कैलाली–कञ्चनपुरमा ‘नाइरोबी फ्लाई’को आतंक



Download our app to get more features

केही दिनअघि धनगढीका टंक पाठकको घाँटीमा एक किसिमको घाउ देखियो । चिलाउने र छुँदा दुख्ने त्यो घाउ के–कारणले भयो भनेर उनले ठम्याउन सकेनन्। उनको छाला चिलाउने, पोल्ने र संक्रमित ठाउँमा फोका उठ्ने भइरहेको थियो । उनले एन्टीसेफ्टिक पाउडर लगापछि २ दिनमा त्यो घाउ निको भयो।

यस्तै कञ्चनपुरकी शिला तामाङको ढाडमा पनि त्यस्तै किसिमको घाउ भएको थियो । हेर्दा डडुवा घाउ जस्तो देखिने त्यसले उनलाई साह्रै दुःख दियो । उनले पनि त्यो घाउ के कारण ले भयो भनेर बुझ्न सकिनन्। ‘छुँदा पोल्ने घाउका कारण उत्तानो परेर सुत्नै सकेन । कुनै किराले टोकेको होला भनेर मैले अनुमान लगाएको थिए’ उनले भनिन्। सामान्य मलम लगाएपछि त्यो घाउ ३ दिनमा निको भयो ।

अहिले भारतसँग सीमा जोडिएका जिल्लामा यस्तो किसिमको छालाको संक्रमण देखा पर्न थालेको छ । भारतसँगै रहेका कैलाली र कञ्चनपुरमा पनि यसका संक्रमित भेटिएका छन् । यो कुनै रोग नभइ ‘नाइरोबी फ्लाई’ नामक किराका कारण भएको स्वास्थ्यकर्मीहरुले बताएका छन्। उसले फ्याक्ने एसीडले छालामा संक्रमण हुने बताइएको छ । 

यो किरा अफ्रिकामा पाइन्छ । यसको शरीरमा एक किसिमको रसायन पाइन्छ जसको सम्पर्कमा आउँदा जलन हुने गर्दछ । यसैकारण यसलाई ड्रेगन बग पनि भनिन्छ । 

यो किरा हाम्रो छालाको सम्पर्कमा आएपछि छाला चिलाउने, पोल्ने र फोका उठ्ने तथा दुख्ने जस्ता लक्षण देखापर्ने छाला रोग विशेषज्ञले बताएका छन् ।  

बर्खायामका बेला बढी देखापर्ने नाइरोबी फ्लाई अफ्रिकी मुलुकबाट भारत हुँदै नेपाल प्रवेश गरेको अधिकारीहरुले बताएका छन् । 

यसबाट बच्न शरिर छोप्ने कपडा लगाउने तथा साँझको बेला झ्यालढोला बन्द गर्न स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् । यसको सम्पर्कमा आएर छालामा संक्रमण भएमा चिकित्कलाई देखाउन आग्रह गरिएको छ । 

न्यूयोर्क टाइम्स्को सहयोगमा

Last modified on 2022-07-08 09:59:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts