मापदण्ड नमाने लाइसेन्स नदिने नेपाल पशुचिकित्सा परिषद्को चेतावनी



Download our app to get more features

काठमाडौं, ४ माघ । नेपाल पशु चिकित्सा परिषद्ले मापदण्ड पूरा नगरी विद्यार्थी भर्ना लिने कलेजका विद्यार्थीलाई डाक्टरीको लाइसेन्स परीक्षामा सहभागी हुन नदिने चेतावनी दिएको छ। परिषद्ले सोमबार सार्वजनिक सूचना जारी गरेर परिषद्को मापदण्ड पूरा नगरे उत्तीर्ण विद्यार्थीलाई लाइसेन्स पनि नदिने बताएको छ।
न्यूनतम मापदण्ड र सर्तनामा पूरा नगरी नेपालमा पशु चिकित्सा तथा पशु पालन विषयमा स्नातक ९बिभिएससी र एएच० कार्यक्रम सञ्चालन गर्ने केही विश्वविद्यालय तथा शिक्षण संस्थाहरूले विद्यार्थी भर्नाका लागि प्रक्रिया सुरु गरेकोतर्फ परिषद्को ध्यान केन्द्रित भएको सूचनामा उल्लेख छ।

परिषद् अध्यक्ष डा।स्वयंप्रकाश श्रेष्ठले पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत कीर्तिपुरमा रहेको हिकास्ट र चितवनमा रहेको नेपाल पोलिटेक्निक इन्स्टिच्युट कलेजले पशु चिकित्सा शास्त्रमा चौथो र पाँचौं वर्षको मापदण्ड पूरा नगरी विद्यार्थीको प्रवेश परीक्षा र भर्ना प्रक्रिया अघि बढाएको सूचनाले आफूहरूको ध्यानकेन्द्रित भएको जनाए। उनले यी कलेजहरूको अनुगमनमा परिषद्का पदाधिकारी पुग्दा चौथो र पाँचौं वर्षमा विद्यार्थी पढाउन मापदण्ड पूरा नभएको देखिएकाले परिषदले स्वीकृति नदिएको बताए।  

‘दुवै कलेजले नयाँ शैक्षिक सत्रका लागि चौथो वर्षमा विद्यार्थी भर्ना गर्न माघ २९ गते प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेपछि हाम्रो ध्यान केन्द्रित भयो,’ अध्यक्ष श्रेष्ठले भने, ‘दुवै कलेजले फ्याकल्टी, ल्याब, शिक्षण अस्पताल, फार्म, शिक्षकलगायत पूर्वाधार पूरा गरेका छैनन्। व्यावहारिक ज्ञानबिनै कसरी विद्यार्थी डाक्टरी पास हुन्छन्। 

पहिले मापदण्ड पूरा गर्नुपर्‍यो अनि मात्र विद्यार्थी भर्ना लिने हो।’ उनले चेतावनी दिँदै मापदण्ड पूरा नगरी विद्यार्थी भर्ना लिए त्यसको जिम्मेवार कलेज र विद्यार्थी तथा अभिभावक स्वयं हुनुपर्ने बताए। ‘मापदण्ड पूरा नगरेको अवस्थामा परिषद्ले ती कलेजबाट पास हुने विद्यार्थीलाई काम गर्न डाक्टरीको लाइसेन्स परीक्षामा सहभागी गराउँदैन र विद्यार्थीले प्राप्त गरेको उपाधिले पनि मान्यता पाउँदैन।’ त्यही भएर परिषद्ले समयमै सचेत गराउन सूचना सार्वजनिक गरेको अध्यक्ष श्रेष्ठको ठहर छ।  

यति मात्र होइन, कृषि तथा वन विश्वविद्यालय रामपुर र त्रिभुवन विश्वविद्यालयअन्तर्गतका इन्स्टिच्युट अफ एग्रिकल्चर एन्ड एनिमल साइन्स कलेज चितवनले समेत मापदण्ड पूरा नगरी तेस्रो वर्षका लागि नयाँ विद्यार्थी भर्ना लिने परीक्षाको तालिका सार्वजनिक गर्ने तयारीमा रहेको समेत सूचना प्राप्त भएको उनले जानकारी दिए। नेपालमा हालसम्म यी चार कलेजले पशु चिकित्सा शिक्षाको पठनपाठन गराउँदै आएको उनको भनाइ छ। 

‘मापदण्ड पूरा नगर्ने कलेज बन्द गरे हुन्छ। परिषद्को सूचनालाई बेवास्ता गरे त्यहाँबाट पास हुने विद्यार्थीले पाउने उपाधिलाई नेपाल चिकित्सा परिषद ऐन, २०५५ को दफा ९ र ऐननियमावली २०५७ को नियम १० बमोजिम मान्यता दिइनेछैन,’ अध्यक्ष श्रेष्ठले भने, ‘यसबाट हुने क्षतिका लागि सम्बन्धित विश्वविद्यालय र शैक्षिक संस्था जवाफदेही हुनुपर्नेसमेत सूचना परिषद्ले सार्वजनिक गरेको छ।’

उनका अनुसार हालसम्म नेपाल पशु चिकित्सा परिषद्मा दर्ता भएका देशभरि कुल १ हजार ५ सय २६ पशु चिकित्सक कार्यरत छन्। परिषद्ले वर्षमा तीनपटक लाइसेन्स परीक्षा सञ्चालन गर्छ। पशु चिकित्सा शिक्षाको पाँच वर्षे कोर्स पूरा भएपछि इन्टर्नसिप र काम गर्न परिषद्बाट डाक्टरी परीक्षा पास गरे मात्र लाइसेन्स प्राप्त हुन्छ। ‘विश्वविद्यालय तथा शैक्षिक संस्थाहरूले एकैपटक पाँच वर्षको अनुमति पाउँदैनन्,’ उनले भने, ‘बर्सेनि तह बढेसँगै मात्र मापदण्ड पूरा गर्दै अनि अध्यापन अनुमति परिषद्बाट लिनुपर्ने कानुनी व्यवस्था छ। पाँच वर्षभित्र सम्पूर्ण मापदण्ड पूरा गरिसक्नुपर्छ।’ तर, कलेजहरूले मापदण्ड पूरा नगरीकनै विद्यार्थी भर्ना लिने गरेको पाइएको छ। यसपटक परिषद् कडा रूपमा प्रस्तुत भएको अध्यक्ष श्रेष्ठको दाबी छ।

Last modified on 2022-01-18 16:09:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts