भरतपुर अस्पतालमा हाइड्रोसिलको उपचार र व्यवस्थापनबारे छलफल, ४२ जनाको निःशुल्क अप्रेशन



Download our app to get more features

चितवन, २० जेठ । चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालमा चालू आर्थिक वर्षमा ४२ जनाको निःशुल्क हाइड्रोसिलको अप्रेशन गरिएको छ । 

गत साउनदेखि यता अहिलेसम्म ४२ जनाको हाइड्रोसिलको निःशुल्क शल्यक्रिया गरिएको कार्यक्रमकी फोकल पर्सन गिता देवी भट्टराईले जानकारी दिइन्। उनका अनुसार अघिल्लो आर्थिक वर्षमा अस्पतालले ४७ जना बिरामीको निःशुल्क शल्यक्रिया गरेको थियो । त्यस अघि आर्थिक वर्ष २०७७/७८ मा ६२ जनाको निःशुल्क शल्यक्रिया गरिएको उनले जानकारी दिइन्।

कोरोना कहरका कारण पछिल्ला वर्षहरूमा यो संख्यामा कमी आएको हुनसक्ने उनले बताइन। बिहीवार अस्पतालले हाइड्रोसिलका बिरामीको कसरी थप प्रभावकारी रूपमा उपचार गर्ने भन्ने बारे ‘हाइड्रोसिल रोगको उपचार र व्यवस्थापन’ विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम राखेको थियो। 

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा. डा.कृष्णप्रसाद पौडेलको अध्यक्षतामा सो कार्यक्रम सञ्चालन गरिएको हो। अस्पतालले यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेर हाइड्रोसिलको समस्या लिएर अस्पताल भित्र आएका सबै बिरामीको सम्पूर्ण खर्च निःशुल्क हुने मेसु प्रा. डा. पौडेलले बताए।

यसलाई थप प्रभावकारी बनाउन तथा सबै तहका सर्वसाधारणलाई यसको पहुँचमा ल्याउन आफू सक्दो प्रयास गर्ने उनले प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा सर्जरी विभागका चिकित्सकहरू डा. आशिष पुन, डा. रामजी बास्तोला, डा. दिपेन्द्र न्यौपाने, विभिन्न विभागका विभागीय प्रमुख, कर्मचारी, पत्रकारलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा अहिलेसम्म यस सेवाको समग्र अवस्था र सेवा सञ्चालनमा देखिएका समस्या बारे छलफल एवम् त्यसको समाधान समेत निकालिएको छ। 

अस्पतालका सर्जरी विभागका विभागीय प्रमुख डा. नारद प्रसाद थपलियाका अनुसार ‘हाइड्रोसिल’ अण्डकोष वरिपरि पानी भरिएर ठूलो हुने रोग हो। यो एक वा दुवै अण्डकोषमा हुन सक्छ। यसमा जम्मा भएको पानीले गर्दा अण्डकोष सुनिएको जस्तो देखिन्छ। 

अण्डकोष र इपिडिडाइमिसको संक्रमण, फइलेरिया अर्थात हात्तीपाइले रोग, अण्डकोष र इपिडिडाइमिसको क्षयरोग, अण्डकोषको क्यान्सर जस्ता कारणले हाइड्रोसिल हुने गरेको उनले बताए। त्यस्तै, कतिपयमा जन्मजात नै र कतिपयमा कारण समेत थाहै नहुने उनले बताए।

डा. थपलियाका अनुसार हाइड्रोसिलका बिरामीमा अण्डकोष ठुलो हुनु, अण्डकोषको दुखाई तथा हिड्न असजिलो हुने जस्ता लक्षणहरू देखा पर्ने गर्दछ। सर्जन तथा अन्य डाक्टरबाट परिक्षण गरेर यो रोग पत्ता लगाउने गरिन्छ। कतिपयमा कहिलेकाहि अल्ट्रासाउण्ड समेत गर्ने गरिन्छ। 

उनका अनुसार हाइड्रोसिल भएका बिरामीमा चोट लागेमा रगत जम्न सक्ने, अण्डकोषको संक्रमण, अण्डकोष सुक्न सक्ने जस्ता जोखिम रहन्छ। यसको मुख्य उपचार अप्रेशन हो ।
फाइलेरिया अर्थात हात्ती पाइलेको कारणले हाइड्रोसिल भएमा औषधी पनि लिनुपर्ने हुन्छ भने अन्यको कारण अनुसार उपचार हुन्छ।

नेपालमा हात्तीपाइले रोगका कारण हाइड्रोसिलका बिरामी बढेपछि सरकारले यसको निःशुल्क शल्यक्रियाको व्यवस्था गरेको छ।

Last modified on 2022-06-03 18:38:11

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts