अमेरिकाले दिएको फाइजर खोप आज नेपाल आउँदै, कात्तिक अन्तिम हप्ताबाट लगाइने



Download our app to get more features

काठमाडौं, ८ कात्तिक । अमेरिकाले नेपाललाई अनुदानमा दिने भनेको कोरोनाविरुद्धको खोप आज काठमाडौं आउँदै छ ।

अमेरिकाले अनुदानमा उपलब्ध गराएको फाइजर एण्ड बायोएनटेकले विकास गरेको फाइजरको १ लाख ६ सयभन्दा बढी मात्रा खोप अहिले बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत आपूर्ति व्यवस्था शाखाका प्रमुख उपेन्द्र ढुंगानाले १२ वर्षदेखि १८ वर्ष मुनिका बालबालिकालाई लगाउने फाइजरको खोप अहिले केहि बेरमा नेपाल आइपुग्ने हाम्रो डक्टर न्यूजलाई बताए । उनले मोडर्नको खोप भने केही समयपछि मात्रै आउने पनि बताए ।

आज आउने खोप भण्डारणका लागि ४ वटा रेफ्रिजरेटर तयारी अवस्थामा राखिएको पनि उनले बताए ।

फाइजर खोप माइनस ७० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्छ । यो खोप भण्डारणका लागि चार वटा फ्रिज युनिसेफमार्फत् यसअघि नै नेपाल ल्याइसकिएको छ ।

कोभ्याक्स सुविधा अन्तर्गत युनिसेफ मार्फत् नेपाल आएको उक्त फ्रिजमा १ लाख २० हजार डोज खोप भण्डारण गर्न मिल्छ ।

के छ तयारी ?
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अमेरिकाले उपलब्ध गराएको खोप १२ वर्षदेखि १८ वर्ष मुनिको बालबालिकालाई लगाउने तयारी गरेको छ ।

मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले अमेरिकाले उपलब्ध गराएको फाइजर खोप १२ देखि १८ वर्ष मुनिका दीर्घरोगीलाई पनि लगाइने बताए ।

उनले खोप भण्डारणको तयारी पूरा भएको भन्दै यसै महिनाको अन्त्यतिर लगाइने बताए ।

सह प्रवक्ता डा.अधिकारीले भने, ‘अब नेपालमा पनि बालबालिकालाई खोप लगाउने बाटो खुलेको र विस्तारै थप खोप आउने भएपछि बालबालिकालाई पनि जोखिमबाट जोगाउन सजिलो हुन्छ । कात्तिकको अन्तिम हप्ताबाट पालैपालो खोप लगाउने तयारी भएको छ ।’

Last modified on 2021-10-25 10:46:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts