के मङ्कीपक्स 'अन्तर्राष्ट्रिय सङ्कट' बन्न लागेको हो ?



Download our app to get more features

एजेन्सी,१ असार । मङ्कीपक्स रोगको नयाँ नाम राख्न विज्ञहरूसँग मिलेर काम भइरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले बताएको छ।

गत साता ३० भन्दा बढी वैज्ञानिकहरूले उक्त भाइरस र त्यसले गराउने रोगको 'एउटा अविभेदकारी र लाञ्छना नलगाउने' खालको नाम तत्काल आवश्यक भएको औँल्याएका थिए।

निरन्तर रूपमा उक्त भाइरसलाई 'अफ्रिकी' भनिनु यथार्थपरक नहुनुका साथै त्यो विभेदकारी समेत भएको उनीहरूको भनाइ थियो ।

विगत केही सातामा विश्वभरि १,६०० जनामा उक्त रोग पुष्टि भइसकेको छ ।

मङ्कीपक्स पहिल्यै आन्तरिक प्रकोपको रूपमा रहेका देशबाट ७२ जनाको मृत्यु भएको विवरण आएको छ भने उक्त भाइरसबाट प्रभावित भएका यूकेसहित ३२ वटा नयाँ देशमा कसैको पनि मृत्यु भएको छैन ।

जुन महिनाको १२ तारिखसम्म इङ्ग्ल्यान्डमा ४५२, स्कटल्यान्डमा १२, नोर्दन आयरल्यान्डमा २ र वेल्समा ४ जना मङ्कीपक्स पुष्टि भएका बिरामी थिए ।

नेपालसहित दक्षिण एशियाका कुनै देशमा पनि मङ्कीपक्स फेला परेको पुष्टि भएको छैन ।

मङ्कीपक्स के हो ?

मङ्कीपक्स भाइरसका कारण मङ्कीपक्स रोग लाग्छ। यो भाइरस बिफर रोग गराउने भाइरसकै वर्गमा पर्छ । तर सङ्क्रमण भएपछि लक्षणहरू त्यति गम्भीर हुँदैनन् ।

केही वैज्ञानिकहरूले यो भाइरसको नामकरण एचएमपीएक्सभी (hMPXV) गर्न सुझाव दिएका छन्। तर यसबारे डब्ल्यूएचओले के भन्छ त्यो जान्न केही समय प्रतीक्षा गर्नुपर्छ ।

मङ्कीपक्स सङ्क्रमणका लक्षणहरू मध्यम खालका हुन्छन् र सर्वसाधारण मानिसलाई यो रोग सर्ने सम्भावना न्यून हुन्छ ।

यूके सरकारले यो रोग थप फैलिन नदिने उद्देश्यले आवश्यक परे प्रयोग गर्नका लागि बिफरविरुद्धको खोप किनेर राखेको छ ।

केही महिनादेखि यो भाइरस विश्वभरि असामान्य रूपमा फैलिरहेको छ । पहिलाका प्रकोपहरू अफ्रिकाका केही भागमा सीमित थिए । ती स्थानमा बाँदरमा नभई मुसा र लोखर्केजस्ता जीवमा यो भाइरस पहिला सर्ने गरेको विश्वास गरिन्छ ।

मङ्कीपक्स सङ्क्रमण भएपछि ठेउलाको जस्तो डाबर देखिन्छ । सङ्क्रमित व्यक्तिको निकट सम्पर्कमा आउने अरूमा पनि यो भाइरस सर्न सक्छ ।

यसलाई यौन रोग नमानिए पनि यौन संसर्गबाट पनि यो भाइरस सर्न सक्छ । लक्षण नहराउन्जेल यो सङ्क्रमण भएका मानिसले सहवास गर्नु हुँदैन ।
बीबीसी

Last modified on 2022-06-16 12:12:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts