काउन्सिलको चिकित्सक उपाधि सूचनामाथि आयुर्वेद चिकित्सक संघको ध्यानाकर्षण



Download our app to get more features

काठमाडौं,११ कात्तिक । नेपाल मेडिकल काउन्सिलले चिकित्सकको उपाधि प्रयोगबारे प्रकाशित सूचनामा आयुर्वेद चिकित्सक संघले ध्यानाकर्षण गराएको छ । संघले आज एक विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएको हो ।

संघका अध्यक्ष डा.प्रकाश ज्ञवालीद्वारा जारी प्रेस विज्ञप्तिमा आयुर्वेद चिकित्सा परिषद ऐन, २०४५ (पहिलो संशोधन २०५५) परिच्छेद-४, दफा ४.२ चिकित्सकको योग्यता उपदफा ४.२.१.१ ‘मान्यता प्राप्त शिक्षण संस्थाबाट आयुर्वेद विज्ञानमा आयुर्वेदाचार्य वा वैद्यरत्न वा आयुर्वेद स्नातक वा सो सरह उत्तीर्ण’ भन्ने व्यवस्था अनुरुप आयुर्वेद स्नातक र सो भन्दा माथिको आयुर्वेदको शैक्षिक योग्यता भएको र  आयुर्वेद चिकित्सा परिषद नेपालमा दर्ता भएका व्यक्तिहरु चिकित्सक भएको र अंग्रेजीमा डाक्टर भनिने व्यहोरा प्रष्ट भएको बताएका छन् । उनले  विरामी, सरकारी, गैर सरकारी संघ संस्था, सामाजिक संघ संस्था तथा सर्वसाधारणहरु भ्रममा नपर्नु हुन् अनुरोध गरेका छन् ।

साथै परिच्छेद-४, दफा ४.२ चिकित्सकको योग्यता उपदफा ४.२.१.२ र ४.२.१.३ मा समेत चिकित्सकको योग्यता सम्वन्धि थप व्यवस्था रहेको पनि उनले सूचित गरेका छन् ।

मेडिकल काउन्सिलले  कात्तिक १० गते (हिजो) सूचना जारी गर्दै नेपाल मेडिकल काउन्सिल ऐन, २०२० को दफा २ को परिभाषा (घ) ‘चिकित्सक’ भन्नाले मान्यता प्राप्त शिक्षण संस्थाबाट आधुनिक चिकित्सा प्रणाली अन्तर्गत चिकित्सा शास्त्रमा स्नातकोपधि प्राप्त गरी सो सम्बन्धी व्यवसायमा लागेको व्यक्ति भएकाले र उसले मात्रा डाक्टर लेख्ने व्यवस्था रहेको उल्लेख गरेको थियो ।

Last modified on 2021-10-28 13:03:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts