कैलाली र डडेल्धुराका बालबालिकाले पाएनन् कोरोनाविरुद्धको खोप



Download our app to get more features

 डडेल्धुरा,२७ पुस । सुदूरपश्चिममा सात जिल्लाका अधिकांश बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोप लगाइएको छ । 

उनीहरुलाई मोडर्ना खोप लगाइएको स्वास्थ्य निर्देशनालय दिपायलले जानकारी दिएको छ । ७ जिल्लाका १२ देखि १७ वर्ष उमेरका बालबालीकाहरुलाई मोडर्ना खोप लगाइएको स्वास्थ्य निर्देशनालय सुदूरपश्चिमका खोप सम्पर्क व्यक्ति मिनराज जोशीले बताए। ‘७ जिल्लामा मोडर्ना खोप लगाउने अभियान सकिएको छ। तर अझै धेरै खोप आवश्यक पर्ने देखिएको छ’ उनले भने।

तर कैलाली र डडेल्धुराका बालबालिकाले भने अझै खोप लगाउन पाएका छैनन् ।  दुवै जिल्लामा १२ देखि १७ वर्ष उमेरसम्मका बालबालिकालाई फाइजर खोप लगाउने बताइएको थियो । तर सिरिन्ज सकिएपछि खोप उक्त अभियान सञ्चालन नहुँदै स्थगित गरिएको थियो । 

डडेल्धुरामा पुष १२ गतेदेखि खोप लगाउने भनिएकोमा स्थगित भएपछि लगाउन नसकिएको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले बताए । उनले भने, ‘फाइजर खोपको हकमा देशभरका २० जिल्लामा खोप अभियान स्थगित गरिएको हो, त्यसमा हाम्रो जिल्ला पनि पर्छ। स्वास्थ्य मन्त्रालयको परिपत्रमा अर्को व्यवस्था नभएसम्मका लागि खोप अभियान स्थगित भएको भनेको छ।’

कैलालीमा १२ वर्षदेखि १७ उमेर समूहका १ लाख ८ हजार ४ सय ८५ बालबालिका छन् । यस्तै सोही उमेर समूहका बालबालिका डडेल्धुरामा १७ हजार ९ सय ९९ छन् । दुवै जिल्लाका गरेर कूल एक लाख २६ हजार ४ सय ८४ जना बालबालिका कोरोना विरुद्धको खोपबाट वञ्चित भएका छन् । कोरोना भाइरसको संक्रमण फेरि बढ्दै गएको अवस्थामा उनीहरुलाई खोप लगाउने तयारी पनि भएको छैन । 

खोप ल्याउन ढिलाई हुँदा बालबालिकालाई खोप लगाउन नसकिएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए । कैलालीमा २ हजार डोज फाइजर खोप उपलब्ध भएकोमा २ हजार जतिलाई खोप लगाइएको तर थप खोप प्राप्त नभएकाले अभियान स्थगित भएको उनले बताए । 

‘फाइजर खोप स्टक सेन्टरमा पनि स्टक छैन,। अमेरिकाबाट आउने भएकाले ढिलाइ भएको हुनसक्छ।’ स्वास्थ्य सेवा विभाग र बाल स्वास्थ्यबाट खोप आएपछि खोप अभियान सुरु गर्ने भनेर निर्देशन भएको र सोही अनुसार एक महिनामै खोप लगाउने उनले बताए ।

Last modified on 2022-01-11 19:58:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts