर्ने, साबुनपानीले नियमित हात धुने जस्ता जनस्वास्थ्यका मापदण्ड कडाईंका साथ पालना गर्न सरकारले सबैलाई आग्रह गरेको छ । 

सरकारले हरेक वर्ष  ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’  र एक वर्ष देखि ५ वर्षको बालबालिकालाई जुकाको औषधि खुवाउँदै आएको छ ।

Last modified on 2021-10-24 12:09:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts