कैलालीमा नसर्ने रोगका बिरामी बढ्दै, ७० प्रतिशत प्रभावित



Download our app to get more features

धनगढी, १८ फागुन । सुदूपश्चिमको राजधानी कैलालीमा नसर्ने रोगका बिरामी बढ्दै गएका छन् । उमेर ढल्केकाहरू मात्र नभएर युवाहरूमा नसर्ने रोगको जोखिम बढ्न थालेको छ । निजीस्तरबाट सञ्चालन भएका तथा प्रदेश र सङ्घीय सरकार मातहतका अस्पतालमा भर्ना भएका बिरामीको तथ्याङ्क हेर्दा नसर्ने रोगका बिरामीको सङ्ख्या पछिल्लो समय अत्यधिक बढेको छ ।

स्वास्थ्य कार्यालय कैलालीले २ सय ३७ किसिमका रोगबाट पीडित भएका बिरामीको तथ्याङ्क राखेकोमा क्यान्सर, स्वासप्रश्वाँस, मुटु, कलेजो र सिकलसेल एनिमियाका बिरामीको सङ्ख्यामा हरेक वर्ष वृद्धि भइरहेको पाइएको छ । आर्थिक वर्ष २०७५÷०७६ देखि चालू आर्थिक वर्षको अर्धवार्षिक तथ्याङ्क हेर्दा नसर्ने रोगबाट पीडित हुने सङ्ख्या झन्डै २ गुणाले वृद्धि भएको पाइएको हो ।
 
कैलालीको धनगढी उपमहानगरपालिकाले उपलब्ध गराएको तथ्याङ्कमा भने उपमहानगरमा मुटुरोगका बिरामीको सङ्ख्या ५९ छ । यसैगरी क्यान्सरबाट पीडित हुने ४३ जना, मृगौला रोगबाट पीडित १७ जना, सिकलसेल एनिमियाका २१ जना र टाउको तथा स्पाइनलइन्जुरीका २ गरी जम्मा १ सय ३२ जना दीर्घरोगबाट पीडित रहेको उपमहानगरपालिकाले जनाएको छ । तर, यो सङ्ख्या विपन्न नागरिक उपचार सिफारिस विवरणको आधारमा तयार भएकोले पूर्ण तथ्याङ्क नभएको उपमहानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख कृष्णबहादुर बोहराले बताए । 

उनले भने , ‘उपमहानगरपामलिकाले सञ्चालन गरेका स्वास्थ्य संस्थामा जटिल रोगको उपचार हुँदैन । विपन्न नागरिक उपचार सिफारिस दिएको आधारमा मात्रै हामीले तथ्याङ्क राखेको छौं ।’
 
स्वास्थ्य कार्यालय कैलालीले तयार गरेको तथ्याङ्कमा जिल्लाभर विभिन्न २ सय ३७ रोगबाट सर्वसाधारण पीडित भएको उल्लेख छ । जिल्लाका स्थानीय तहमा रहेका स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रले जनसाङ्ख्यिकी स्वास्थ्य सूचना प्रणाली टु मा प्रविष्ट गराएको तथ्याङ्क मात्रै स्वास्थ्य कार्यालयले उपलब्ध गराएको छ । 

प्रदेश र सङ्घीय सरकारमातहत र नीजिस्तरमा सञ्चालित अस्पतालको तथ्याङ्क समावेश गरे बिरामीको सङ्ख्या निकै धेरै रहेको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले बताए । 

‘हामी कहाँ स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रबाट जनसाङ्ख्यिकी स्वास्थ्य सूचना प्रणाली टुमा तथ्याङ्क अध्यावधिक भएर आउने गर्छ,’ उनले भने, ‘कैलालीमा नसर्ने रोगको हिस्सा ७० प्रतिशतभन्दा बढी रहेको छ ।’

यस्तै स्वास्थ्य कार्यालय कैलालीसँग जिल्लामा पाठेघर खस्ने समस्याबाट आर्थिक वर्ष २०७५÷०७६ मा ४ सय ३९ महिला पीडित भएको तथ्याङ्क छ । आर्थिक वर्ष २०७६÷०७७ मा ३ सय ४१, २०७७÷०७८ मा २ सय ४१ र चालु आर्थिक वर्षको ६ महिनामा २ सय ४३ महिला पाठेघर खस्ने समस्याबाट पीडित रहेका छन् । 

जिल्लामा दमबाट ५ हजार ७० जना, स्वासप्रश्वाँस सम्बन्धी ४ हजार ८ सय ७३ जना, हृदयघातका बिरामी १ सय ७ जना, उच्च रक्तचापबाट ९ हजार ४ सय, मिर्गाैलाका बिरामी २ सय ७४ जना, कलेजोको क्यान्सर १ सय ११ र पत्थरीका बिरामी १ हजार ४ सय ३१ रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । 

तर, प्रदेशमा रहेका नीजि तथा सरकारी स्वास्थ्य संस्थाबाट तथ्याङ्क सङ्कलन गर्न नसकिएको स्वास्थ्य निर्देशनालय दिपायलका निमित्त प्रमुख डाक्टर जगदिश जोशीले बताए । ‘हामीले सबै अस्पतालबाट तथ्याङ्क सङ्कलन गर्न सकेका छैनौँ’ उनले भने, ‘आगामी दिनमा सबै तथ्याङ्क अद्ययावधिक गर्ने गरी काम भइरहेको छ ।’

नसर्ने रोगबाट उमेर ढल्केकाहरू बढी प्रभावित हुने गरेकामा पछिल्ला वर्षहरूमा यसले युवा समूहलाई पनि आक्रान्त पार्न थालेको छ । सरकारी अस्पतालको उपचार सेवा स्तरिय नहुँदा महँगो उपचारले नसर्ने रोगको महँगो उपचारले गरीबी पनि बढाएको छ ।

Last modified on 2022-03-03 10:37:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts