नवजात शिशुमा जण्डिस देखिए के गर्ने ?
काठमाण्डौं, १२ चैत्र । नवजात शिशुहरुमा जण्डिस देखिने संभावना निकै बढी हुन्छ । कसैलाई सामान्य समस्या देखिन्छ । कसैमा कडा जण्डिस नै देखापर्छ । यस्तो बेलामा सामान्य सावधानी अपनाउन सकिएन भने त्यसले जटिल परिणाम निकाल्न सक्छ । बच्चा जन्मिएलगत्तै निधार, नाक, हात तथा पैतलामा बुढी औलाले ५ सेकेण्ड सम्म थिच्ने र छाडने । यदि पँहेलो पना देखिन्छ भने र तुरुन्तै बिलाउँदैन भने बच्चालाई जण्डिस भएको हुनसक्छ ।
जण्डिस कसरी छुट्याउने ?
नवजात शिशु जन्मिएलगत्तै कलेजोको पूर्ण रुपमा विकास नभएकाले जण्डिसको समस्या हुन्छ । आँखा, हत्केला र पैतालामा पँहेलो देखिए सामान्य प्रकारको जण्डिजको संक्रमण हुन सक्छ । यदि पहेलोपना हात खुट्टामा छैन र बच्चाको उमेर २ देखि १४ दिनको छ भने त्यो सामान्य जण्डिस हुनसक्छ । यस्तो अवस्थामा नवजात शिशुलाई तेल लगाएर घाममा राख्दा केही दिनमै जण्डिस घट्ने चिकित्सकहरु बताउँछन् । सामान्य जण्डिजको संक्रमण भएको नवजात शिशुलाई पर्याप्त स्तनपान गराउनुपर्छ ।
बाल रोग विशेषज्ञ सुनिलराजा मानन्धरका अनुसार सामान्य प्रकारको जण्डिस दुई हप्ताभित्र आफै निको हुन्छ ।
‘सामान्य जण्डिजलाई घरेलु विधिबाट उपचार गरेर पनि निको पार्न सकिन्छ ।’ डा. मानन्धरले भने, ‘बच्चालाई तेल मालिस गरेर घाममा राख्दा जण्डिस निको हुन्छ ।’
जण्डिस कडा रहेछ भने तत्कालै अस्पताल पुरयाउने वा विशेषज्ञ डाक्टरको सल्लाह लिनुपर्छ । आमाले आफ्नो बच्चालाई मायाको अंगालो (नाङ्गो छातीमा टाँसेर न्यानो पार्ने तरिका) मा राख्ने । पटक पटक स्तनपान गराउने । यसो गर्दै गर्दा तपाईँ सम्भव हुन्छ भने नजिककै स्वास्थ्य संस्थामा पुगी चिकित्सक तथा स्वास्थ्यकर्मीसँगको परामर्शमा उपचार गर्नुपर्छ ।
कतिपय अवस्थामा नवजात शिशु र आमाको रक्त समुह नमिल्दा पनि बच्चामा जण्डिसको समस्या हुन्छ । त्यसैगरी बच्चाको रगतमा रगतको कमी भए पनि जण्डिसको समस्या देखा पर्छ ।
उपचार
जटिल प्रकारको जण्डिस देखा परेमा चिकित्सकको परामर्शमा बच्चाको उपचार गर्नुपर्छ । जटिल जण्डिज देखा परेमा अस्पतालमा निलो रङको प्रयोग गरेर बच्चालाई सेकेर फोटो थेरापीको माध्यमबाट उपचार गरीन्छ । फोटो थेरापीबाट पनि जण्डिस कम नभए रगत नै परिवर्तन गरेर उपचार गरीने चिकित्सकहरु बताउँछन् ।
बच्ने उपाय
नवजात शिशु जन्मनु अघि नै आमाले पाठेघरको जाँच गराएर बच्चा र आमा दुवैको रक्त समुहको पहिचान गर्नुपर्छ । त्यसैगरी बच्चालाई पर्याप्त समय घाममा राखेर तेलले मालिस गर्नुपर्छ । यसैगरी बच्चा जन्मने बित्तिकै फोहोर र संक्रमण भएको कपडा प्रयोग गर्नु हुँदैन । त्यसैगरी हात नधोइ बच्चालाई बोक्ने र पैसा चढाउनेजस्ता सामाजिक परम्पराका कारण पनि जण्डिसको संक्रमण हुन्छ ।
-
View Other Stories by Author >>
