झापामा दीर्घरोगका बिरामीलाई घरमै पुगेर निःशुल्क स्वास्थ्य बीमा



Download our app to get more features

झापा,२ फागुन ।  झापाको झापा गाउँपालिकाले मधुमेह र उच्च रक्तचापका सबै विपन्न दीर्घरोगका बिरामीलाई घरमै पुगेर निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ। 

गत वर्ष नै गाउँका दीर्घरोगीलाई निःशुल्क औषधि वितरण गर्ने सोचाइ बनाइएकामा त्योभन्दा स्वास्थ्य बीमा नै प्रभावकारी हुने निष्कर्ष निस्किएकाले यस वर्षदेखि दीर्घरोगी विपन्न परिवारलाई बीमा गरिदिएको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताए। 

स्वास्थ्य स्यम्सेविका परिचालन गरेर पालिकाका ३१८ दीर्घरोगीको पहिचान गरिएको छ। उनीहरुको परिवारका पाँचजनासम्मको स्वास्थ्य बीमा गरेर बीमा कार्डसमेत वितरण गरिएको अध्यक्ष साहले बताए। स्थानीय ७५ वर्षीय सागिर मियाँले आर्थिक अभावले विगतमा स्वास्थ्य बीमा गर्न नसकेकामा पालिकाले गरिदिएको बीमाले अब वर्षभर औषधि ल्याएर खान सहज हुने आशा व्यक्त गरे।

पाँचजना परिवारको अभिभावक उनी उच्च रक्तचाप, मधुमेह र छालाको रोगले पीडित छन्। अर्काको घरमा दैनिक मजदूरी गर्दै आएका मियाँले यसअघि महिनामा पाँच सय बराबरको औषधि किनेर नियमित खानु परिरहेको बताए। सात वर्षदेखि मुटु र उच्च रक्तचापको बिरामी झापा गाउँपालिका–४ की ६६ वर्षीया सुन्दरवती गणेशले मासिक दुई हजार जति औषधि उपचारमा खर्च गर्दै आएकोमा अब निःशुल्क हुने भएपछि खुसी व्यक्त गरिन्। 

पालिकाले पठाएका स्वास्थ्य स्वयंसेविकाले बिरामीको आर्थिक अवस्था, उपचार गराइरहेको अस्पतालको प्रतिवेदन र रोगको प्रकृति हेरेर स्वास्थ्य बीमा गराउने परिवारको छनोट गरेका पालिकाको स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले बताए। 

चालू आर्थिक वर्षमा पालिकाले बजेटमै उच्च रक्तचाप र मधुमेहका दीर्घरोगीलाई निःशुल्क औषधि खरिदका लागि १० लाख बजेट विनियोजन गरेको थियो। सोही बजेटबाट स्वास्थ्य बीमा गरिएको हो।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाले पालिकाका सातै वडाबाट सूचना जारी गरेर स्वास्थ्यसेविकामार्फत बिरामीको विवरण संकलन गरिएको र सोही विवरणका आधारमा उनीहरुको बीमा गरेर बीमा कार्ड वितरण गरिएको जानकारी दिए।

रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts