काेराेनाकाे तेस्रो लहर: अवस्था नियन्त्रणभन्दा बाहिर गएको हाे?

What's This?


Download our app to get more features

नेपालमा कोरोना भाइरसको तेस्रो लहर तीव्र गतिमा फैलिन थालेको छ। काेराेनाकाे नयाँ भेरियन्ट ओमिक्रोन समुदाय स्तरमै फैलिएको अनुमान गर्न सकिन्छ।

जसका कारण सङ्क्रमण दर ५ दिनमै ३५ प्रतिशत पुगेको छ भने सक्रिय सङ्क्रमितकाे सङ्ख्या पनि २५ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार गत पुस १९ मा २ प्रतिशतको हाराहारीमा रहेको संक्रमणदर माघ २ मा आइपुग्दा ३१.८ प्रतिशत पुगेको हो । 

शनिबार देशभर थप ४ हजार ६३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । मन्त्रालयका अनुसार १४ हजार ५५६ जनामा कोरोना परीक्षण गर्दा ४ हजार ६३६ जनामा संक्रमण पुष्टि भएको हो । 

स्वास्थ्य मन्त्रालयले जनाएअनुसार शनिबार भेटिएको संक्रमितको संख्या पछिल्लो लहरमा भेटिएको मध्ये सबैभन्दा उच्च पनि हो । 

गत पौष १७ मा दैनिक तथ्यांकमा २४ घण्टाको अवधिमा ३८२ जनामा कोभिड संक्रमण पुष्टि हुँदा सक्रिय संक्रमितको संख्या ५ हजारभन्दा कम थियो ।

त्यतिबेला ४७ सयभन्दा बढी व्यक्ति होम आइसोलेसनमा थिए र झण्डै अढाई सय जना मात्रै संस्थागत आइसोलेशनमा थिए । 

त्यति संख्यामा सक्रिय संक्रमित हुँदा ८९ जना आईसीयूमा र २७ जना भेन्टिलेटरमा थिए । 

तर, माघ १ सम्म आइपुग्दा देशभर २१ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । जसमध्ये ११९ जना आई।सि।यु।मा छन् भने २६ जना भेन्टिलेटरमा उपचाररत छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा भएका सबै अस्पतालमा भेन्टिलेटरको संख्या कुल १ सय ५७ मात्रै छ । जसमध्ये अधिकांशमा क्रमशः बिरामी थपिँदै छन् । संक्रमितको बढ्दो तथ्यांकलाई आधार मान्दा केही साताभित्रै देशभर अवस्था नियन्त्रणभन्दा बाहिर जाँदै छ । 

गत मंसिर तेस्रो साता नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित भेटिएको थियो । ओमिक्रोनको संक्रमित भेटिएसँगै विज्ञहरुले थप सचेतता अपनाइहाल्न सुझाव दिएका छन् । 

कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि सरकारले प्रतिबन्धात्मक व्यवस्थाको निर्णय गरेको छ । विद्यालयहरु बन्द गरिसकेको छ भने भीडजन्य गतिविधिमा रोक लगाएको छ । कोरोना संक्रमण रोकथामको उच्च सतर्कता नअपनाए कारबाही गर्ने राजधानी उपत्यकाका स्थानीय प्रशासनले निर्णय गरेको छ । 

सत्ता सञ्चालनको जिम्मेवारी पाएका दलहरुले महाधिवेशन र अधिवेशन भन्दै गरेको  वडा तहदेखि केन्द्रसम्म भएका खुलम खुला शक्ति प्रदर्शनले कोरोना संक्रमण बढाउन थप मद्दत गर्यो ।

अहिले संक्रमणदरको ग्राफले निकै चिन्ताजनक अवस्था बन्दै गरेको संकेत गरेको छ । तर, पछिल्लो अवस्थासम्म पनि सरकारले उचित सावधानी अपनाउन सकेको छैन । सरकारले न त नागरिकलाई सचेत बनाउन सकेको छ न त आफ्ना गतिविधिलाई सच्याउन सकेको छ ।

पछिल्लो तथ्यांकलाई हेर्दा काठमाडौं उपत्यका निकै जोखिममा देखिन्छ । तर, सचेतता भने निकै न्यून छ । यसले थप जोखिमलाई संकेत गरेको छ । सरकारले बेलैमा उचित कदम चाल्न नसके महामारी यसअघिकै अवस्थामा पुग्ने कुरामा दुईमत देखिन्न । 

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले यसपटक निषेधाज्ञा नहुने बताएका छन् । तर निषेधाज्ञा नहुने मन्त्रीले बताएर मात्रै पुग्दैन । बरु मन्त्री खतिवडा आफ्नै अग्रसरतामा निषेधाज्ञा नहुने परिस्थिति सिर्जना गरिन आवश्यक छ । 

यदि संक्रमणको दर उच्च भएमा निषेधाज्ञा निर्विकल्प बन्न पुग्छ । किनकि नागरिकको जीवन रक्षासँग अरु घटनाको तुलना हुन सक्दैन । सँगै नागरिकलाई रोगबाट मात्रै नभएर भोकबाट समेत जोगाउनु सरकारको र राजनीतिक नेतृत्वको दायित्व हो ।

विश्वका स्वास्थ्य तथा आर्थिक रुपमा बलियो मानिएका शक्तिशाली मुलुकलाई समेत नियन्त्रण गर्न समस्या परिरहेको छ । 

कोरोना भाइरसको महामारीले नछोएका मुलुक प्रायः कमै रहेका छन् भने यतिबेला प्रायः मुलुकले कोरोनालाई नियन्त्रण भन्दा बाहिर जान दिएका छैनन् । कतिपय मुलुकले भाइरस नियन्त्रण गरिसकेका छन् । तर पनि संक्रमणदर भने बढ्दै गएको छ ।

Last modified on 2022-01-17 12:50:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts