ऐन मान्दैनन् सुदूरका नर्सिङ कलेज,२२ वर्षसम्म अटेरी गरेको उदाहरण



Download our app to get more features

कञ्चनपुर,२० मंसिर । कञ्चनपुरको सेती–महाकाली नर्सिङ कलेजले सम्बन्धन पाएको २२ वर्ष भएको छ । विस २०५६ सालदेखि नर्सिङको अध्ययन–अध्यापन गराउँदै आएको उक्त कलेजले अझै अस्पताल सञ्चालन गरेको छैन् । 

विस २०६६ मा सम्बन्धन पाएका धनगढीको फारवेष्ट टेक्निकल कलेज र शैलेश्वरी फारवेष्ट कलेजले पनि आफ्नो अस्पताल अझै सञ्चालनमा ल्याएका छैनन् । धनगढीका यो दुई कलेजले सम्बन्धन पाएको १२ वर्षमा पनि अस्पताल सञ्चालन नगरेका हुन् । कैलालीको टीकापुर नर्सिङ कलेजले पनि अस्पताल सञ्चालन गरेको छैन्।

यती लगायत सुदूरपश्चिमका ७ वटा नर्सिङ कलेजहरुले राष्ट्रिय चिकित्सा ऐन, २०७५ को व्यवस्था अनुसार एक सय शय्याको अस्पताल सञ्चालन गर्न अटेरी गरेका छन् । जसका कारण यो वर्ष डिप्लोमा तहको नर्सिङ विषयमा अध्ययन गर्न सुदूरपश्चिमका विद्यार्थी वञ्चित भएका छन् । 

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार नर्सिङ कलेजहरुले पढाइ र अभ्यासका लागि एक सय शय्याको अस्पताल सञ्चालन गर्नुपर्ने प्रावधान छ । तर सुदूरपश्चिमका विभिन्न ७ नर्सिङ कलेजहरुले अस्पताल सञ्चालन नगर्दा यो वर्ष दुई सय विद्यार्थी नर्सिङ पढ्नबाट वञ्चित भएका हुन् । 

अस्पताल सञ्चालन नहुँदै नर्सिङको अध्ययन–अध्यापन हुने भएकाले कमजोर जनशक्ति उत्पादन हुने र त्यसले मानव स्वास्थ्यमा खेलबाड हुने भन्दै चिन्ता गरिएको छ । 

दक्ष जनशक्ति उत्पादनका लागि नर्सिङ कलेजहरुले पर्याप्त प्रयोगात्मक अभ्यास गर्नुपर्ने भएपनि कलेजहरुले भने सरकारी अस्पतालहरुसँग प्रयोगात्मक सिकाइका लागि सम्झौता गर्दै आएका छन् भने चर्को प्रयोगात्मक शुल्क पनि उठाउने गरेका छन् । अस्पताल सञ्चालन नगरेका कलेजहरुले यो वर्ष भर्नाको अनुमति कानूनी व्यवस्था अनुसारै नपाउने चकित्सा शिक्षा आयोगका सूचना अधिकारी सेमन्तराज कोइरालाले बताए ।

‘चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार कलेजहरुलाई दुई वर्षको समय दिइएको छ। तोकिएको समयमा अस्पताल नचलाउने कलेजहरुले पढाउने अनुमति पाउदैनन्’ उनले भने, ‘थप केही वर्ष उहाँहरुलाई दिन ऐनले सुविधा नै दिएको छैन । कि त ऐन संशोधन हुनुपर्यो।’

सुदूरपश्चिममा अस्पताल सञ्चालन नगर्ने कलेज तीन ओटा भएपनि धनगढीको नवजीवन नर्सिङ कलेज, पद्मा नर्सिङ कलेज र डोटीको सुजङ अस्पताल नर्सिङ कलेजले भने ५० शय्याको अस्पताल सञ्चालनमा ल्याएका छन् । तर पनि ऐन अनुसार एक सय शय्या नै सञ्चालनमा ल्याउनुपर्ने प्रावधान हुँदा नयाँ भर्नाको अनुमति रोकिएको प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद्ले जनाएको छ । 

सरकारी अस्पतालसँग प्रयोगात्मक सिकाइका लागि सम्झौता गर्दै आएका कलेजहरुले आफ्नै अस्पताल सञ्चालनमा अटेरी गर्दै आएका छन् । प्रदेशमा सञ्चालनमा रहेका सात नर्सिङ कलेजहरुले आफ्नै एक सय शय्याको अस्पताल सञ्चालनमा ल्याउन सकेको भए सात सय शय्याका अस्पताल सञ्चालनमा आउँथे । जहाँबाट नागरिकले स्वास्थ्य उपचार सेवा पाउँथे भने विद्यार्थीले अधिकतम प्रयोगात्मक अभ्यासको अवसर पाउने थिए । 

त्यस्तै सिकाइको गुणस्तर पनि राम्रो हुने विज्ञहरु बताउँछन् ।  तर प्रदेशका कलेजहरुले कानूनी रुपमै बाध्यात्मक सर्तको पालना गरेका छैनन् । विगतमा कलेज सञ्चालन गर्नुपर्ने व्यवस्था बाध्यात्मक नियम नभएपनि अहिले कानून अनुसार भने अनिवार्य गरिएको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परीषद सुदूरपश्चिम कार्यालयका उप–निर्देशक एवं प्रवक्ता देवसिंह धामीले बताए । 

अस्पताल सञ्चालन नगरी वर्षौदेखि नर्सिङ शिक्षा अध्ययन गराउँदै आएका कलेजहरुले मानव स्वास्थ्यमा खेलबाड गरेको देखिएको छ । नर्सिङ पेशा प्रयोगात्मक भएकाले आफ्नै अस्पताल नहुँदा विद्यार्थीहरुलाई प्रयोगात्मक अभ्यास गराउन कलेजहरुले अन्य अस्पतालको शरण पर्नुपरेको छ ।

Last modified on 2021-12-06 16:00:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts