स्ट्रोकका कारण तराईका नागरिक बढी प्रभावित,अस्पताल भर्ना हुनेमध्ये १२ देखि १४ प्रतिशतको मृत्यु 



Download our app to get more features

काठमाडौं, ४ माघ । रगत आपूर्ति समस्याका कारण देखिने स्ट्रोकका बिरामीहरुको संख्या पछिल्लो समय तीव्र गतिमा बढ्दै गएको छ । नेशनल न्यूरो सेन्टरका अनुसार नेपालमा अस्पताल भर्ना हुनेमध्ये अधिकांशमा स्ट्रोकको समस्या देखिने गरेको छ ।

मस्तिष्क नष्ट गर्ने वा मस्तिष्कमा अक्सिजनको अपर्याप्तका कारण हुने स्ट्रोकले विशेषगरी तराईका नागरिक बढी प्रभावित हुने गरेका छन् ।

सेन्टरका अनुसार विशेषगरी ४० देखि ६० वर्ष उमेर समूहमा देखिने स्ट्रोकका कारण तराईका नागरिक बढी प्रभावित हुने गरेका छन् ।

नेपालको विभिन्न अस्पतालहरुको तथ्यांकका आधारमा तराई क्षेत्रमा ६ सयदेखि ८ सय बिरामी स्ट्रोकका कारण अस्पताल भर्ना हुने गरेका छन् । जसमा १० देखि १२ प्रतिशतको मृत्यु हुने कारण स्ट्रोक रहेको पाइएको छ ।
 
तराईंमा नै स्ट्रोकका कारण बिरामी बढ्नुको कारण उनीहरुको खानपान र सहज उपचारको अभाव रहेको सेन्टरका डा.लेखजंग थापाको भनाइ छ ।

उनले यस विषयमा गहन रुपले अध्ययन र अनुसन्धान हुन बाँकी रहेको भएपनि हालसम्म अस्पतालमा भर्ना हुने बिरामीले सुनाएका अनुभवको आधारमा यो तथ्य फेला परेको पनि बताए ।

उनले तराई क्षेत्रमा चर्को नून, मसालेदार खाना खाने बानी र स्ट्रोकको उपचार सहज नभएका कारण पनि समस्या बढेको बताए । 

स्ट्रोक महिलाभन्दा पुरुषमा बढी देखिने गरेको भन्दै डा.थापाले नसा सुक्ने स्ट्रोकको समस्या लिएर अस्पताल भर्ना हुने बिरामीको संख्या बढी देखिएको पनि बताए ।

चिसोमा स्ट्रोकको समस्या बढ्ने भएकाले सावधान र सतर्क रहन पनि उनले आग्रह गरे ।

चिसो मौसममा रगत बाक्लिने प्रक्रिया बढी हुने भएकाले यो मौसममा स्ट्रोकको समस्या बढी देखिने गरेको उनको भनाइ छ ।

Last modified on 2022-01-18 16:19:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts