चितवनको २ पालिका कोरोना संक्रमणमुक्त, अन्य पालिकामा संक्रमण शून्य नजिक



Download our app to get more features

चितवन, ५ चैत । चितवनमा २ वटा स्थानीय तह कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लाको कालिका नगरपालिका समेत शुक्रवारदेखि कोरोना संक्रमणमुक्त भएको छ । यसअघि जिल्लाकै एक मात्रै गाउँपालिका इच्छाकामनामा फागुन दोस्रो सातादेखि कोरोना संक्रमणमुक्त भएको थियो । यसरी जिल्लाका सातवटा मध्ये २ वटा स्थानीय पालिका संक्रमणमुक्त भएका हुन् । अन्य पालिकामा समेत संक्रमण शून्य नजिक छ ।

कुन स्थानीय तहमा कति छन् सक्रिय संक्रमित ?
 
शुक्रवारसम्मको तथ्याङ्क अनुसार जिल्लाका २ वटा स्थानीय तहमा सक्रिय संक्रमितको संख्या समान ४/४ जना छन् । ती स्थानीय तहमा माडी र रत्ननगर नगरपालिका रहेका छन् ।

त्यस्तै, अन्य स्थानीय तहमा राप्ती नगरपालिकामा ३, भरतपुर महानगरपालिकामा २ र खैरहनी नगरपालिकामा १ जना संक्रिय संक्रमित रहेका छन् ।

३३ हजार बढी निको भए, ४ सय ४९ जनाको मृत्यु

जिल्लाभर अहिलेसम्म कोरोना संक्रमित हुनेको कुल संख्या ३३ हजार ५ सय ४८ पुगेको छ । संक्रमित हुनेमा १७ हजार ७ सय ८३ जना पुरूष र १५ हजार ७ सय ६५ जना महिला रहेका छन् । जसमध्ये जिल्लाभर मात्रै अहिलेसम्म ३३ हजार ८५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यसैबीच जिल्लाका संक्रमित मध्ये अहिलेसम्म ४ सय ४९ जनाको मृत्यु भएको छ । 

विश्वभर कोरोना संक्रमण नियन्त्रणमा आएसँगै नेपालमा पनि प्रतिदिन संक्रमणदर घट्दो छ । संक्रमण नियन्त्रण तर्फ गएपनि जोखिम भने कायमै रहेको भन्दै चिकित्सकले सावधानी अपनाउन नछोड्न सबैलाई आग्रह गरेका छन् । उनीहरूले अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन, निस्कनु परेमा भौतिक दूरी पालना, मास्क, स्यानिटाइजरको प्रयोग तथा साबुनपानीले हात धुने नियम राम्रोसँग पालना गर्न सबैलाई अनुरोध गरेका छन् ।

Last modified on 2022-03-20 10:42:34

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts