चितवनका पत्रकार सामु अध्यक्ष र मेसुले भने– ‘भरतपुर अस्पतालले चौतर्फी विकासको गति लिदैछ’



Download our app to get more features

चितवन, १८ कार्तिक । चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालको चौतर्फी रूपमा विकासका कामहरू भइरहेको अस्पतालका अध्यक्ष र मेडिकल सुपरिटेण्डेण्ट (मेसु) ले बताएका छन् ।

चितवनका पत्रकारहरूसँग बुधबार अस्पतालमा आयोजित दीपावली, नेपाल सम्वत्, छठ लगायतका पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनीहरुले अस्पतालको दीगो विकास, सेवा प्रवाहलाई प्रभावकारी बनाउने लगायतका अस्पतालको चौतर्फी विकास निर्माणको काम भइरहेको बताएका हुन् ।

कार्यक्रममा बोल्दै अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीले भरतपुर अस्पताललाई सामुदायिक मेडिकल कलेजको रूपमा विकास गर्न लागिएको जानकारी दिए । उनले भने, ‘हाम्रो योजना अनुसार काम बन्यो भने नेपालकै पहिलो सामुदायिक मेडिकल कलेजको रूपमा भरतपुर अस्पताल स्थापित हुन्छ । जसले गरिबका छोराछोरीलाई समेत स्वास्थ्य क्षेत्रमा अध्ययन गर्न सहज हुनेछ ।’

उनले अस्पतालमा आवश्यक नयाँ मेडिकल उपकरण, भवन निर्माण लगायतको विकासका काम अघि बढिरहेको समेत जानकारी दिए । अहिले अस्पतालमा एमआरआई मेसिन नहुँदा  बिरामीलाई उपचार गर्न समस्या भइरहेको भन्दै उनले एमआरआई मेसिन छिट्टै ल्याउने बताए । जसको लागि काम अघि बढी सकेको उनले जानकारी दिए । 

उनले भने, ‘अहिले दैनिक औसत २० जना हाराहारी एमआरआई सेवाका लागि यहाँबाट अन्य निजी अस्पतालमा पठाउनु पर्ने बाध्यता छ ।’

मुटुका बिरामीलाई अति आवश्यक मानिने क्याथल्याव सेवा समेत अब अस्पतालमा शुरू गर्न लागिएको अध्यक्ष डा.अधिकारीले जानकारी दिए । त्यसको लागि प्रक्रिया अघि बढी सकेको उनले बताए । अस्पतालले प्रसूति र सरूवा रोगको छुटाछुट्टै ब्लक समेत बनाउन लागिएको उनले जनाए ।

त्यस्तै, अस्पतालका मेसु प्रो.डा. कृष्णप्रसाद पौडेलले अस्पतालको बिरामीलाई छिटो छरितो र गुणस्तरीय सेवा प्रवाहमा आफ्नो ध्यान केन्द्रित भएको बताए । टाढाबाट सेवा लिन आउने बिरामी समेतलाई मध्यनजर गरी बिहान ८ बजेबाट नै जनरल ओपिडी सेवा थालिएको उनले जनाए । यो सेवाबाट बिमा र अन्य बिरामी समेतले सहज रूपमा सेवा पाइरहेको भन्दै उनले यो सेवा प्रभावकारी भएको बताए ।

सेवाग्राहीलाई टिकट लिन घण्टौँ लाईन बस्नुपर्ने बाध्यतालाई हटाउन अनलाइन टिकटको व्यवस्था गरिएको उनले बताए । लामो प्रयास पछि यो ठूलो उपलब्धि हासिल गरिएको उनले बताए । अहिले शुल्क लिने बिरामीबाट शुरू गरिएको भएपनि सेवालाई मंसिर १ गतेबाट बिमा र निःशुल्क सुविधा पाएका अन्य बिरामीले पनि प्रयोग गर्न मिल्ने गरी सेवा विस्तार गर्न लागिएको उनले जानकारी दिए । यसलाई आगामी दिनहरूमा थप प्रभावकारी बनाउने उनले जनाए । शल्यक्रिया गर्नुपर्ने बिरामीले लामो समय कुर्नु नपरोस् भनेर अप्रेसनको समय अवधि समेत विस्तार गरिएको उनले बताए । 

अस्पतालको सरसफाइ, भवन निर्माण, कर्मचारी व्यवस्थापन, अस्पतालको सुन्दरता, बिरामी परीक्षण समयको विस्तार, सेवा सुविधा थप गर्ने, बिमाका बिरामीलाई धेरै भन्दा धेरै औषधि दिने, अन्य बिरामीलाई सहज रूपमा सुपथ मूल्यमा औषधि उपलब्ध गराउने लगायत अस्पतालको चौतर्फी विकास आफ्नो प्राथमिकतामा रहेको मेसु प्रो.डा.पौडेलले बताए ।

कार्यक्रममा पत्रकार महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारी, प्रेस सेन्टरका चितवन अध्यक्ष प्रकाश ज्ञवाली, प्रेस युनियनका अध्यक्ष अनिल ढकाल, प्रेस चौतारीका प्रतिनिधि तिलक रिमाललगायतले शुभकामना मन्तव्य राखेका थिए । उनीहरूले अस्पतालको विकासका निम्ति पत्रकारको सदैव सहयोग रहने बताए । तर, अस्पताललाई प्रतिपक्षको रूपमा रहेर सेवा सुविधालाई थप प्रभावकारी बनाउन पत्रकारले रचनात्मक भूमिका खेल्नुपर्नेमा समेत उनीहरूले जोड दिए । कार्यक्रममा चितवनका क्रियाशील पत्रकार र अस्पतालका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

युनियनको पदहस्तान्तरण एवम् शुभकामना आदानप्रदान कार्यक्रम 

यसैबीच, बुधवारनै भरतपुर अस्पताल विकास समिति कर्मचारी युनियनले नवनिर्वाचित समितिलाई पदहस्तान्तरण एवम् कर्मचारीहरू बीच दीपावली, नेपाल सम्वत्, छठ लगायतका पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम समेत सम्पन्न भएको छ ।

गत बुधवार भएको ८ औं अधिवेशनबाट अध्यक्षमा कृष्ण पौडेल (कृष्ण प्रसाद शर्मा) भारी मतले विजयी भएका थिए ।

पौडेलको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । युनियनको उपाध्यक्षमा डा. दिपेन्द्र न्यौपाने र सचिव शिवप्रसाद बसेल भने निर्विरोध निर्वाचित भएका थिए । युनियनको कोषाध्यक्षमा डा.प्रतिक न्यौपाने र सहसचिवमा राजनबाबु तिवारी विजयी भएका थिए । यसैगरी, सदस्यहरुमा इरिना प्रधान, बुद्धलाल गुरूङ, अनुजा खनाल र रमा रिजाल विजयी भएका थिए ।

यसअघि युनियनको अध्यक्षमा ई. चन्द्रमणि बस्याल रहेका थिए । भरतपुर अस्पताल विकास समिति कर्मचारी युनियन अस्पतालमा कार्यरत कर्मचारीहरूको हकहितको लागि कामगर्दै आएको कर्मचारीहरूको साझा संस्था हो । नवगठित कार्यसमितिको कार्य अवधि २ वर्षको रहनेछ ।

Last modified on 2021-11-05 07:55:27

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts