ओमिक्रोनको जोखिम बढेसँगै कञ्चनपुरका सीमामा कडाइ



Download our app to get more features

कञ्चनपुर,२ माघ ।  कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको जोखिम बढेसँगै पुर्नवास नगरपालिकासँग जोडिएका खुला सीमा नाकामा कडाइ गरिएको छ। 

छिमेकी मुलुक भारतमा दैनिक हजारौँको सङ्ख्यामा कोरोना भाइरस सङ्क्रमित देखा परेपछि त्यसको असर नेपालमा पर्नसक्ने भन्दै सुरक्षा निकायले सीमा नाकामा कडाइ गरेको हो। 

खुला सीमा नाकाबाट भइरहेको आवतजातलाई व्यवस्थित र सुरक्षित बनाउनका लागि नगरपालिकाअन्तर्गत डोके बजारबाहेक अन्य सबै नाका पूर्ण रुपले बन्द गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ। डोके बजार सीमा नाकामा पनि उच्च सतर्कता अपनाउनुका साथै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई अनुरोध गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज भट्टले बताए।

उनका अनुसार डोकेबजारमा दैनिक रुपमा भारतबाट आउनेको सङ्ख्या धेरै भएका कारण त्यसलाई व्यवस्थित गर्न र स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण पालन गराउनका लागि थप सुरक्षाकर्मी उपलब्ध गराइदिनका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र सुदूरपश्चिम प्रदेश सरकारलाई अनुरोध गरिएको छ।

डोकेबजारमा रहेको हेल्थ डेस्कमा नियमिति रुपमा कोभिड– १९ को जाँच गर्दा देखिएका सङ्क्रमितमध्ये नगरपालिका क्षेत्रका सङ्क्रमितलाई आइसोलेसन र होम आइसोलेसनमा पु¥याउनका लागि नाकामै तयारी अवस्थामा एम्बुलेन्स राखिएको छ। 

सार्वजनिकस्थलमा २५ जना भन्दा बढी भेला हुने गरी जुलुस, धर्ना भेला महोत्सव तथा सामाजिक तथा धार्मिक कार्य नगर्न नगराउनका लागि सूचनासमेत नगरपालिकाले जारी गरेको छ। कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन नेपाल सरकार कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्र र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जारी गरेको सम्पूर्ण निर्देशन पालना गर्ने गराउने तर्फ नगरपालिकाले आवश्यक कारबाही अगाडि बढाएको छ। रासस

Last modified on 2022-01-16 13:29:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts