फार्मेसी नपढेकाहरु बिक्री गर्छन् औषधि



Download our app to get more features

धनगढी,२९ पुस ।  सेती प्रादेशिक अस्पतालको अगाडि रहेको साझा सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित औषधि बिक्री कक्षमा फार्मेसी नपढेका तीनजनाले औषधि बिक्री गरेको पाइएको छ । 

साझाको औषधि बिक्री कक्षमा पूर्ण सिजापती, थानेदार चौधरी र प्रेम चौधरीले औषधि बिक्री गरिरहेका हुन्।

तीनै जना अप्राबिधिक हुन् भने ४ वर्षदेखि औषधि बिक्री गर्न साझा सहकारीले खटाएको पाइएको छ। औषधि ऐन २०३५ को व्यवस्थाविपरीत साझा स्वास्थ्य सेवाको बिक्री कक्षमा ४ वर्षदेखि अप्राविधिक पूर्ण सिजापती फार्मेसी प्रमुखको रुपमा कार्यरत छन् । 

औषधि ऐन २०३५ को दफा १७ को उपदफा ९१०,९२०,९३० र ९४० मा औषधि बिक्री गर्न फर्मासिष्ट, फार्मेसी सहायक वा औषधि व्यवसायीको रोहवरमा अप्राविधिकले बेच्न पाउने प्रावधान छ । तर सेती अस्पतालमा रहेको साझाको औषधि बिक्री कक्षमा भने अप्राविधिक सिजापती नै इञ्चार्ज रहेका हुन् ।

फार्मेसी नपढेको तथा औषधि ऐन २०३५ मा उल्लेख गरिए बमोजिम योग्यता नपुगेका व्यक्तिले औषधि बेच्दा जनस्वास्थ्यमा खेलवाड गरिएको धनगढीका स्थानीय प्रेम अधिकारीले गुनासो गरे ।

‘जिम्मेबार संस्थाले नै अप्राविधक व्यक्ति राखेर औषधि बिक्री गर्ने गरेको पाइयो,' उनले भने, 'साझा स्वास्थ्य सेवाको औषधि बिक्री कक्षले अप्राविधिक व्यक्तिलाई औषधि बेच्न राखेकोले कारबाही गरिनुपर्ने पर्छ।'

जनस्वास्थ्यमाथि साझा स्वास्थ्य सेवाले खेलवाड गरिरहेको राष्ट्रिय फार्मेसी संघ सुदूरपश्चिम प्रदेशका प्रदेश अध्यक्ष महाओमराज जोशीले बताए। ‘हामीले औषधि बेच्ने शिक्षा पढेका छौँ, तर जहाँ हाम्रो आवश्यकता पर्छ त्यहाँ पहुँचका आधारमा अप्राविधिकलाई औषधि बेच्न राखिन्छ,' उनले भने, 'औषधि ऐनको व्यवस्थाविपरीत काम भइरहेको छ।’

साझा स्वास्थ्य सेवा धनगढी शाखाका प्रमुख रुद्रनारायण यादवले सेती प्रादेशिक अस्पताल अगाडि राखिएको साझा स्वास्थ्य सेवाको औषधि बिक्री कक्षमा एकजना फार्मेसी नपढेका व्यक्तिले औषधि बेचिरहेको स्वीकारे । उनले भने, ‘फार्मेसी नपढेको एकजना व्यक्तिले बेलुकीको सिफ्ट चलाइरहेका छन्,'उनले भने, 'यस विषयमा साझा स्वास्थ्य सेवाका महाप्रबन्धकलाई जानकारी गराइसकिएको छ।'

औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्ज प्रमुख नीलु श्रेष्ठले भने औषधि ऐन २०३५ अनुसार औषधि बेच्न अयोग्य व्यक्ति राखिएको पाइएमा फार्मेसीलाई विभागीय कारबाही हुने बताए । 'हामी अनुगमन गछौँ र कानुन मिचेको पाइएमा कारबाही प्रक्रिया अगाडि बढाउँछौं,’ उनले भने।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts