स्वास्थ्य बीमामा सरकारको २० अर्बभन्दा बढी खर्च, स्थायी संरचना नबन्दा कार्यक्रम प्रभावकारी बन्न सकेन

What's This?


Download our app to get more features

नेपालमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएको ६ वर्ष पूरा भएको छ । सरकारले २०७२ साल चैत २५ गतेदेखि कैलाली जिल्लाबाट औपचारिक रुपमा सदस्यता दर्ता गर्दै स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ गरेको थियो । 

स्वास्थ्य बीमा बोर्डका अनुसार हालसम्म ७७ जिल्ला तथा ७ सय ४५ स्थानीय तहहरुमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा छ । जसमा ५३ हजारभन्दा बढी स्वास्थ्य बीमामा आवद्ध छन् । 

नेपालको संविधान २०७२ को धारा (५१) (ज) १५ मा राज्यका नीति अन्तर्गत नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था सुनिश्चित गरेको छ । स्वास्थ्य बीमा ऐन,२०७४ र नियमावली २०७५ अनुसार गुणस्तरीय,प्रभावकारी र सर्वसुलभ स्वास्थ्य सेवा सबै नागरिकलाई उपबल्ध गराउने र आर्थिक जोखिमको न्यून गर्ने राज्यको प्रतिबद्धता छ । 

गरीब,विपन्न एवं सुगम क्षेत्रमा समेत पहुँच पुर्याउने उदेश्यले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएपनि उदेश्य अनुसार काम भने हुन सकेको छैन् । स्वास्थ्य बीमा गरेका बीमितहरूले  गुणस्तरी सेवा पाउन नसकेको भन्दै पटक पटक गुनासो गरेको देखिन्छ भने सेवा प्रदान गरिरहेका अस्पतालहरूमा व्यवस्थापन राम्रो हुन सकेको छैन् । 

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.दामोदर बसौला स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएको ६ वर्ष पुगेपनी जनशक्तिको अभावमा सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन नसकेको बताउँछन् । 

बसौलाले गुणस्तरीय सेवा दिन खोज्दाखोज्दै पनि जनशक्ति अभावले सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन नसकेको बताए । 

स्वास्थ्य बीमाको पहुँचमा कति छन् ?

बोर्डका अनुसार हालसम्म ५३ लाख ४ हजार २ सय ७० जना स्वास्थ्य बीमामा आवद्ध भएका छन् । त्यस्तै १५ लाख ८ हजार ५ सय १४ कूल बीमित परिवार रहेका छन् । 

कूल बीमितमध्ये २० लाख ८९ हजार ५ सय ९९ जनाले सेवा लिएको बोर्डले जनाएको छ । त्यस्तै कुल बीमित मध्ये अति गरिब परिवारको बीमित सदस्य सङ्ख्या ४ लाख ८८ हजार ४, ज्येष्ठ नागरिक परिवारको बीमित सदस्य सङ्ख्या ६ लाख ३४ हजार ७ सय ३५, एचआईभी सङ्क्रमित परिवार बीमित सदस्य सङ्ख्या २५ हजार २ सय ८९ रहेको छ । 

त्यस्तै  अति अशक्त अपाङ्गता भएका परिवारको बीमित सदस्य सङ्ख्या ९३ हजार ६ सय २९, कुष्ठरोग सङ्क्रमितको परिवारको बीमित सदस्य संङ्ख्या २ हजार ८ सय ४९, एमडिआर क्षयरोगी परिवारको बीमित सदस्य सङ्ख्या २ हजार ४ सय ७४ र महिला स्वास्थ्य स्वयंसेविका परिवारको बीमित सदस्य सङ्ख्या ८३ हजार ६ सय २६ रहेको बोर्डले जनाएको छ ।

स्वास्थ्य बीमामा सरकारको खर्च कति ?

स्वास्थ्य बीमा बोर्डका अनुसार २०७१/७२ देखि २०७७/७८ सम्म सरकारले २० अरब ५९ करोड ८० लाख ३ हजार खर्च गरेको छ । 

त्यस्तै स्वास्थ्य बीमा गर्ने बीमितहरूबाट ६ अरब ५६ करोड ७९ लाख ८१ हजार २ सय ९१ रुपैया सङ्कलन भएको छ । 

बोर्डले फागुन मसान्तसम्म १ खरब ६७ अरब ९६ करोड ८८ लाख ६ हजार ४ सय ८६ रुपैयाँ ८५ पैसा कुल भुक्तानी गरेको छ । त्यस्तै बोर्डमा २ खर्ब ४२ अरब ५१ करोड ८५ लाख ५९ हजार ४ सय ५६ रुपैया ६३ पैसा भुक्तानी दाबी आएको छ । 

बीमा बोर्डको स्थायी संरचना नहुँदा सेवा प्रदानमा समस्या

बोर्डका कार्यकारी निर्देशक बसौंला बोर्डको स्थायी संरचना नहुँदा काम गर्न समस्या भएको बताउँछन् । 

बर्तौला भन्छन्, 'हामीसँग जनशक्तिको अभाव छ,स्थायी संरचना निर्माण हुन सकेको छैन् । हामीले त्यसका लागि प्रक्रियामा गरिरहेका छौं यदि स्थायी संरचना निर्माण हुने हो भने काम गर्न सहज हुन्छ ।' 

त्यस्तै उनले काम गर्ने कर्मचारीहरू नहुँदा अस्पतालहरूलाई समयमा नै भुक्तानी दिन नसकेको पनि बताए । सेवा विस्तार धेरै भएको तर बोर्डमा काम गर्ने कर्मचारी नहुँदा गुणस्तरीय सेवा दिन नसकेको उनको भनाइ छ । 

त्यस्तै उनले पछिल्लो समय स्वास्थ्य बीमा कार्यक्रमलाई स्थानीय सरकारसँग समन्वय गर्दै अगाडि बढाइरहेको पनि बताए । स्थानीय सरकारलाई अपन्वत गर्नतर्फ बोर्ड लागेको उनको भनाइ छ ।

Last modified on 2022-04-13 16:53:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts