सर्लाहीमा २६ जनामा औंलोको सङ्क्रमण, औंलो उन्मूलन गर्ने सरकारको लक्ष्यमाथि चुनौती



Download our app to get more features

सर्लाही, १९ जेठ । सर्लाहीमा चालु आर्थिक वर्षको १० महिनामा २६ जनामा औंलोको सङ्क्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका अनुसार चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म २२ जना र बुधवार थप ४ जनामा औंलो देखिएको हो ।

बलरा नगरपालिका २ र ९ मा घरघरमा स्वास्थ्यकर्मी खटाएर रगत परीक्षण गर्दा बुधवार थप चार जना औंलोका बिरामी फेला परेका हुन।

बलरा नगरपालिका २ हथियौल र ९ नरहरगञ्जमा यसअघि २२ जनामा  औलोरोग देखा परेको थियो ।

स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा. नवलकिशोर झाले थप बिरामी पत्ता लगाउन घरदैलो अभियान चलाइएको बताए ।

उनले औंलोका बिरामी भेटिएपछि सो क्षेत्रमा कीट र औषधिसहित चिकित्सकको टोली खटाएर रगत परीक्षण गर्ने काम भइरहेको पनि बताए ।

औंलोका कारण सङ्क्रमित भएकाहरूको स्वास्थ्य अवस्था सामान्य रहेको डा. झाले जानकारी समेत दिए।

औंलोका बिरामी भेटिएपछि जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीले बलरा नगरपालिका २ र ९ मा लामखुट्टे मार्न घरघरमा स्वास्थ्यकर्मी खटाएर औषधि छर्कने काम गरिरहेको छ। 

सरकारले सन् २०२२ भित्र मलेरिया शून्य पार्ने र सन् २०२५ भित्र यो रोगलाई उन्मूलन नै पार्ने लक्ष्य लिएको भए पनि बलरा नगरपालिकाको २ र ९ मा २६ जनामा सङ्क्रमण देखा परेपछि सरकारको लक्ष्य पूरा हुनेमा चुनौती थपिएको थपिएको छ ।

Last modified on 2022-06-03 15:16:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts