‘औषधि (तेस्रो संशोधन) र ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक राष्ट्रिय सभाबाट पारित



Download our app to get more features

काठमाडौं, १७ असार । राष्ट्रिय सभाबाट स्वास्थ्यसम्बन्धी दुई वटा विधेयक ‘फास्ट ट्रयाक’ मा पारित भएको छ ।

आइतवार बसेको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले प्रस्तुत गरेका ‘औषधि (तेस्रो संशोधन) विधेयक र ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ सर्वसम्मतिले पारित गरेको राष्ट्रिय सभा सचिवालयले जनाएको  हो ।

कोरोना महामारीलाई ख्याल गरेर तत्कालीन सरकारले ल्याएको अध्यादेधलाई प्रतिस्थापन् गर्न वर्तमान सरकारले विधेयक ल्याएको हो ।

सामान्यतया विधेयकमाथि सदनमा सैद्धान्तिक छलफल गरेर दफावार छलफलका लागि विषयगत समितिमा पठाउने अभ्यास छ । तर, यी विधेयकलाई भने राष्ट्रिय सभाले सभामै दफावार छलफल गरेर पारित गरेको हो ।

संसदको चालु अधिवेशनको अवधि कहिलेसम्म जान्छ भन्ने यकिन नभएकाले फास्ट ट्रयाकमा पारित गरेर प्रतिनिधिसभामा पठाइएको राष्ट्रिय सभा सचिवालयले जनाएको छ ।

राष्ट्रिय सभाबाट पारित औषधि (तेस्रो संशोधन) विधेयकमा कोरोना भाइरस महामारीको समयमा आपत्तकालीन औषधि प्रयोग गर्ने सम्बन्धी व्यवस्था छ ।

आपत्तकालीन औषधि प्रयोग गर्दा पनि त्यो गुणस्तरीय र विश्व स्वास्थ्य संगठनले मान्यता दिएको हुनुपर्ने भनी नेकपा एकीकृत समाजवादीका सांसद बेदुराम भुसाल र कांग्रेसका सांसद प्रकाश पन्थले संशोधन प्रस्ताव हालेका थिए ।

स्वास्थ्यमन्त्री  खापुङले सांसदद्वयको माग अनुसार कानुनी व्यवस्था गर्ने प्रतिबद्धता जनाएपछि दुबै सांसदले संशोधन फिर्ता लिए ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयकमा भने तीन समुहमा ९ वटा संशोधन प्रस्ताव दर्ता भएको थियो ।

स्वास्थ्यमन्त्री खापुङले सांसदहरुको माग अनुसार विधेयकलाई समृद्ध बनाउने प्रतिबद्धता जनाए । अन्य सम्बन्धित ऐन संशोधन गर्दा र नियमावलीमा समेत सांसदहरुले उठाए विषय समेट्ने प्रतिबद्धता मन्त्री खापुङले जनाए ।

अब यी दुबै विधेयक प्रतिनिधि सभामा जान्छ । प्रतिनिधि सभाले पनि पारित गरेपछि सभामुख हुँदै राष्ट्रपतिकहाँ पुगेर प्रमाणीकरण भएपछि दुबै विधेयकले ऐनको रुप लिनेछ ।

Last modified on 2022-07-07 07:41:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts