बिरामीको विश्वास र चिकित्सकसँगको सम्बन्धले मात्रै फर्मासिस्टको पहिचान सम्भव !



Download our app to get more features

फर्मासिस्ट एक त्यस्तो पेशा हो, जसले औषधिका हरेक पक्षमा काम गर्छ । औषधि बनाउनेदेखि बनाएको औषधि बिरामीसम्म पुर्याउने पनि फर्मसिस्ट नै हुन् ।
 
जनमानसमा औषधि बेच्ने पसले भनेर चिनिए पनि खास गरी फर्मासिस्टको धेरै ठूलो भूमिका हुन्छ । हो, फार्मेसीमा बसेर औषधि बेच्ने त हो नै तर, एउटा जिम्मेवार फर्मासिस्ट त्यति मै मात्र सीमित हुनु भने हुँदैन । 

हुन त हाम्रो समाजमा त्यस्तै नै परम्परा बसिसक्यो की आफूलाई औषधि चाहिए पछि औषधि  किन्न मेडिकल गयो औषधि किन्यो फर्कियो । न फर्मासिस्टलाई औषधिबारे सोध्ने फुर्सद बिरामीलाई छ न फर्मासिस्टले औषधिको बारेमा सबै कुरा सम्झाएर औषधि बेच्ने चलन छ । 

तर, औषधि त्यसरी चकलेट किने जसरी किन्न पाइने र प्रयोग गर्न पाइने चीज भने होइन । औषधि किन्दा आफूले त्यो औषधि के का लागि, कति मात्रामा खाने, औषधि खाने उपयुक्त समय कुन हो, कहिलेसम्म खाने, अरु औषधिसँगै खान मिल्ने की नमिल्ने, औषधि खाईसके पछि कुनै नकारात्मक असर देखा परे कसलाई भन्ने, के गर्ने यी प्रश्नहरूको जवाफ राम्रोसँग बुझेर मात्र प्रयोग गर्नु पर्ने हो । तर, बिडम्बना हाम्रो समुदायमा यो सबै सोध्ने बुझ्ने बुझाउने चलन कहा छ र ?

हाम्रो परिवेशमा बिरामी पनि रोगको बारेमा धेरै प्रश्न गर्नु हुन्छ । तर, औषधि जस्तो संवेदनशील चीज, जुन त्यही रोग निको बनाउन भनेर प्रयोग गर्दै हुनुहुन्छ त्यसको बारेमा न सोधीखोजी गर्नु हुन्छ न फर्मासिस्टले भनेको कुरालाई ध्यान दिनु हुन्छ । कतिपय बिरामी त गूगल डाक्टर र फर्मासिस्ट बनिदिनु हुन्छ । 

मैले अस्पतालमा कतिपय यस्ता बिरामी भेटेको छु की उहाँहरू रोगबारे बढी चिन्तित हुनुहुन्छ तर आफूले खान लागेको औषधि र त्यसले आफूलाई कस्तो असर गर्छ या गर्दैन भन्ने कुरामा खासै चासो दिनु हुन्न । त्यस्ता बिरामीलाई हामी लेखेरै तयार पारिएको औषधि परामर्श बूकलेट दिएर सम्झाउने बुझाउने कोसिस गर्छौं ।
 
म त बिरामी या भनौँ औषधि प्रयोगकर्तालाई यही भन्छु कि तपाईंहरू जति आफ्नो रोगप्रति चिन्तित र चासो देखाउनुहुन्छ सकिन्छ त्यो भन्दा बढी तपाईंको रोगको उपचारमा प्रयोग हुने औषधिका बारेमा पनि फर्मासिस्टसँग या उपचारमा संलग्न चिकित्सकसँग जिज्ञासा राख्नुहोस, सोध्नुहोस्, बुझ्नुहोस् र आफूलाई बेफाइदा भन्दा बढी फाइदा गर्ने छ भने मात्र प्रयोग गर्नुहोस् । 

बिरामी ले फर्मासिस्ट र फर्मासिस्टले बिरामीको विश्वास जित्न सके मात्र यो सम्भव होला ।

यति मात्रै होइन, फर्मासिस्ट एउटा स्वास्थ्य टीमको सदस्य भएकोले चिकित्सक र नर्ससँग पनि उत्तिकै साझेदारीका साथ बिरामीको सेवामा संलग्न भएर मात्र बिरामीसँगको सम्पर्क बढ्छ । जसले गर्दा चिकित्सकले पनि औषधिको विभिन्न पक्षलाई हेरी औषधिको सुरक्षित प्रयोगमा फर्मासिस्टको सहभागिता बढाउन थप मद्दत पुग्छ । अनि बिरामीलाई थाहा हुन्छ, कुनै एउटा फर्मासिस्ट आफ्नो स्वास्थ्य उपचारमा कसरी आबद्ध भइरहेको छ भनेर ।  

यसरी बिरामी ले फर्मासिस्ट र फर्मासिस्टले बिरामीको विश्वास सँगसँगै चिकित्सकसँगको सम्बन्धलाई विश्वाशिलो बनाउन सके फर्मासिस्टको पहिचान माथि उठ्छ । 

(लेखक क्लिनिकल फर्मासिस्ट कुँवर नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा कार्यरत छन् ।)

Last modified on 2021-12-22 16:49:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts