चुनावको मुखैमा चितवनमा फेरि कोरोना संक्रमण देखियो, जोखिम बढी–सावधानी कम !



Download our app to get more features

चितवन, २३ वैशाख । झन्डै डेढ महिनादेखि कोरोना भाइरस संक्रमणमुक्त रहेको चितवनमा फेरि संक्रमण देखिएको छ । यहि वैशाख ३० गते हुने स्थानीय चुनावको मुखैमा फेरि जिल्लामा संक्रमण देखिएको हो ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लामा अहिले ४ जना सक्रिय संक्रमित रहेका छन् । सोमबार भरतपुर महानगरपालिकाका २ जनामा संक्रमण देखिएको थियो । बिहीवार भरतपुर महानगरपालिकामा थप १ जना र राप्ती नगरपालिकामा १ जनामा संक्रमण देखिएसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ४ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार जिल्लाका अन्य ५ स्थानीय तहमा भने अहिले पनि सक्रिय संक्रमितको संख्या शून्य छ । चितवन गत चैत पहिलो सातादेखि कोरोना संक्रमणमुक्त भएको थियो । जिल्लाकै एक मात्रै गाउँपालिका इच्छाकामना भने गत फागुन दोस्रो सातादेखि नै कोरोना संक्रमणमुक्त रहेको छ । 

कोरोना संक्रमणको चौथो लहरका कारण चीनको केही सहर लकडाउनमा छन् । चीनमा मात्र नभई पछिल्लो केही साता यता भारतमा पनि कोरोना संक्रमण बढ्दै गइरहेको छ । त्यसको जोखिम नेपालमा पनि बढ्दो छ ।

जिल्लाभर साढे ३३ हजार बढीमा संक्रमण, ४ सय ४९ जनाको मृत्यु

४ जना नयाँ संक्रमित थपिएसँगै जिल्लामा अहिलेसम्म कोरोना संक्रमित हुनेको कुल संख्या ३३ हजार ५ सय ५२ पुगेको छ । यसरी संक्रमित हुनेमा १७ हजार ७ सय ८४ जना पुरूष र १५ हजार ७ सय ६८ जना महिला रहेका छन् । जसमध्ये जिल्लाभर अहिलेसम्म ३३ हजार ९९ जना कोरोना भाइरस संक्रमणमुक्त भई निको भएका छन् । यसैबीच जिल्लाका संक्रमित मध्ये अहिलेसम्म ४ सय ४९ जनाको मृत्यु भएको छ ।

विशेष स्वास्थ्य सावधान रहन विज्ञको सुझाव

विश्वभर कोरोना संक्रमण नियन्त्रणमा आएसँगै नेपालमा पनि प्रतिदिन संक्रमणदर घट्दो थियो । तर, अहिले छिमेकी देशहरूमा संक्रमण बढेसँगै यो दर नेपालमा पनि फेरि उकालो लाग्दै छ । अहिले सर्वसाधारण कोरोनाको बेवास्ता गर्दै निर्धक्क स्वास्थ्य सावधानी बिनै सार्वजनिक स्थलमा निस्किरहेका छन् । निर्वाचक प्रचार र आम सभाले अझै बढी संक्रमणको जोखिम बढाइ रहेको छ ।

कोरोना संक्रमणको जोखिम बढेको भन्दै चिकित्सकले उच्च सावधानी अपनाउन सबैलाई आग्रह गरेका छन् । उनीहरूले अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन, निस्कनु परेमा भौतिक दूरी पालना, मास्क, स्यानिटाइजरको प्रयोग तथा साबुनपानीले हात धुने नियम राम्रोसँग पालना गर्न सबैलाई अनुरोध गरेका छन् ।
 

Last modified on 2022-05-10 12:52:27

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts