वीर अस्पतालको मोबाइल एपबारे अनभिज्ञ सेवाग्राही, टिकट काट्न काउन्टरमै भिड

What's This?


Download our app to get more features

सिन्धुपाल्चोकका नविन नेपाल, वीर अस्पतालमा उपचारका लागि टिकट लिन लाइनमा थिए । उनको ध्यान कतिखेर लाइन सर्ला र आफ्नो पालो आउला भन्नेमा थियो । उनी भन्दै थिए, खै पालो कतिखेर पो आउने हो ?

काठमाडौंकै संगिता श्रेष्ठ, टिकट काट्ने लाइन देखेर नजिकै मोबाइल एपको बारेमा बुझ्न राखिएको बुथमा आएर सोध्दै थिइन, यहाँबाट पनि टिकट लिन मिल्छ । मोबाइल एपबाट लिएको टिकटले भोलि मात्र सेवा लिन पाउछन् भन्ने थाहाँ पाएपछि उनी लाइनबाट नै लिन्छु भन्दै फर्किइन् ।

यी प्रतिनिधि पात्र मात्र हुन् । मुलुककै सबैभन्दा ठूलो र बुढो अस्पतालमा त्यहाँ आउने अधिकांश सर्वसाधरणलाई अस्पतालको मोबाइल एपको बारेमा थाहा नै छैन् । धेरैले वीर अस्पतामा टिकट मोबाइलबाट पनि लिन मिल्छ नी भन्दा हो र हामीलाई त थाहा नै छैन् भन्ने जस्ता उत्तरहरू फर्काउथे ।


अस्पतालका अनुसार अहिले दैनिक १५ सय देखि १६ सय सम्मले टिकट लिने गर्दछन् । नेपालकै पुरानो र ठुलो अस्पताल साथै देशभरीबाट सबै खालका बिरामीहरू आउने हुँदा अस्पतालमा धेरै भिड हुने गरेको अस्पतालको भनाइ छ ।

नागरिकहरूलाई सहज रुपमा सेवा दिने उदेश्यले वीर अस्पतालले मोबाइल एप सञ्चालनमा ल्याएको हो । त्यसका लागि बिरामीले अस्पतालको एप ‘वीर हस्पिटल’ आफ्नो मोबाइलमा डाउनलोड गर्नुपर्ने हुन्छ । सो एपमा गएर आफूले कुन सेवा लिन चाहेको हो रोजेर टिकट लिन सकिने छ ।

यसरी टिकट लिएर इसेवा वा खल्ती मार्फत टिकट शुल्क तिरेपछि बिरामीले अस्पतालमा पुगेर सिधै ओपिडीमा सेवा लिन जान पाउनेछन् ।

तर, धेरै सेवाग्राहीलाई मोबाइल एपको बारेमा थाहाँ नै नहुँदा अस्पतालमा निकट काट्नेको भिड भने उतिकै छ ।

धेरै लेखपढ गर्न नजान्ने नागरिक आउने हुँदा समस्या

वीर अस्पतालकी उप निर्देशक प्रा.डा.अनुपमा कार्की अस्पतालमा धेरै लेखपढ गर्न नजान्ने नागरिकहरु सेवा लिन आउँने हुँदा टिकट लिनेको भिड भइरहेको बताउछिन् ।

कार्की भन्छिन्, ‘हामी सबैलाई थाहाँ छ वीर अस्पताल नेपालकै सबैभन्दा पुरानो अस्पताल हो । यहाँ सबै खालका बिरामीहरू सेवा लिन आउने गर्दछन् । सबै नागरिकहरू मोबाइल एप चलाउन नसक्ने अवस्थामा पनि छन् । सबैको पहुँचमा मोबाइल एप नहुँन पनि सक्छ,त्यसैले टिकट काट्नेको भिड देखिएको हो । ’

कतिपय नागरिकहरू आफ्नो नाम लेख्न समेत नजान्ने आउने गर्दछन् । त्यस्ता नागरिकलाई मोबाइल एपको बारेमा बुझाउन समस्या हुने गरेको उनले बताइन् ।

अस्पताल परिसरभित्र मोबाइल एपको बारेमा बुझाउन बुथ राखिएको छ । बुथमा दैनिक लगभग २५ देखि ३० जना जतिले एपको बारेमा जानकारी लिन्छन् ।

अहिले मोबाइल एपबाट दैनिक लगभग ३५ देखि ४० जना बिरामीहरुले सेवा लिने गरेको उनले बताइन ।

एपबाट टिकट लिने बिरामीहरु सेवा लिनै अलमलमा पर्छन्

एपबाट टिकट लिएका बिरामीहरूले अस्पतालमा पुगेर सिधै ओपिडीमा सेवा लिन सक्दछन् । तर, कतिपयलाई यस्तो सुविधाको बारेमा थाहाँ नहुँदा पुन टिकट काउन्टरमा नै पुग्ने गरेको कार्कीले बताइन् ।

उनी भन्छिन्, ‘कोहिकोहिको छोरा छोरी वा आफन्तहरुले टिकट काटेर पठाइदिनु हुन्छ । तर आउने बिरामीहरुलाई कहाँ जाने थाहाँ नहुँदा भन्ने अन्योलमा पर्नुहुन्छ ।’

अहिलेसम्म एपबाट टिकट काटेर आउने बिरामीहरुको भने प्रतिक्रिया राम्रो रहेको उनले बताइन् । समयको बचत भयो,टिकटका लागि लाइन बस्न परेन, सिधै चिकित्सकलाई भेट्न सकिने एपबाट राम्रो फाइदा लिन सकेको बिरामीहरुले भन्ने गरेको उनको भनाइ छ ।

मोबाइल एप प्रचारमा के गर्दै छ अस्पताल ?

सरकारी अस्पतालले आधुनिक प्रविधिलाई आत्मसाथ गर्दै अगाडि बढनु ठुलो उपलब्धि रहेको कार्कीको भनाइ छ ।

उनी भन्छिन्, ‘एप लन्च गर्ने बितिकै हामी कोरोना महामारीको तेस्रो लहरको चपेटामा पर्यौ । त्यसैले एपको बारेमा राम्रोसँग काम गर्न सकेका छैनौं । अहिले कोरोना सङ्क्रमणदर घट्दै गएको छ अब कसरी काम गर्ने भन्ने बिषयमा योजना बनाउदै छौं ।’

‘वीर अस्पतालको मोबाइल एपको बारेमा धेरै व्यक्तिलाई थाहाँ नहुँनु स्वभाविक हो,अब हामीले यसको प्रचारप्रसारमा बढी जोड दिनुपर्छ,’ कार्की भन्छिन् ।

अस्पताल परिसरमा जानकारी दिन राखेको बुथ मात्र पर्याप्त नभएको बताउदै आगामी दिनहरुमा सञ्चारमाध्यमको सहयोगबाट प्रचारप्रसार बढाउने उनले बताइन् ।

अहिले स्वास्थ्य बीमा गरेका बिरामीहरुले उक्क्त एपबाट सेवा लिन नपाइरहेको अवस्था रहेको र त्यो समस्या चाडै समाधान गर्ने पनि उनको भनाइ छ ।

Last modified on 2022-03-05 08:22:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts