धनगढी कोरोनाको ‘हटस्पट’ बन्ने डर



Download our app to get more features

धनगढी, ३ माघ। धनगढीमा केही दिनअघि सम्पन्न नेकपा एमालेको जिल्ला अधिवेशनमा सहभागी दर्जन बढीलाई कोरोना पुष्टि भएको छ। 

एमाले कैलालीका इञ्चार्ज नारदमुनि रानासहितका नेताकार्यकर्ता संक्रमित भएका छन्। प्रशासनले अहिले यस्ता भिडभाड हुने कार्यक्रम नगर्न आदेश जारी गरेको छ। तर कार्यान्वयन भने भएको छैन। 

कोरोना भाइरसको त्रास बढ्दै गएका बेला धनगढी उपमहानगरपालिकाले भने जनताको हितमा अहिलेसम्म कुनै काम गर्न नसकेको स्थानीय नरेशनाथ योगी बताउँछन्।

 ‘कोरोना भाइरसको पहिलो र दोस्रो लहरमा उपमहानगरपालिकाको लापरबाहीले ठूलै सास्ती खेप्नु परेको अवस्थामा पुनः तेस्रो लहर बढ्दै गएको छ। अहिलेसम्म नियन्त्रणका कुनै कार्यक्रम सार्वजनिक नगर्नु उपमहानगरवासीप्रतिको विभेद हो’ उनले भने। हाम्रो स्वास्थ्यप्रति उपमहानगरपालिकाले बेवास्ता गर्दै आएको उनको गुनासो छ।  

कोरोना भाइरसको पहिलो र दोस्रो चरणमा गरी सेती प्रादेशिक अस्पतालमा मात्र उपचारका क्रममा अहिलेसम्म २११ जनाले ज्यान गुमाइसकेका छन्। जनरल बेड संख्या ४०, आइसियू १६ तथा एचडियू बेड संख्या ५ गरेर सेतीमा कुल ६१ बेड संख्या रहेको छ। त्यसमध्येमा हाल १६ जना संक्रमितको उपचार भइरहेको छ भने, ४ जना आइसियूमा भर्ना छन्। सेतीमा कोभिड संक्रमितको संख्या दैनिक रुपमा बढ्दै गएको अस्पताल प्रशासनले जनाएको छ।

सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्देशन जारी गरिसकेको छ। तर भिड नियन्त्रण गर्न कहिँकतैबाट पहल भएको छैन। प्रहरी र प्रशासनलाई भिड न्यूनिकरण गर्न गृहमन्त्रालयले निर्देशन नै जारी गरेको अवस्थामा समेत नियन्त्रणको प्रयास अझै भएको छैन।  

यहाँ संक्रमणदर भने एक सातायता उच्च रुपमा बढेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए। ‘कोभिडको ग्राफ एक सातामै ह्वात्तै बढेर गएको छ, यसैगरी बढ्दै जाने हो भने रोकथाम गर्न मुस्किल पर्ने देखिन्छ’ उनले भने। 

कोरोना भाइरसको जोखिम सबैभन्दा बढी धनगढीमै देखिएपनि कोभिड व्यवस्थापनका लागि अहिलेसम्म उपमहानगरपालिकाले कुनै काम गर्न सकेको छैन। 

यतिसम्मकी धनगढीमा स्थापना भएको अक्सिजन प्लान्टमा समेत प्राविधिकको अभाव छ। यदि दोस्रो लहर जस्तो अक्सिजनको हाहाकार भएमा प्लान्टबाट चलाउन दक्ष जनशक्तिको आवश्यकता पर्ने स्वास्थ्य अधिकारीहरु बताउँछन्।  

नेपाल–भारत सीमा क्षेत्र गौरीफन्टा नाकाबाट दैनिक स्वदेश फर्कनेको भिड छ। अधिकांशमा संक्रमण देखिन थालेपनि यो विषयमा उपमहानगरपालिकाको ध्यान फिटिक्कै पुग्न सकेको छैन। 

संक्रमणको ग्राफ दिनप्रतिदिन उकालो लाग्दा समेत नियमनको प्रयास हुनै नसकेको उपमहानगरवासीको गुनासो छ। सीमा नाकासँग जोडिनुका साथै सबभन्दा बढी जनसंख्या पनि धनगढीमै भएकाले सीमा क्षेत्रमा कडाई गर्नुपर्ने उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरी बताउँछन्।

‘सीमासँग जोडिएकाले धनगढीमा कोभिडको जोखिम उच्च देखिन्छ। न्यूनिकरणका लागि सीमा क्षेत्रमै कडाई गर्नुको विकल्प छैन’, उनले भने।

कोरोनाको संभावित तेस्रो लहरबाट जोगिन भिड नियन्त्रण अपरिहार्य छ। तर यहाँ जोखिम न्यूनिकरणका लागि सामाजिक दूरी र जारी निर्देशनहरुको समेत पालना नहँुदा धनगढी कोभिडको हटस्पट बन्ने खतरा बढेको सरोकारवाला बताउँछन्।

Last modified on 2022-01-17 12:50:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts