कोरोना महामारीको २ वर्षः विश्वकै स्वास्थ्य प्रणाली प्रभावित



Download our app to get more features

आजबाट सन् २०२२ सुरु भएको छ भने विश्वमा कोरोना महामारी सुरु भएको २ वर्ष पूरा भएको छ । सन् २०१९ को डिसेम्बर ३१ लाई सायदै कसैले बिर्सन सक्छन् होला । कारण, कोरोना भाइरस औपचारिक रुपमा देखा परेको दिन हो यो । चीनको वुहान सहरमा पहिलो पटक कोरोना भाइरस पुष्टि भएको थियो । पछिल्लो २ वर्षदेखि कोरोनाका कारण सबैको जनजीवन अस्तव्यस्त बनेको छ भने हरेक क्षेत्र प्रभावित बनेको छ । 

रुघाखोकी, उच्च ज्वरो, टाउको दुख्ने, जीउहात दुख्ने जस्ता सुरुवाति लक्षणसहित देखिएको कोरोनाले दुई वर्षमा कतिऔं स्वरुप परिवर्तन गरिसकेको छ । वुहानमा देखिएको कोरोना भाइरसलाई सार्स–सीओभी–टु नामाकरण गरियो । हाल देखिएको कोरोना भाइरसभन्दा अघि सन् २००३ र २०१२ मा नै सार्स र मर्स नामक भाइरस फेला परेको थियो । त्यसकै परिवर्तित स्वरुप भनिएपनि यो कोरोना भाइरस निकै नै फरक रहेको मानिएको छ ।

सार्स–सीओभी–टु सन् २०१९ को डिसेम्बरमा देखिएको महिना दिन नबित्दै विश्वभर नै फैलियो । त्यसपछि सन् २०२० को सेप्टेम्बरमा यसले पहिलो म्यूटेशन देखियो । बेलायतमा देखिएको कोरोनाको पहिलो परिवर्तित स्वरुपलाई युके भेरिएन्ट नामाकरण गरियो । वुहानमा देखिएको कोरोना भाइरसभन्दा फरक र कडा खालका लक्षण तथा बढी गम्भीरता गराउने भेरिएन्टको रुपमा युके भेरिएन्टलाई लिइयो ।

युके भेरिएन्टको सङ्क्रमण दर वुहानमा देखिएको भाइरसभन्दा झन्डै ७० प्रतिशत बढी सङ्क्रामक रहेको वैज्ञानिकहरूले बताए । युके भेरिएन्टले पनि बेलायत हुँदै अमेरिका, जापान, भारत, क्यानडा लगायत विश्वलाई नै आफ्नो चपेटामा लियो । नेपालमा पनि त्यसको सङ्क्रमण देखियो । जसका कारण नेपालमा पनि दोस्रो चरणको कोरोना महामारी सुरु भयो र पहिलो चरणको भन्दा बढी मानिसले मृत्युवरण गर्नुपर्यो । 

वर्तमान अवस्थाको कुरा गर्दा अहिले दक्षिण अफ्रिकामा कोरोनाको नयाँ स्वरुप ओमिक्रोनले सबैलाई त्रसित बनाएको छ । ओमिक्रोनका कारण पनि विश्वका विभिन्न मुलुक चपेटामा आइसकेका छन् । जसका कारण विश्वभर फेरि कोरोना सङ्क्रमणको दरमा वृद्धि हुन थालेको छ । ओमिक्रोनका कारण सबैभन्दा बढी बेलायत प्रभावित बनेको छ भने भारत, अमेरिका लगायतका मुलुकमा पनि ओमिक्रोनले चिन्ता बढाउन थालेको छ । 

विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रोनले गर्दा कोरोनाको सुनामी आउन सक्ने भन्दै चेतावनी नै जारी गरेको छ । सन् २०२१ को अन्त्यतिर विश्वभर फेरि कोरोना सङ्क्रमणको दर उच्च हुँदै गर्दा सबैको चिन्ता बढेको छ । 

भाइरसमा म्यूटेशन हुनु सामान्य प्रक्रिया रहेपनि कोरोनामा देखिएको म्यूटेशनले भने सबैलाई चिन्तित मात्रै बनाउँदै आएको छ । जति जति नयाँ स्वरुप फेला पर्दैछ त्यति नै कोरोना भाइरसमा भएको म्यूटेशनले सबैलाई त्रसित बनाउँदै लगेको छ । 

कोरोना महामारी सुरु हुँदै गर्दा जसरी सबै त्रसित र चिन्तित थिए फेरि एकपटक ओमिक्रोनले सबैको ध्यान तानेको छ । कारण, यसले पनि कोरोनाविरुद्धको खोपको दुबै मात्रा लिइसकेको र कोरोना सङ्क्रमण पछि निको भइसकेकालाई दोहोर्याएर सङ्क्रमित बनाउन थालेको छ । जसका कारण बेलायत, रुस, अमेरिका लगायतका मुलुकमा कोरोना महामारीको तेस्रो लहर सुरु भएको वैज्ञानिकहरूले दावी गरेका छन् ।

कोरोना महामारी सुरु भएदेखि नै विश्वका अब्बल स्वास्थ्य प्रणाली मानिएका मुलुकहरूको स्वास्थ्य प्रणालीलाई प्रभावित बनाइदियो । इटली जहाँको स्वास्थ्य प्रणालीलाई विश्वकै नमूना र उत्कृष्ट मानिन्थ्यो त्यहाँ पहिलो लहरले यतिसम्मको खराब अवस्था उत्पन्न गरायो की अरु मुलुकसँग सहयोग लिनुपरयो । बेलायत, अमेरिका, भारत, स्पेन, फ्रान्स, जर्मनी जस्ता ठूला र स्वास्थ्य प्रणाली बलियो थियो ती देशमा पनि कोरोनाले भयावह स्थिति उत्पन्न गरायो । तर, चीनले भने आफूलाई समयमै संयमित बनाउँदै अहिले नमूना र प्रशंसनीय मुलुक बनेको छ । जहाँबाट कोरोना सुरु भयो त्यहाँ कोरोना महामारीलाई नियन्त्रण गर्ने हरेक प्रणालीलाई विश्वकै नमूनाको रुपमा प्रस्तुत गरिएको छ ।

कोरोनाविरुद्धको खोपलाई नयाँ भेरिएन्टले काम गर्छ वा गर्दैन भन्ने प्रश्नले पनि सबैलाई उत्सुक बनाउने गर्छ । कारण, खोप विकास गर्ने बेलामा कोरोनाको एउटा म्यूटेशन वा एउटा रुप थियो भने म्यूटेशन भइसकेको भाइरसमा त्यो खोपले काम गर्ने वा नगर्नेमा बेला बेला बहस हुँदै आएको छ । 

खोप लगाएपनि मृत्युदर कम गराउने भएकाले खोप अनिवार्य लगाउन वैज्ञानिक र चिकित्सकहरूले सुझाव दिँदै आएका छन् । तर, विश्वका कतिपय मुलुकमा हालसम्म खोप अभियान नै सुरु भएको छैन भने कतिपय मुलुकमा खोप अभावका कारण नागरिकहरू खोप लगाउनबाट बञ्चित भएका छन् ।

कोरोनाबाट जोगिन खोप अनिवार्य लगाउनुपर्ने भएपनि धनी मुलुकले खोप सञ्चित गरेका कारण र खोपको मिति सकिने बेलामा खोप अनुदानमा दिने कारणले गर्दापनि खोप अभियान प्रभावकारी हुन नसकेको विश्व स्वास्थ्य सङ्गठनले बताउँदै आएको छ । 

सन् २०२१ को अन्त्य हुँदै गर्दा कोरोनाको ओमिक्रोन भेरिएन्टले सबैलाई त्रसित बनाएर गएको छ । हालसम्म विश्वका ८० भन्दा बढी मुलुकमा फैलिसकेको ओमिक्रोनका कारण सन् २०२२ को सुरुवात खल्लो बनेको छ । तर, यी सबका बाबाजुद हामीले भुल्न नहुने भनेको आफ्नो स्वास्थ्य सावधानी हो । 

नयाँ वर्ष लागेसँगै कोरोनाले थप कस्तो अवस्था ल्याउने हो त्यसको अनुमान अहिलेदेखि नै पनि लगाउन सकिन्छ । किनकी बेलायत, फ्रान्स, अमेरिका, भारतसहित विश्वका विभिन्न मुलुकमा तेस्रो चरणको लहर सुरु भइसकेको छ भने अफ्रिकी मुलुकमा खोप अभियान नै चल्न सकेको छैन । 

नेपालमा पनि सरकारले बारम्बार कोरोना महामारीको जोखिम कायमै रहेकाले सतर्क र सावधान रहन आग्रह गर्दै आएको छ । तर, मानव जातिले सरकारको आग्रहलाई वेवास्ता गर्दै जादा नेपालमा पनि तेस्रो लहरको जोखिम कायमै रहेको देखिन्छ । त्यसकारण सबैले आ आफ्नो स्थानबाट सतर्क र सावधान रहनै पर्छ ।

 

नयाँ वर्षको सबैमा शुभकामना !!

Last modified on 2022-01-02 07:41:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts