पारासिटामोलको तौल बढाउने विषय किन विवादमा ? यसो भन्छन् सरोकारवाला

What's This?


Download our app to get more features

काठमाडौं, १४ चैत । सरकारले पारासिटामोलको तौल बढाउन अनुमति दिएपछि चर्चाको विषय बनेको छ । कतिपयले उद्योगी व्यावसायीको दबाबमा आएर सरकारले यो निर्णय गरेको बताइरहेका छन् भने कतिपयले आवश्यक नै नभएको बेला तौल बढाउने निर्णय हुँदा त्यसले नागरिकको स्वास्थ्यमा प्रभाव पार्ने बताइरहेका छन् ।

चैत १० मा औषधि सल्लाहकार समितिको बैठकले नेपालमा ६५० मिलिग्राम अर्थात् एमजीको पारासिटामोल ट्याबलेट दर्ता गर्न औषधि व्यवस्था विभागलाई अनुमति दिने निर्णय गर्र्यो । जस अनुसार अब नेपालमै ६५० एमजीको पारासिटामोल उत्पादन गर्ने बाटो खुलेको छ ।

नेपालमा हाल १ सय २५, २ सय ५०, ३ सय २५ र ५ सय मिलिग्रामको सिटामोल उत्पादन हुन्छ । तर, ६५० एमजीको सिटामोल उत्पादन गर्नु सरकार उद्योगी व्यावसायीको दबाबमा आएको कतिपयको बुझाइ छ ।

पारासिटामोलको मूल्य बढाउनकै लागि सरकारले सिटामोलको तौल बढाउने निर्णय गरेको पनि आरोप लागिरहेको छ । यसअघि औषधि उत्पादकहरूले हाल प्रतिट्याब्लेट १ रुपैयाँ पर्ने सिटामोलको मूल्य बढाउन सरकारलाई दबाब दिँदै आएका थिए ।

सरकारले पारासिटामोलको तौल बढाएसँगै अब पारासिटामोलको मुल्य १ रुपैयाँबाट बढेर कति हुने हो भन्दै चिन्तित हुन थालेका छन् । तर, सरकारले भने दर्ताका लागि अनुमति दिनुलाई गलत अर्थमा बुझ्न नहुने बताएको छ ।

औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक एवं सूचना अधिकारी सन्तोष केसीले  नेपाल मेडिकल एसोसियसन, चिकित्सक र औषधि सल्लाहकार समितिको सिफारिस अनुसार सिटामोलको तौल ६५० बनाउने निर्णय भएको बताए ।

उनी भन्छन्, ‘मान्छेहरूमा भ्रम पार्ने काम भएको छ । ६५० एमजीको पारासिटामोल उत्पादन गर्दैमा ५०० एमजीको उत्पादन बन्द हुन्छ भन्ने गलत हो । बजारमा हाल उपलब्ध भइरहेका सबै एमजीका सिटामोलका साथै ६५० एमजीको पारासिटामोल पनि उत्पादन हुन्छ । चिकित्सकले पनि यसलाई प्रयोग गर्न मिल्ने बताएका छन् । त्यसकारण  नेपालमा ६५० एमजीको सिटामोल उत्पादनका लागि दर्ता गर्ने बाटो खोलिएको हो ।’
 
नेपालीहरूको शरीरको तौल हेर्दा कतिपयलाई ६५० एमजीको पारासिटामोल आवश्यक परेको भन्ने सिफारिस आएको हुँदा ६५० एमजीको पारासिटामोल उत्पादनका लागि दर्ता गरिएको उनको भनाइ छ ।

सरकारले मूल्य बढाउन पारासिटामोलको तौल बढायो भन्ने कुरा गलत र भ्रामक रहेको भन्दै उनले सर्वसाधारणलाई मार नपर्ने गरी ६५० एमजीको पारासिटामोलको मूल्य निर्धारण गरिने बताए ।

यता, पारासिटामोलको तौल बढाउने निर्णप्रति उपभोक्ता अधिकारकर्मी र फार्मेसीसँग सम्बन्धित सरोकारवालाले विरोध जनाएका छन् । सरकारले पारासिटामोलको मूल्य बढाउन अध्ययन र परीक्षण बिना नै स्वदेशी उत्पादकहरूको दबाबले निर्णय गरेको उनीहरूको आरोप छ ।

तर, चिकित्सक तथा विज्ञहरू भने नेपालमा ६५० एमजीको पारासिटामोल आवश्यक भएको बताउँछन् । कतिपय बिरामीहरूमा ५०० एमजीको डोजले काम नगर्ने हुँदा एमजी बढाउन आवश्यक रहेको उनीहरू बताउँछन् ।

के भन्छन् औषधि उत्पादक ?
नेपाल औषधि उत्पादक सङ्घका महासचिव विप्लव अधिकारी भ्रम छर्नलाई मात्र विभिन्न अड्कलबाजी भइरहेको बताउँछन् । मेडिकल परीक्षण बिना कुनै पनि औषधि उत्पादन नहुने उनको भनाइ छ ।

अधिकारी भन्छन्, ‘पारासिटामोलको ६५० एमजी पनि प्रस्काइभीङ डोज नै हो,कस्ता बिरामीलाई ५०० र ६५० एमजीको दिने भन्ने कुरा मेडिकलले नै सिफारिस गरिसकेको छ । यसको क्लिनिकल ट्रायल नभएको भन्ने होइन,यसको क्लिनिकल ट्रायल भइसकेको छ । २०१८ को इण्डियन फर्मा कोपीयामा पनि प्रकाशित भइसकेको छ । यसमा सबै क्लिनिकल ट्रायल पास भइसकेपछि मात्र प्रकाशित हुन्छ ।’

‘पारासिटामोल ६५० एमजीको बनाउने भन्दैमा ५०० एमजी बनाउनै छाड्ने नभएको उनी बताउँछन् । औषधि सबै खालको हुन आवश्यक छ, आवश्यकता अनुसार किनेर खाने हो । ५०० एमजीको औषधि खाँदा नहुँने बिरामीलाई हामीले के गर्ने रु त्यसैले दुवै एमजीको औषधि बनाउन आवश्यक छ ।’ उनले भने ।

के भन्छन् फार्मेसी एसोसियसन ?
फार्मेसी एसोसिएसनका अध्यक्ष अमृत खनाल सरकारले पारासिटामोलको एमजी बढाएर सर्वसाधरणको स्वास्थ्यमा खेलबाड गर्न लागेको बताउँछन् ।

खनाल भन्छन्, ‘औषधि उत्पादन गर्न क्लिनिकल ट्रायल हुनुपर्छ,नेपालको हकमा अहिलेसम्म ५०० एमजीको पारासिटामोल उपयुक्त मानिएको छ । विश्व स्वास्थ्य सङ्गठनले पनि नेपालमा ५०० एमजीको पारासिटामोल उपयुक्त भनेको छ । त्यसैले ५०० एमजीको उपयुक्त हुँदाहुँदै किन एमजी बढाउन आवश्यक छ रु’

पारासिटामोल ६५० एमजीको बनाउन नै नहुँने भन्ने कुरा आफुहरूको नरहेको उनले बताए । तर, नेपालमा ५०० एमजीको पारासिटामोलले काम गरिरहँदा ६५० एमजी ल्याउनु भने गलत रहेको उनको भनाइ छ ।

सरकारले ६५० एमजीको पारासिटामोल उत्पादन गर्न सिफारिस दिइरहँदा भविश्यमा ५०० एमजीको पारासिटामोलको सटेस हुने र सबै सर्वसाधरणहरुले ६५० एमजीको पारासिटामोल खान बाध्य हुनुपर्ने उनले बताए ।

उनी भन्छन्, ‘ सिटामोल एक मात्रै यस्तो औषधि हो जुन सामान्य अवस्थामा पनि डाक्टरको प्रिस्किप्सन बिना सेवन गर्ने गरिन्छ । किनकी यसको बाहिरी प्रभाव निकै कम देखिएको छ । तर, यसको सेवन अत्यधिक गरियो भने मानिसको कलेजोमा असर पार्छ, पछि सबै नागरिकले ६५० एमजीको पारासिटामोल खान बाध्य हुँदा त्यसले पार्ने असरको कसले जिम्मा लिन्छ रु’

नेपालमा हाल वार्षिक ७ करोढ सिटामोलको माग भइरहेकोमा नीजि तथा सरकारी गरी २३ ओट उद्योगले उत्पादन गरिरहेका छन् । भारतमा पनि ६५० एमजीको सिटामोल उत्पादन भइरहेको छ । तर, विश्व स्वास्थ्य सङ्गठनको मान्यता अनुसार नेपालका लागि ५०० सय एमजीको उपयोगी भएका कारण क्लिनिकल परीक्षण बिनै उत्पादन गर्न नहुने विज्ञहरू बताउँछन् ।

६ सय ५० मिलिग्रामको सिटामोल उत्पादनका लागि विज्ञ सल्लाहकार समितिले सिफारिस गरेपछि नियामक निकायले अनुमति दिएपनि उत्पादन तत्कालै सुरु हुने अवस्था छैन किन कि ५ सय मिलिग्रामको सिटामोल उत्पादनका लागि नै कच्चा पदार्थ जुटाउन उद्योगहरूलाई अहिले समस्या भइरहेको छ ।

Last modified on 2022-04-14 16:18:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts