चिकित्सा शिक्षा आयोगको कार्य सम्पादनमा भएको हस्तक्षेपप्रति डा.केसीको ध्यानाकर्षण



Download our app to get more features

काठमाडौं,५ माघ । डा.गोविन्द केसीले चिकित्सा शिक्षा आयोगको कार्य सम्पादनमा भएको हस्तक्षेपप्रति ध्यानाकर्षण गराएका छन् । 

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै केसीले चिकित्सा शिक्षा आयोगको कार्य सम्पादनमा विभिन्न पक्षहरुबाट भइरहहेको हस्तक्षेपप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् । 

उनले शिक्षा मन्त्रालयले नेपाल सरकारको निर्णय भन्दै चीन लगायत विभिन्न मुलुकमा चिकित्सा शिक्षाको स्नातक अध्ययन गरेका विद्यार्थीहरुको बाँकी अध्ययन, प्रयोगात्मक अभ्यास र इन्टर्नसीप नेपालमै गर्ने व्यवस्था गर्न दिएको निर्देशन चिकित्सा शिक्षा ऐन विपरीत रहेको बताएका छन् । 

त्यस्तै यसै विषयमा नाजायज मागसहित चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरुलाई दबाब दिने, धम्क्याउने र आक्रमणको प्रयास गर्ने तथा आयोगको कार्य सम्पादनमा अवरोध गर्ने कामहरु भइरहेकोले आयोगको कार्य सम्पादनमा कुनै किसिमको हस्तक्षेप नगर्न हामी नेपाल सरकारलगायत सम्बन्धित सबै पक्षहरुलाई चेतावनी दिएका छन । 

यस्तो छ प्रेस विज्ञप्ति

चिकित्सा शिक्षा आयोगको कार्य सम्पादनमा विभिन्न पक्षहरुबाट भइरहहेको हस्तक्षेपप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

यसबीच शिक्षा मन्त्रालयले नेपाल सरकारको निर्णय भन्दै चीन लगायत विभिन्न मुलुकमा चिकित्सा शिक्षाको स्नातक अध्ययन गरेका विद्यार्थीहरुको बाँकी अध्ययन, प्रयोगात्मक अभ्यास र इन्टर्नसीप नेपालमै गर्ने व्यवस्था गर्नका लागि चिकित्सा शिक्षा आयोगलाई लेखी पठाएको कुरा हाम्रो जानकारीमा आएको छ ।

त्यस्तो व्यवस्था कानुनी रुपमा अवैध तथा व्यवहारिक रुपमा असम्भव भएको कुरा हामी नेपाल सरकार लगायत सम्बन्धित सबैलाई स्मरण गराउन चाहन्छौं । चिकित्सा शिक्षा ऐन जारी भइ एकीकृत प्रवेश परीक्षा लागू भइसकेको अवस्थामा त्यो प्रक्रियाबाहिरबाट आउने कुनै पनि विद्यार्थीले नेपालभित्र कुनै पनि चरणको पठनपाठनमा संलग्न हुने कानुनी बाटो रहँदैन । त्यस्ता विद्यार्थीको हकमा चिकित्सा शिक्षा आयोगले गर्न सक्ने र मिल्ने भनेकै आगामी साझा प्रवेश परीक्षामा उनीहरुलाई संलग्न हुन लगाएर योग्यताक्रमअनुसार फेरि पढाइ शुरु गर्न लगाउने हो । नेपालबाहिरका शिक्षण संस्थाहरुमा पढाइ शुरु गर्ने विद्यार्थीहरुसामु इन्टर्नशीपसहित पूरा पढाइ तिनै संस्थामा सकेर फर्कनुको विकल्प छैन ।

यसबीच यसै विषयमा नाजायज मागसहित चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरुलाई दबाब दिने, धम्क्याउने र आक्रमणको प्रयास गर्ने तथा आयोगको कार्य सम्पादनमा अवरोध गर्ने कामहरु भइरहेका छन् । त्यस्तो काममा विद्यार्थीहरुलाई नाम मात्रका कलेजहरुमा विदेश तस्करी गरेर अकुत कमाइ गर्ने तत्वहरु समेत संलग्न भएको बुझिन्छ । त्यस्तो तस्करीमा संलग्न हुनेहरु चिकित्सा शिक्षाका नियामक निकायका जिम्मेवार पदमा नियुक्त भएकाले पनि राज्यको नीति निर्माण तहसम्मै उनीहरुको पहुँच पुगेको छ । पहुँच र दबाब हुने हो भने जस्तो सुकै अवैध काम पनि गनै सकिन्छ भन्ने विश्वासका कारण अहिले उनीहरुले चिकित्सा शिक्षा आयोगलाई निशाना बनाइरहेका छन् ।

त्यसैले चिकित्सा शिक्षा आयोगको कार्य सम्पादनमा कुनै किसिमको हस्तक्षेप नगर्न हामी नेपाल सरकारलगायत सम्बन्धित सबै पक्षहरुलाई चेतावनी दिन चाहन्छौं । साथै चीन लगायतका देशहरुमा आवश्यक शिक्षण र सिकाइविनै डिग्री बेच्ने कलेजहरुमा विद्यार्थी पढ्न पठाउन तत्काल रोक लगाउँदै विद्यार्थी तस्करीको व्यवसाय गर्नेहरुलाई कुनै पनि नियामक निकायहरुमा निय्क्त नगर्न पनि सरकारको ध्यानाकर्षण गराउँछौं ।

अन्तमा, हामीसँग यस अगाडि भएका सम्झौताहरु कार्यान्वयन गर्न तथा हामीले पछिल्लोपल्ट राखेका मागहरु पूरा गर्ने प्रधानमन्त्री देउवाको प्रतिबद्धता कार्यान्वयन गर्न पनि माग गर्दर्छौं ।

डा.गोविन्द केसी

Last modified on 2022-01-19 16:53:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts