ओमिक्रोनले सङ्क्रमित गराउँदा शरीरमा देखिन्छन् यी लक्षणहरू, थप जानौं



Download our app to get more features

नेपालसहित विश्वका विभिन्न मुलुकमा कोरोनाको तेस्रो चरणको लहर सुरु भइसकेको छ । दक्षिण अफ्रिकामा देखिएको कोरोनाको ओमिक्रोन भेरिएन्टका कारण अहिले अमेरिका, बेलायत, भारत, नेपालसहितका मुलुकमा तेस्रो चरणको लहर सुरु भइसकेको छ । जसका कारण मानिसहरू सङ्क्रमित हुने क्रम तीव्र गतिमा बढ्न थालेको छ । 

विश्वभर दिनकै १८ देखि २२ लाखका दरले सङ्क्रमित थपिँदै गर्दा नेपालमा पनि सङ्क्रमित थपिनेदर झन्डै ७ हजार पुगिसकेको छ । सरकारले गत चैतमा दैनिक सङ्क्रमित ५ सय नाघेपछि नै दोस्रो लहर घोषणा गरिसकेको थियो । तर, हाल ७ हजार दैनिक सङ्क्रमित पुगेपनि सरकारले यसलाई औपचारिक रुपमा तेस्रो चरणको लहर घोषणा गरेको छैन ।

कोरोनाको ओमिक्रोनले गर्दा नै सङ्क्रमण तीव्र गतिमा फैलिरहेको हुँदा यसबाट जोगिन र आवश्यक सावधानी अपनाउन सरकारले बारम्बार आग्रह गरिरहेको छ । यसले एक पटकमा ३ जना र ३ जनाले १२ जनालाई सङ्क्रमित बनाउने हुँदा सङ्क्रमण दरले तीव्रता पाएको सरकारको भनाइ छ । तर, हाल देखिएको कोरोनाको ओमिक्रोनका कारण समुदाय स्तरमै सङ्क्रमण फैलिसकेको अनुमान गरिएपनि यसको ठोस पुष्टिका लागि जित सिक्वेन्सिङ पर्याप्त मात्रामा हुन सकेको छैन । 

हालसम्म कोरोनाको जतिपनि भेरिएन्ट फेला परेका छन् त्यसमध्ये ओमिक्रोनले सङ्क्रमण छिटो गराउने भएकाले पनि ओमिक्रोनकै कारणले सङ्क्रमण दर बढेको बुझ्न सकिन्छ ।

ओमिक्रोनको बारेमा अझै थप अध्ययन हुन बाँकी नै छ । तर, हालसम्मको अवस्थालाई हेर्ने हो भने यसले मृत्यु गराउने जोखिम कम देखिएको छ । जसको प्रमुख कारणमध्येको एक हो कोरोनाविरुद्धको खोप । कोरोनाविरुद्धको खोपका कारण पनि मृत्यु गराउने जोखिम कम हुँदा र यसको जोखिम पनि कम रहेकाले थोरै राहत भने महसुस गर्न सकिन्छ ।

कोरोनाको ओमिक्रोन भेरिएन्टले सङ्क्रमित बनाउँदा कस्ता लक्षणहरू देखिन्छन् र यो शरीरमा कति दिनसम्म रहन्छ ? भन्ने पनि पछिल्लो समय मानिसको मनमा उब्जेको प्रश्न हो । 

यसअघि देखिएका भेरिएन्टले मानिसलाई थला पार्ने, छातीमा सिधै आक्रमण गर्ने, निमोनिया गराउने गरेका थिए । तर, ओमिक्रोनमा त्यति धेरै गम्भीरता ल्याउने अवस्था हालसम्मको अध्ययनमा नदेखिएको विज्ञहरू बताउँछन् ।

सङ्क्रामक रोग विशेषज्ञ डा.जनक कोइरालाका अनुसार पनि ओमिक्रोनका कारण निमोनिया गराउने सम्भावना न्यून देखिएको र यसले मानिसलाई गम्भीर अवस्थामा पुर्याउने सम्भावना पनि कम रहेकाले अन्य भेरिएन्ट जस्ताको चिन्ताको विषय छैन । तर, यसको अर्थ कोरोनाले केही हुँदैन र गराउँदैन भनेर सोच्नु हुँदैन ।

उनी भन्छन्, ‘हालसम्म पनि नेपालमा सबै लक्षित समूहले पूर्ण मात्रा कोरोनाविरुद्धको खोप लगाइसकेका छैनन् । त्यसकारण पनि जोखिम हुने भएकाले सबैले सावधानी र सतर्कता अपनाउनुपर्छ ।’ 

कोरोनाको ओमिक्रोन भेरिएन्टमा देखिने २० लक्षणबारे जानौंः 

  • टाउको दुख्ने
  • नाकबाट पानी बग्ने
  • थकाई महसुस हुने
  • हाच्छ्यूँ आउने
  • घाँटी खसखसाउने
  • निरन्तर खोकी लागि रहने
  • छाती दुख्ने
  • चिसो लाग्ने वा काप्ने 
  • आवाज धोद्रो हुने
  • ज्वरो आउने 
  • रिङ्गाटा लाग्ने 
  • सुगन्ध परिवर्तन हुने
  • आँखा दुख्ने
  • मांसपेशी दुख्ने
  • भोक नलाग्ने 
  • स्वाद नआउने 
  • गन्थि सुन्निने
  • कमजोरी हुने
  • छालामा र्यासेज आउने
  • ब्रेन फग अर्थात् असहज महसुस हुने

कति समय शरीरमा रहन्छ ओमिक्रोको सङ्क्रमण ? 
डा.कोइरालाका अनुसार ओमिक्रोनको लक्षण डेल्टाको तुलनामा तीव्र गतिमा फैलिएपनि शरीरमा भने थोरै समय रहने गरेको छ । ओमिक्रोनको इनक्यूवेशन पिरियड कम हुने गरेको उनको भनाइ छ । 

ओमिक्रोनका कारण सङ्क्रमित भएकाहरूमा २ देखि ५ दिनपछि लक्षण देखिन सक्छ । सामान्यतया रुघाखोकी जस्ता लक्षण ओमिक्रोनको हुन्छ । जुन औसतमा ५ दिनसम्म शरीरमा रहन्छ ।

के ओमिक्रोनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ?
बेलायतको इपिडिमियोलोजी केन्द्रका अनुसार ओमिक्रोनले हालसम्म बिरामीलाई गम्भीर अवस्थाको लक्षण देखा परेको छैन । साथै ओमिक्रोनले निको हुनेहरूमा रोग प्रतिरोधात्मक क्षमतालाई पनि राम्रो बनाइरहेको छ । 

युनिभर्सिटी अफ ईस्ट एन्जेलियाको इन्फेक्सियस डिजिज विज्ञ प्राध्यापक पल हन्टरका अनुसार ओमिक्रोनबाट सङ्क्रमित भइसकेपछि निको भएकाहरूमा राम्रो इम्यूनिटि विकास भएको पाइएको छ । जुन हालसम्म देखिएका भेरिएन्टको तुलनामा राम्रो र सकारात्मक हो । 

इम्पेरियल कलेज अफ लण्डनका अनुसार सामान्य रुघाखोकीले पनि शरीरमा कोरोनासँग लड्नका लागि रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । वैज्ञानिकहरूका अनुसार सामान्य खोकी र हाच्छ्यूँले टी सेल्सलाई बढाउँछ । यसले शरीरमा विभिन्न प्रकारका भाइरसलाई पहिचान गर्ने क्षमता बढाउने काम गर्छ । 

Last modified on 2022-01-18 13:25:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts