सेती अस्पताललाई ३ सय ५० शय्याको बनाउन प्रस्ताव



Download our app to get more features

धनगढी: धनगढीको सेती प्रादेशिक अस्पताललाई ३ सय ५० शय्याको बनाउन प्रस्ताव गरिएको छ। नेपाल सरकारबाट ५० शय्या र अस्पताल विकास समितिबाट ७५ शय्यासहित १ सय २५ शय्या स्वीकृत क्षमतामा सञ्चालनमा रहेको सेती प्रादेशिक अस्पतालाई ३ सय ५० शय्याको बनाउन प्रस्ताव गरिएको हो। 

प्रदेश सरकारले नीतिगत निर्णय गरी ३ सय ५० शय्याको अस्पतालको मान्यता दिएर बजेट व्यवस्थापन गरे सेवा प्रवाहमा निकै सहज हुने अस्पतालले जनाएको छ। सामाजिक विकास मन्त्रालयमार्फत प्रदेश सरकार पठाइएको प्रस्ताव पारित गर्न प्रदेश सरकार सकारात्मक रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

२०४१ सालमा नेपाल सरकारको स्वीकृत दरबन्दीअनुसार सेती प्रादेशिक अस्पतालको क्षमता ५० शय्याको मात्रै हो। तर, बिरामीको चाप बढेसँगै अस्पताल विकास समितिले २०६० मा ७५ शय्या थप गरेर अहिले सेतीमा स्वीकृत शय्या संख्या १ सय २५ मात्रै छ। अस्पतालले आएका बिरामीको उपचार गर्नैपर्ने भएकोले ३ सय ५० हाराहारीमा शय्या संख्या थपेर बिरामीको उपचार गर्ने गरेको अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले बताए।
‘सेती प्रादेशिक अस्पतालमा बिरामीको चाप बढेसँगै ३ सय ५० शय्याको व्यवस्था गरेका छौँ तर त्यो अनुरुपको दरबन्दी नहुँदा सेवा प्रवाहमा समस्या छ,’ उनले भने, ‘अस्पतालले ३ सय ५० शय्याका लागि ८ सय दरबन्दी आवश्यक हुने प्रस्ताव पेस गरेको छ। त्यो प्रस्ताव पास भए सेतीमा उपचार गर्न गराउन निकै सहज हुनेछ।’

सेती प्रादेशिक अस्पतालमा दैनिक एक हजारभन्दा बढी बिरामी उपचार गर्न आउने गरेका छन्। तर, जनशक्ति अभावमा अस्पतालले समस्या भोग्नु परेको बताइन्छ।   प्रदेशकै प्रमुख अस्पताल भए पनि सरकारी दरबन्दीका १ सय ६ र अस्पताल विकास समितिबाट ८३ गरी जम्मा १ सय ८९ जना जनशक्ति मात्रै अस्पतालमा कार्यरत छन्। ३ सय ५० शय्याको अस्पतालका लागि क्लिनिकल र प्रशासनिक गरि ६ सय ९४ जना कर्मचारी थप्नुपर्ने प्रस्ताव सामाजिक विकास मन्त्रालयमा पठाइएको छ। तर, प्रदेश सरकारले निर्णय भने गरिसकेको छैन।

सेती प्रादेशिक अस्पतालमा भौतिक पूर्वाधार उपकरण र क्षमता वृद्धि गर्ने कुरामा भने सामाजिक विकास मन्त्रालयले पहल गरिरहेको जनाएको छ। अस्पतालको प्रस्ताव उपर सबै पक्षसँग छलफल भइरहेको र आउने बजेटमा नै अस्पतालको प्रस्ताव अनुसार बजेट व्यवस्थापन गरिने सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले बताए। ‘अस्पतालको प्रस्ताव आएको छ, अस्पतालका डाक्टर सा’पसँग पनि मन्त्रालयले छलफल गरेको छ,’ उनले भने, ‘यो विषयमा चाँडै निर्णय हुनेछ।’

सामाजिक विकास मन्त्रालय सेती प्रादेशिक अस्पताललाई भौतिक तथा जनशक्तिले सम्पन्न बनाउने योजनामा रहेको सामाजिक विकास मन्त्री गोविन्दराज बोहराले बताए। अस्पतालमा अत्याधुनिक भवन निर्माण गर्ने, उपकरण र जनशक्ति व्यवस्थापन गर्ने र जग्गा प्राप्तिको लागि पनि काम गर्ने आफ्ना प्रमुख प्राथमिकता रहेको मन्त्री बोहराको भनाइ छ। ‘मेरो लक्ष्य सेती अस्पताललाई सुविधा सम्पन्न बनाउने भन्ने छ,’ उनले भने, ‘अस्पताल भवन, उपकरण व्यवस्थापन, जग्गा प्राप्ति र अस्पतालको स्तरोन्नति गर्न म प्रतिवद्ध छु।’

सुदूरपश्चिमका सबै जिल्लाका बिरामीले उपचार गर्ने अस्पतालका रुपमा पहिचान बनाएको सेतीमा जनशक्ति अभावको कारण सबै किसिमका उपचार सम्भव नहुँदा उपचारका लागि अन्यत्र जानुपर्दा प्रदेशवासीले समस्या भोग्नु परेको छ।

Last modified on 2022-06-14 16:19:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts