खोटाङका ५३ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने



Download our app to get more features

खोटाङ,२२ चैत । यही चैत २९ देखि वैशाख ४ गतेसम्म खोटाङका ५३ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी गरिएको छ। दश स्थानीय तह रहेको जिल्लामा ७११ वटा खोप केन्द्र निर्धारण गरेर एकैसाथ १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी गरिएको हो।

टाइफाइड रोगको सङ्क्रमण र यसबाट हुने जटिलतालाई न्यूनीकरण गर्न नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको नीतिअनुसार जिल्लाका दशवटै स्थानीय तहमा एकैसाथ खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए। 

टाइफाइड रोगविरुद्धको खोप अभियानअन्तर्गत सोमबार जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि, कार्यालय प्रमुख, सुरक्षा निकाय तथा पत्रकारसँग स्वास्थ्य कार्यालयले अन्तक्र्रिया गरेको छ। अन्तक्र्रियामा सहभागी जिल्लास्थित सबै सरोकारवाला व्यक्ति तथा निकायले टाइफाइडविरुद्धको खोप अभियान सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

जिल्ला स्वास्थ्य कार्यालयमा आयोजना गरिएको अन्तक्र्रियामा खोप लगाएपछि खोप लगाएको भागमा रातो हुने, सुन्निने, दुख्ने, हल्का ज्वरो आउने, टाउको दुख्ने, आलस्य लाग्ने, शरीरमा बिमिरा आउने, हातखुट्टा दुख्ने, जोर्नी दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुनेजस्ता लक्षण देखापर्ने जनाइएको छ।

खोप लगाएपछि देखिने लक्षणबाट नआत्तिन र गम्भीर समस्या आइपरेमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गर्न जिल्ला स्वास्थ्य कार्यालय खोटाङले आग्रह गरेको छ।
रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts