सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण बढ्दै



Download our app to get more features

सुदूरपश्चिम,१० असार । सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको छ । गएको फागुनदेखि कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गएकामा पछिल्ला केही दिनदेखि सङ्क्रमण बढ्न थालेको हो ।  

पछिल्ला दुई दिनमा थप १२ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ । निर्देशनालयको तथ्याङ्कमा गएको २४ घन्टामा  नौ जनामा यो रोगको सङ्क्रमण भएको उल्लेख छ ।
  
कोरोना भाइरसको आशङ्कामा बुधबार ३ सय ५९ जना र आज बिहीबार ३ सय २८ जनाको नमूना परीक्षण गरिएको थियो । पछिल्ला दिनमा यो रोगको सङ्क्रमण दर केही बढे पनि फागुनयता रोगले हुने मृत्युदर भने शून्य छ ।
   
भारतमा यो रोगको सङ्क्रमण बढेसँगै नेपालमा पनि यो रोगको सङ्क्रमण बढ्ने जोखिम देखिएको सीमा नाकामा खटिएका स्वास्थ्यकर्मीको भनाइ छ ।
  
सीमा नाकामा रोकथामका लागि गर्नुपर्ने सतर्कतामा लापरवाही भइरहँदा यो रोगको सङ्क्रमण बढ्न थालेको बताइएको छ । सीमानाका हुँदै भित्रिनेको नमूना परीक्षणको कामलाई प्रभावकारी बनाउँदै सङ्क्रमण फैलिन नदिन आवश्यक व्यवस्था गर्नुपर्ने स्वास्थ्यकर्मीले बताएका छन् ।
  
सुदूरपश्चिम प्रदेशका विभिन्न सीमा नाकाबाट बुधबार ६ सय ६४ र आज  ५ सय ८७ जना नेपाल भित्रिएको जनाइएको छ । सीमा नाकामा कोरोनाको लक्षण देखिएका व्यक्तिको मात्र एन्टिजेन विधिबाट नमूना परीक्षण हुने गरेको छ ।
   
प्रदेशमा हालसम्म खोप दिनुपर्ने लक्षित जनसङ्ख्या २२ लाख ८३ हजार ३ सय ८८ मध्ये अधिकांशले पूर्णमात्राको खोप पाइसकेको निर्देशनालयले जनाएको छ । पछिल्ला दिनमा कोरोनाविरुद्धको खोप नपाएका बालबालिकालाई खोप दिन सुरु गरिएको छ । 
रासस 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts