सुदूरपश्चिमका ३ जिल्लामा मात्रै ५ देखि १२ वर्ष मुनिका बालबालिकालाई पहिलोचरणमा खोप लगाइने



Download our app to get more features

धनगढी, ६ असार । सुदूरपश्चिमका ३ जिल्लाका ५ वर्षदेखि १२ वर्ष मुनिका बालबालिकालाई कोरोना भाइरसविरुद्धको ‘फाइजर बायोएनटेक’ खोप लगाइने छ । 

सरकारले असार ९ गतेबाट सुरु गर्ने खोप अभियानको पहिलो चरणमा सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र डडेल्धुरामा खोप लगाइने बताइएको छ । 

‘फाइजर बायोएनटेक’ खोप सुरक्षित र प्रभावकारी भएको बताइएको छ । आइतवार धनगढीमा आयोजना भएको ‘कोभिड–१९ विरुद्धको भ्याक्सिन प्रवद्र्धन तथा रोकथाम नियन्त्रण’ सम्बन्धी पत्रकार अन्तरक्रियामा सो कुरा जानकारी दिइएको हो । 

अन्तरक्रियामा प्रस्तूतिकरण गर्दै सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत हेमराज खड्काले कोरोना भाइरस विरुद्धको खोपको प्रभावकारिता ९१ प्रतिशत रहेको बताए ।

उनले यो खोप सुरक्षित भएकाले सबै बालकालिकालाई खोप अभियानमा सहभागी गराउन आग्रह गरेका छन् । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले खोप विद्यालयमा नै गएर लगाउने भएको छ ।

खोप लगाएमा बालबालिकामा केही असर देखिने भएकाले खोप केन्द्रमा नै उपचारको व्यवस्था गरिएको खड्काले बताए । 

साथै कोभिड–१९ संक्रमित भएको अवस्थामा उक्त खोप नलगाउन उनले अनुरोध गरे । तर, निको भएको ३० दिनपछि भने खोप लगाउन मिल्ने खड्काले बताए । 

यस्तै ५ वर्षभन्दा कम र १२ वर्ष वा सो भन्दा बढी उमेरको व्यक्ति तथा पहिलो मात्रा लगाएपछि कुनै पनि गम्भीर प्रकारको एलर्जिक प्रतिक्रिया भएकाले यो खोप लगाउन नहुने अन्तरक्रियामा जानकारी दिइएको छ । 

यस्तै ‘फाइजर बायोएनटेक’ लगाएपछि सामान्यता टाउको दुख्ने, सुई लगाएको ठाँउमा दुख्ने, सुन्निने, आलस्य हुने, जाडो हुने, ज्वरो आउने, वाकवाकी लाग्ने र वान्ता लाग्ने हुने बताइएको छ । यी अवस्था सामान्य भएकाले नआत्तिन वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत खड्काले आग्रह गरेका छन् ।

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकुले आयोजना गरेको अन्तरक्रियामा तारकेश्वर मिडिया प्रालि काठमाडौंले सहकार्य गरेको थियो ।

Last modified on 2022-06-21 13:55:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts