नवलपरासीका समिर जो दिदिबहीनीलाई उपहारमा सेनेटरी प्याड दिन्छन्

What's This?


Download our app to get more features

किशोरावस्थाबाट सुरु हुने महिनावारी महिलामा हुने नियमित र प्राकृतिक प्रक्रिया हो । महिनावारीको बेला विशेषगरी किशोरी र महिलाहरूलाई विभिन्न समस्या हुने गर्दछ भने उचित शौचालय र सेनेटरी प्याडको व्यवस्था नहुँदा पनि समस्या हुने गर्छ । यीनै समस्यालाई ध्यानमा राखेर नवलपरासीका समिर परियारले एउटा अभियान चलाइरहेका छन् ।

नवलपरासी बर्दघाट सुस्ता पश्चिम सुनवल नगरपालिका ५ का समीर, २१ वर्षका छन् । तर, दिदिबहिनीले महिनै पिच्छे भोग्नुपर्ने महिनावारी सम्बन्धी विभिन्न समस्याबारे उनले महसुस गरेपछि दिदिबहिनीलाई सेनेटरी प्याड उपहारको रुपमा दिन थालेका छन् ।

कोरोना महामारी सुरु भएपछि विभिन्न स्वास्थ्य संस्थामा नर्स र डक्टरहरूलाई घन्टौ पीपीई लगाएर काम गर्नुपर्ने अवस्था आयो । जसका कारण उनीहरूले महिनावारीको समयमा प्याडपनि फेर्न पाउने अवस्था थिएन । कारण, एकपटक प्रयोग भएको पीपीई सेट अर्को पटक प्रयोग गर्न मिल्दैन ।

अस्पतालमा काम गर्ने महिला डक्टर साथै नर्सहरूलाई पीपीई लगाउँदा भोग्नु परेको दुःखलाई देखेर समिरले अभियान नै सुरु गरे । परियारले ‘गिफ्ट फर गल्स’ अभियान २०७७ सालदेखि सञ्चालन गरेका हुन । सुरक्षित महिनावारीको विषयलाई अझै समाजमा बुझाउनका लागि उनले यो अभियान सञ्चालन गरेको सुनाउँछन् ।
 
उनको यो अभियानमा अहिले स्थानीय तह र अन्य सङ्घ संस्थापनि जुटेको छ । उनले एक वर्षको अवधिमा लगभग ३ देखि ४ हजार थान सेनेटरी प्याड वितरण गरेका छन् ।

अभियानमार्फत् दिदिबहिनीलाई विभिन्न चाडपर्व, विवाह, वार्षिकोत्सव, जन्मदिन वा कुनै विशेष दिनमा उपहार स्वरुप सेनेटरी प्याड दिने गरिन्छ । अभियानबाट अहिलेसम्म पुनः प्रयोग गर्न नमिल्ने प्याड लगभग १३ देखि १४ सयसम्म वितरण गरिएको छ भने पुनः प्रयोग गर्न मिल्ने प्याड लगभग १ हजार वितरण गरिसकिएको छ ।

आफ्नो घरमै आमा महानावारी हुँदा केही नछोइकन बसेको कुराले उनलाई झकझकाई रहन्थ्यो । त्यहीँ कुरा उनले एकदिन आमासँग भने । अभियानमा आमाले साथ दिने भएपछि ५ जना साथीभाईको सहयोगमा अघि बढेको समिरले बताए ।

अभियानका सुरुका दिनहरूमा केटी साथीलाई सेनेटरी प्याड दिँदा आफ्नो लैङ्गिकतामा नै प्रश्न उठेको उनको अनुभव छ । सेनेटरी प्याड बाँडेकै आधारमा उनलाई कत्तिले यो केटा होइन रहेछ क्यारे, यदि केटा हुन्थ्यो भने किन प्याड बाँड्दै हिड्थ्यो जस्ता विभिन्न मनोबल कमजोर गराउने टिप्पणी गरिन्थ्यो ।

त्यति मात्रै होइन उनी बस्ने समुदायले नै पनि अनुशासन नभएको व्यक्तिको रुपमा स्थापित गरायो । कतिले उनलाई लाज नभएको मान्छे, परिवारले पनि कस्ता कुरा सिकाएका होलान् भन्ने गर्दथ्ये । धेरै जसो युवा पुस्ताका साथीले नै नराम्रो भन्ने गरेको उनको अनुभव छ । तर, समिरलाई त्यस्ता कुराले कुनै फरक परेन । उनले आफूलाई आफ्नो लक्ष्य पाउनका लागि काम गरिरहे ।

अहिले उनले बाल क्लबहरूसँग सहकार्य गर्दै सुरक्षित महिनावारीको विषयलाई अगाडि बढाइरहेका छन् । उनी भन्छन्, ‘बालक्लबको माध्यमबाट जाँदा महिनावरीको बिषयलाई बुझाउन सहज हुने र प्रभावकारी पनि देखिएको हुँदा यो माध्यम छानेका हौं ।’

अभियानमा जोडिएका कतिपय दिदिबहिनीहरूले आफूलाई आवश्यक परेको बेलामा नहिचकिच्चाइ सेनेटरी प्याड माग्न सक्ने भएका छन् त्यो देखेर खुशी लाग्ने गरेको उनी बताउँछन् । अहिले उनको झोलामा पुनः प्रयोग गर्न मिल्ने र नमिल्ने सेनेटरी प्याड कहिले छुट्दैन ।

पछिल्लो समय अभियानमा जोडिनका लागि धेरै व्यक्तिहरू इच्छुक भएका छन् । अभियानको बारेमा राम्रो प्रतिक्रिया पाइरहेको र यसले अझै काम गर्ने हौसला बढाएको उनी बताउँछन् । अहिले उनले आफ्नो कलेजका साथीहरूसँग पनि सहकार्य गरी अभियान सञ्चालन गरिरहेका छन् ।

महिनावारी हुनु सामान्य प्रक्रिया भएको र यसमा लाज मान्नुपर्ने कुनैपनि कुरा नभएका कारण आफूलाई समस्या भएमा अरुसँग साझा गर्नुपर्ने र सँगै भएका अभिभावक, साथी केटा होस् या केटी डर र लाज मान्नु भन्दा पनि बुझेर सहज महसुस गराउनुपर्ने समिरको भनाइ छ ।

भोलिको दिनमा घरमै महिनावारीबारे अज्ञानताका कारण दिदिबहीनि वा आमा तथा महिला सदस्यलाई समस्या भयो भने त्यसको जिम्मेवारी घरकै सबैले लिनुपर्छ । कारण, महिलाको स्वास्थ्यको ख्याल राख्ने जिम्मेवारी उनको मात्रै होइन घरमा भएका छोरा, ज्वाइँ, श्रीमान, सुसुरा सबैको हो । 

Last modified on 2022-02-25 15:36:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts