नेपालमा कोरोना संक्रमणको दर बढीरहँदा मृत्युदर किन स्थिर ?

What's This?


Download our app to get more features

काठमाडौं, ३० पुस । नेपालमा पछिल्लो समय कोरोना संक्रमणको दर बढीरहेको छ । विगत १० दिनदेखि नेपालमा कोरोना संक्रमणको दर उकालो लाग्न थालेको छ । कोरोना महामारी साम्य हुन थालेको झन्डै साढे ४ महिनापछि नेपालमा दैनिक संक्रमणदर ३ हजार नाघेको छ ।  

केही दिनदेखि कोरोना संक्रमित थपिनेको सङ्ख्या बढेसँगै सरकारले विभिन्न स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गर्न र गराउन तथा अस्पतालहरूलाई पनि तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ । 

अस्पतालहरूमा पनि कोरोना संक्रमित बिरामी भर्ना हुने सङ्ख्या बढेको छ भने समुदाय स्तरमै फेरि कोरोना संक्रमण फैलियो की भन्ने बहस पनि हुन थालेको छ । यसरी संक्रमणदर बढ्दै गर्दा यो तेस्रो लहर सुरु भएको विज्ञहरूले बताउन थालेका छन् । तर, सरकारले भने अझै औपचारिक रुपमा यसलाई तेस्रो चरणको लहर घोषणा गरिसकेको छैन ।

नेपालमा मात्रै होइन छिमेकी मुलुक भारतसहित विश्वका विभिन्न मुलुकमा कोरोना संक्रमणको दर बढेको छ । अमेरिका, बेलायत, इटली, स्पेन, फ्रान्स, भारत लगायतका मुलुकमा सङ्क्रमणदर २ देखि ५ लाख पुगेको छ । जसले गर्दा विश्वभर संक्रमित थपिने सङ्ख्याले कोरोना महामारी सुरु भएदेखि नया रेकर्ड बन्न थालेको छ । कोरोनाको पहिलो र दोस्रो लहरमा विश्वभर दैनिक संक्रमणदर ८ देखि १० लाख थियो भने मृत्यु हुनेदर १२ हजार पुगेको थियो । तर, कोरोनाको तेस्रो लहरमा संक्रमणदर दैनिक २८ लाख पुगेको छ । तर, मृत्यु हुने सङ्ख्या भने ४ देखि ७ हजारको हाराहारीमा मात्रै छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क हेर्ने हो भने पुस १८ गतेसम्म स्थिर रहेको कोरोना संक्रमणदर त्यसयताका दिनहरूमा बढ्दै गएको छ । 

पुस १८ गते २ सय १६ जनामा देखिएको संक्रमण क्रमश : पुस १९ गते ३ सय २६, पुस २० गते ३ सय ९३, पुस २१ गते ४ सय ३५, पुस २२ गते ५ सय ४०, पुस २३ गते ९ सय ६८, पुस २४ गते ९ सय ४४, पुस २५ गते १ हजार १ सय ६७, पुस २६ गते १ हजार १ सय ४६, पुस २७ गते २ हजार ४ सय ४४, पुस २८ गते ३ हजार ७५ र पुस २९ गते ३ हजार ५ सय ५३ जनामा पुष्टि भएको छ । 

कोरोना संक्रमणदर बढ्दै गएपनि कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या भने स्थिर रहेको छ । 

मन्त्रालयको तथ्याङ्क अनुसार पुस १८ गते २ जनाको मृत्यु भएको छ भने क्रमश : पुस १९ गते २ जना, पुस २० गते ३ जना, पुस २१ गते शून्य, पुस २२ गते १ जना, पुस २३ गते शून्य, पुस २४ गते शून्य, पुस २५ गते २ जना, पुस २६ गते २ जना र पुस २७ गते १ जना, पुस २८ गते २ जना र पुस २९ गते १ जनाको मृत्यु भएको छ । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पतालका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुन कोरोना संक्रमितको लहर, अस्पताल भर्ना हुने र कोरोनाबाट मृत्यु हुनेको लहर फरक तरिकाबाट हेनुपर्ने बताउछन् । 

पुन भन्छन्, 'अनुसन्धानबाट नै यसको प्रभाव कम हुने प्रमाणित भएको छ । हामीले बाहिरी देशहरूमा ओमिक्रोनको प्रभावहरू हेर्दा पनि संक्रमण मात्र बढी र मृत्यु हुने सङ्ख्या कम भएको देखेका छौ । त्यहिअनुरुप नेपालमा पनि मृत्युदर स्थिर भएको हो ।'

यदि ओमिक्रोनको प्रभाव धेरै हुन्थ्यो भने नेपालमा पनि मृत्यु हुनेको सङ्ख्या बढी सक्नुपर्ने उनको भनाइ छ । तर, मृत्युदर कम छ भन्दैमा स्वास्थ्य मापदण्डका कुराहरू भुल्न नहुने उनी बताउछन् ।

डा. पुन थप्छन्, 'हुन त हालसम्मको अवस्थामा नेपालमा संक्रमण बढेपनि  आउने दिनमा यसको प्रभाव कस्तो हुने हो त्यो अहिले नै भन्न सकिदैन । किनकी नेपालमा कोरोनाविरूद्धको खोप लगाउनेहरूको सङ्ख्या अझै लक्ष्य अनुसार पूरा हुन सकेको छैन । तर, थोरै राहतको कुरा के छ भने हामीले भोगेको कोरोनाको दुई चरणको लहरले हामीलाई तेस्रो लहरमा काम गर्न सहज हुन्छ र सरकार पनि खोप अभियानलाई तीव्र गतिमा बढाउदै छ।'

विश्व स्वास्थ्य सङ्गठनले पनि हाल देखिएको कोरोनाको ओमिक्रोन भेरिएन्ट अन्य भेरिएन्टको तुलनामा छिटो फैलिने र यसले पनि खोप लगाएकाहरूलाई संक्रमित बनाउने भएकाले हेलचक्र्याइ नगर्न आग्रह गरिसकेको छ । 

Last modified on 2022-01-15 12:09:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts