चीनमा एमबीबीएस पढेका विद्यार्थीको बिचल्लीः निर्णय कार्यान्वयन नहुँदा डिग्री खेर जाने चिन्ता

What's This?


Download our app to get more features

चिकित्सा शिक्षा क्षेत्रमा देखिएको वेथितिका कारण यस क्षेत्रमा जोडिन चाहेका र जोडिएकाहरू सँधै चिन्तामा हुन्छन् । कारण, लाखौं खर्च गरेर पढ्ने अनि काम गर्न विभिन्न चरणहरू पार गर्न अनेकौं खुड्किला पार गर्नुपर्ने हुन्छ । ती पार गरेर आइसकेपछि कहिले तीनैमाथि हातपात हुने, गालीगलौज हुने, पारिश्रमिकमा विभेद हुने लगायतका समस्याले ग्रसित हुन्छन् । 

आफूले गल्ती नै नगरेपनि सजाय भोग्नुपर्ने बाध्यता पनि चिकित्सा शिक्षा क्षेत्रसँग जोडिएका र जोडिन लागेकाहरूको हुन्छ । जसका कारण यो क्षेत्र सँधै चर्चामा रहन्छ । लाखौं खर्च गरेर चिकित्सा शिक्षा क्षेत्रमा आएकाहरू सेवा दिने क्रममा वा सेवा दिनका लागि तयार भइरहँदा आफ्नै अधिकारका लागि लडिरहन्छन् । यो क्रम कहिलेसम्म चल्ने हो भन्न सक्ने अवस्था पनि छैन । अहिले यस्तै अवस्था चीनबाट नेपाल फर्केका नेपाली विद्यार्थीको छ ।

यतिबेला चिनमा एमबीबीएस अध्ययन गरेर आएका नेपाली विद्यार्थीहरू माइतीघर मण्डलामा अनसनरत छन् । उनीहरूको अगाडि ‘मन्त्रीपरिषद्वारा उपाध्यक्षज्यूलाई सुम्पिएको कार्यभार अबिलम्ब पूरा गरियोस’, ‘मन्त्रीपरिषदले त निर्णय निकाल्यो, उपाध्यक्ष ज्यू अब हजुरको पालो’ भन्ने जस्ता नारा लेखिएका व्यानरहरू तेर्सिएका छन् ।

कोरोना महामारीको बेला सबैभन्दा बढी प्रभावित बनेको बेला चीनबाट नेपाल फर्किएका विद्यार्थीहरू पुनः अध्ययनका लागि चीन फर्किन पाएका छैनन् । कारण, चीन सरकारले विदेशी नागरिकलाई आफ्नो देशमा अहिलेसम्म भित्रिन दिएको छैन ।

अनसनमा बसेका एक जना विद्यार्थी भन्छन्, ‘एमबीबीएस पढ्न गएका हामी आजको दिन यसरी अनसन बस्नुपर्ला भनेर सोचेको पनि थिएनौं । बाटो हिँड्नेहरू हामीलाई देखेर तपार्इंहरू डाक्टर होइन र ? किन यहाँ बस्नुभएको भनेर सोध्दा नराम्रो लाग्छ ।’

कोरोना महामारीको बेला नेपाल फर्केका उनीहरू, अनलाइनबाट नै आफूहरूले अध्ययन पूरा गरेको बताउँछन् ।

अर्का एक जना विद्यार्थी भन्छन्, ‘महामारीको समयमा अनलाइनबाट पढाई भयो, पहिला सरकारले पनि अनलाइन शिक्षालाई मान्यता दिएको थियो त्यहि कारण हामीहरूले पनि अनलाइनबाट पढ्यौं ।’

चीनबाट कोरोना महामारीका कारण नेपाल फर्केका चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरूले नेपालमा इन्टर्नसिप गर्नको लागि स्वीकृतिको माग गर्दै पटकपटक प्रदर्शन गर्दै आएका छन् ।  

विद्यार्थीहरूको प्रदर्शन पछि सरकारले चिकित्सा शिक्षाको स्नातक तहमा चीन लगायतका मुलुकमा अध्ययन गरेका विद्यार्थीको हकमा बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास वा इन्टर्नसिप पूरा गर्न सैद्धान्तिक स्वीकृति दिइसकेको छ । तर, चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलले आफूहरूलाई इन्टर्नसिप पूरा गर्न नदिएको आरोप विधार्थीहरूको आरोप छ ।  

अनसनमा बसेका एक विद्यार्थी भन्छन्, ‘मन्त्रीपरिषद्बाट हामीले नेपालमै इन्टर्नसिप गर्न पाउने निर्णय भयो । तर, नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगले आलटाल गर्यो, मन्त्रीपरिषदबाट निर्णय भयो किन हामीलाई पत्र दिनुभएन भन्दा जानुस मन्त्रीपरिषद्मा नै माग्नुस भन्नुहुन्छ ।’

अर्को विद्यार्थी थप्छन्, ‘हामीलाई विश्वविधालयबाट सबै सर्टिफिकेट ल्याउनु हुन्छ भनेका थिए । हामीले सबै सर्टिफिकेटहरु ल्याइसक्यौं तर हामीलाई इन्टर्नसिप गर्न दिनुहुन्न । मन्त्रीपरिषद्बाट दिनु भन्ने स्वीकृत भइसकेको छ,यहाँ त सरकार भन्दा व्यक्क्ति ठुलो देखियो । कार्यन्वयन गर्ने निकाय मौन हुनुभयो ।’

के भन्छ नेपाल मेडिकल काउन्सिल ?
मेडिकल काउन्सिलका रजिष्ट्रार कृष्णप्रसाद अधिकारी इन्टर्नसिप गर्न पाउने विद्यार्थीहरूको केहि नरोकेको बताउँछन् ।

अधिकारी भन्छन्, ‘इन्टर्नसिप गर्न मिल्ने विद्यार्थीहरूलाई गर्न दिएकै छौं,तपाईंहरूलाई थाहा नै छ । पढाई नै पूरा नगरेका विद्यार्थीहरूलाई कसरी दिन सक्छौं । चिकित्सक जस्तो कुराको अध्ययन यतिकै हावाको भरमा स्वीकृत दिने भन्ने हुँदैन ।’

अनसन बसेका विद्यार्थीहरूको अध्ययन पूरा भइसकेको र सर्टिफिकेट आइसकेको भन्ने कुरा छ नी भन्दा उनी भन्छन्, ‘उहाँहरूले अनलाइनबाट अध्ययन पूरा गरेको भन्नुहुन्छ, हामीले अनलाइनबाट अध्ययन गर्नेहरूलाई मान्यता दिने प्रावधान छैन् ।  चिकित्सकको जस्तो अध्ययन नी अनलाइनबाट गरेर कहाँ हुन्छ र ?’

त्यसो भए अबको समाधान के त भन्ने प्रश्नमा अधिकारी भन्छन्, ‘उहाँहरूको बाँकी अध्ययन नेपालमै गराउनलाई नेपालका विश्वविधालयहरूले सक्दैनौं भन्नुभएको छ । त्यसैले बाँकी अध्ययन पूरा गर्न त्यहि विश्वविधालय फर्कनुको विकल्प छैन् ।’

Last modified on 2022-03-08 16:19:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts