सुर्खेतमा ९६ हजार बालबालिकालाई टाइफाइड खोप लगाइने



Download our app to get more features

सुर्खेत, २० चैत । सुर्खेतका नौ स्थानीय तहका १५ महिनादेखि १५ वर्षमुनिका ९६ हजार बालबालिकालाई टाइफाइड खोप लगाइने भएको छ। 

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतद्वारा शनिबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा यहाँका ९६ हजार ४ सय ६७ बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने जानकारी दिइयो। कार्यालयका निमित्त  प्रमुख गणेशभक्त गौतमका अनुसार देशैभरि एक चरणमा यही चैत २५ गतेदेखि आगामी वैशाख १८ गतेभित्र सम्पन्न गर्ने गरी तय भएको मितिअनुसार खोप लगाइनेछ।

उनले सुर्खेतका सिम्ता गाउँपालिकाका ७ हजार ८ सय ४१, चिडगाड गाउँपालिकाका ५ हजार ९ सय १५, लेकबेँसी नगरपालिकामा ८ हजार ३ सय ९७, गुर्भाकोट गाउँपालिकामा १२ हजार ९ सय ९७, भेरीगङ्गा नगरपालिकामा ११ हजार ८ सय १९, वीरेन्द्रनगर नगरपालिकामा २२ हजार २ सय ३९, बराहताल गाउँपालिकामा ७ हजार ८ सय ३५, पञ्चपुरी नगरपालिकामा १० हजार ६ सय २६ र चौकुने गाउँपालिकामा ८ हजार ७ सय ९८ बालबालिकालाई खोप लगाइने जानकारी दिए ।

कार्यालय प्रमुख गौतमका अनुसार सुर्खेतमा एक लाख ३५ हजार बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाउने अनुमान गरिएको छ। “खोप अभियानमा लक्षित समूह मुख्यरूपमा ८० प्रतिशत विद्यालय नै रहनेछ”, उनले भने, “हामी सुर्खेतमा पहिलो, दोस्रो र तेस्रो चरण गरेर बालबालिकालाई खोप लगाउने छौँ।”

नेपालमा १५ वर्षमुनिका बालबालिकामा सङ्क्रमण दर ११ गुणा बढी रहेको जनस्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी अमर राना मगरले बताए । बालबालिकामा सरसफाइ र स्वच्छताको कमी हुने भएकाले टाइफाइड रोगबाट बालबालिकामा सङ्क्रमण दर बढी भेटिने गरेको उनको भनाइ थियो । रासस
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts