पूरा होला त ! स्वास्थ्य मन्त्री खतिवडाको प्रतिवद्धता ? 

What's This?


Download our app to get more features

प्रधानमन्त्री शेर बहादुर देउवाको नेतृत्त्वमा सरकार गठन भएको झन्डै २ महिनापछि मन्त्रीपरिषदले पूर्णता पाउँदै गर्दा मन्त्रीहरूका लागि बाँकी रहेको समय चुनौतीपूर्ण हुने जानकारी थियो । तर, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाको कार्यकाल भने थप अग्निपरीक्षाको रुपमा रहेको छ ।

गत असोज २२ गते शुक्रबार मन्त्रालयको जिम्मेवारी सम्हालेका खतिवडाको कार्यकाल अग्निपरीक्षाको रुपमा हुनुको प्रमुख कारण मध्येको एक हो, आफूले घोषणा गरेका कार्यक्रमलाई पूर्णता दिनु ।

पटक पटक गरी चार पटक सांसद भएका, विभिन्न नीति निर्माण तहमा बसेर काम गरेका खतिवडाले स्वास्थ्य सम्बन्धी थुप्रै नीति तथा कानून निर्माण र संशोधन गर्न जरुरी देखिएको भएतापपनि पुराना विषयलाई किनारा लगाएर आफ्नो क्षमता प्रदर्शन गर्नुपर्ने बाध्यतामा  रहेका खतिवडाले पुरानै काम र नीतिलाई निरन्तरता दिँदै स्वास्थ्य क्षेत्रमा नयाँ आयामहरू ल्याएका छन् । 

विगतका मन्त्रीले झै राजनीतिक प्रोपोगाण्डा गर्न आफू मन्त्रालयमा नआएको बताउने मन्त्री खतिवडाले कोरोनाविरुद्धको खोपबाट कोही पनि नेपाली नछुट्ने बताएका थिए । 

स्वास्थ्य मन्त्री खतिवडाले आफू मन्त्री नियुक्त भएपछि कुनैपनि प्रतिवद्धता पत्र सार्वजनिक नगरेपनि विभिन्न कार्यक्रममा नयाँ–नयाँ कार्यक्रम र प्रतिबद्धता जाहेर नगरेका भने होइनन् । 

मन्त्री जुन कार्यक्रम वा पत्रकार सम्मेलनमा बोल्छन् त्यहाँ उनले एउटा प्रतिवद्धता गर्छन् र तत्काल कार्यतालिका बनाएर कार्यन्वयन गर्ने घोषणासमेत गर्ने गर्छन् । 

मन्त्री खतिवडाले गरेका प्रतिवद्धताहरू मध्येका केही प्रमुख बुँदा :
१.
प्रत्येक नागरिकलाई निःशुल्क स्वास्थ्य बीमामा समेट्ने र अल्पसङ्ख्यक र लक्षित वर्गको तुरुन्तै निः शुल्क स्वास्थ्य बीमा गर्ने
२. सम्पूर्ण नेपालीलाई खोपको कार्यक्रममा समेट्ने
३. स्वास्थ्य मन्त्रालयको बेरुजु घटाउने
४. नेपालको १६ हजार ठाउँबाट कोभिड खोप लगाउने 
आदी...

यस्ता लगायतका कार्यक्रमको भाषणमा केन्द्रित हुँदै हिँडेका मन्त्री खतिवडाको कतिपय योजनाहरू भने सुस्ताएको देखिन्छ । 

खतिवडाको नेतृत्त्वमा केही राम्रो कामहरू पनि नभएका भने होइनन् जनताको अपेक्षा अनुसारको केही महत्त्वपूर्ण कामहरू पनि मन्त्री खतिवडाले गरेका छन् ।

सुदूरपश्चिम प्रदेशमा पनि खोप कार्यक्रमलाई समुदाय स्तरमा नै घर घरमा नै गएर लागाउने लगायतका स्वास्थ्य कार्यक्रमहरू सञ्चालन गर्न लागिएको मन्त्रीका प्रेस सल्लाहकार शान्तिराम बिडारीले बताएका छन् । 

स्वास्थ्यमा राज्यको लगानी बढाउने र सबैलाई निः शुल्क स्वास्थ्य बीमामा समेट्ने उनले बताएका छन् ।

सोही अनुसार सेवाको पहुँचमा सुधार गर्दै लैजाने र अहिले पनि विभिन्न वर्गका लागि लक्षित गरेर निःशुल्क स्वास्थ्य बीमाको कार्यक्रम सञ्चालन गर्दै तिनीहरूलाई क्रमशः एकीकृत गर्दै थप प्रभावकारी बनाउँदै लैजाने उनले प्रतिबद्धता नै जनाएका छन्  । 

गरीब भएकै कारणले उपचार गर्न नपाउने र बिरामी भएकै कारणले गरीब हुनुपर्ने अवस्था आउन नदिने समेत मन्त्री खतिवडाले बताएका छन् । 

सहिद गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाको निर्देशनपछि अन्य सरकारी अस्पताल सरह पिसिआर परीक्षण शुल्क घटाइ  एक हजार रुपैयाँ कायम गरिएको छ ।

अहिले सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने गरी तयारी गरेको छ । यससम्बन्धी तयारी पूरा गरेको सरकारले जनाएको छ । यसका लागि आवश्यक  खोप, खोपकेन्द्र र जनशक्तिको व्यवस्था गरिसकेर दैनिक ३ लाख नागरिकलाई खोप लगाउन थालेको मन्त्रीका प्रेस सल्लाहकार शन्तराम बिडारीले जानकारी दिए ।
 
अहिलेसम्म नेपालमा दुई करोड ७३ लाख ५६ हजार ५ सय ३० मात्रा खोप आइसकेको छ । तीन करोड ५० लाख खोप आउने क्रममा छ ।

अहिलेसम्म एक करोड ८८ लाख ६२ हजार २१६ जनाले खोप लगाइसकेका छन् ।  

तीमध्ये एक करोड दुई लाख ४८ हजार ३६९ पहिलो मात्रा र ८६ लाख १३ हजार ८४७ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् । 

सरकारले पुस मसान्तभित्र कूल लक्षितको दुई तिहाई र चैतमसान्तसम्म लक्षित सबै नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ ।

सरकारले खरिद गरेर र कोभ्याक्स सुविधामार्फत दैनिक खोप ल्याइरहेको छ ।

सरकारले बालबालिका खोप लगाउनका लागि मोडर्ना र फाइजर ल्याउने अन्तिम तयारीमा गरेको छ । फाइजर खोप एक लाख मात्रा आइसकेको छ ।

कोरोना मुक्त नेपाल बनाउँछु भन्ने प्रतिबद्धताका साथ अघि बढीरहेका मन्त्री खतिवडालाई  अनिक्रोम प्रजातिको नयाँ भेरियन्टको कोरोना भाइरस चुनौतीपूर्ण बन्न सक्ने देखिएको छ । 

सरकारले नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण देखिनुअघि नै अफ्रिकासहितका ९ मुलुकबाट आउने यात्रुलाई रोक लगाईसकेको छ । गत शनिबारबाटै नेपाल प्रवेशमा अनुमति नदिने निर्णय सरकारले गरेको हो ।

मन्त्रीपरिषद्  बैठकले  दक्षिण  अफ्रिका,  बोत्सवाना,  जिम्वाब्वे, नामिवीया, लेसोथो, इसवाटिनी, मोजाम्बिक,  मलावी  र  हङकङबाट  नेपाल आउनेलाई प्रवेश अनुमति नदिने निर्णय गरिसकेको छ । 

भारतमा पनि ओमिक्रोन भेरियन्ट फेला परेको पुष्टी भएसँगै सरकारले भारतसँगको सीमाबाट नेपाल प्रवेशमा कडाई गरेको छ । 

अहिले खोप लगायतका काममा मन्त्रालयले राम्रो गर्दै गएको भएतापनि व्यवस्थापकीय क्षमता भने सुधार गर्न सकेको देखिँदैन । 
नेपालमा पनि कोरोनाको ओमिक्रोन भेरिएन्ट दुई जनामा हालसम्म फेलापरिसकेको छ । सरकारले उच्च सतर्कता र विमानस्थलमा कडाई गरेपनि दुई जना विदेशी नागरिकमा कोरोनाको ओमिक्रोन फेला परिसकेको छ । हाल ती व्यक्तिहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् । 

नेपालमा कोरोनाको ओमिक्रोन भेरिएन्ट फेला परेसँगै सरकारले सीमा नाका र विमानस्थलमा थप कडाई गरेको छ । तर, जोखिम भने कायमै रहेको छ ।

पछिल्लो समय स्वास्थ्य मन्त्री कर्मचारी सरुवा लगायतका विषयमा कर्मचारीसँग विवादमा समेत परेका थिए । जसलाई मन्त्रीको नियमित कार्य भएको भन्दै धेरैले वास्ता गरेनन् । 

स्वास्थ्यमन्त्री खतिवडाले ओमिक्रोम भेरिएन्टलाई नेपाल आउन नदिन आवश्यक सबै उपायहरू अपनाइएको बताएका छन् ।

खोप अभियानलाई सरकारले अझ सशक्त, लक्षित समूहमुखी र तीव्र पार्दै लगेको देखिन्छ ।

मन्त्री खतिवडाले कैयौँ लक्षित समूह खोप लगाउन नआएकाले छुट्टै अर्को खोप अभियान चलाउन लागिएको बताएका  छन् ।

यी सब काम र कार्यक्रमका बीच सरकारको समय कम रहेको हुँदा अबको बाँकी समयमा कोरोना महामारी लगायत अन्य योजना कसरी पूरा हुन्छ भन्ने हेर्न बाँकी छ ।

Last modified on 2021-12-12 09:48:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts