खटाइएको ठाउँमा जान मान्दैनन् सुदूरपश्चिमका स्वास्थ्य कर्मचारी



Download our app to get more features

धनगढी, ३ साउन । सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले २०७८ मंसिर १७ गते मातहतका कार्यालयलाई पत्र काट्यो। समायोजना भएका कर्मचारीलाई सम्बन्धित स्थानमा जान दिर्नेशनसहितको पत्र मन्त्रालयले मातहतका कार्यालयलाई पठाएको थियो। तर, उक्त निर्देशन दिएको ७ महिना पुरा हुँदा पनि केही स्वास्थ्यतर्फका कर्मचारीले वास्ता गरेका छैनन्।

पठाएको ठाउँमा जान नमान्ने केही अटेरी कर्मचारीहरु सेती प्रादेशिक अस्पतालमा छन्।

अस्पतालकी नर्सिङ निरीक्षक पदमा कार्यरत यशोदा ढकालको समायोजन गोदावरी नगरपालिकामा भएको थियो। तर, उनी अहिलेसम्म नगरपालिकामा हाजिर नभएको गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले बताए।

‘नर्सिङ निरीक्षकको समायोजन मालाखेती अस्पतालमा भएको थियो,’ उनले भने, ‘अहिलेसम्म आउनुभएको छैन। हाल उहाँ सेतीमा नै कार्यरत हुनुहुन्छ।’

सेती अस्पतालमै कार्यरत शारदा विष्टको पनि कैलालीकै गौरीगंगा नगरपालिकामा समायोजन भएको थियो। तर, उनी पनि हालसम्म उक्त स्थानीय तहमा हाजिर नभएको गौरीगंगा नगरपालिकाकाले जनाएको छ।

लामो समयदेखि सेतीमै कार्यरत कर्मचारीहरु अन्य ठाउँमा जान अटेरी गरिरहेका छन्।

प्रदेश सरकारले गत मंसिरमा नै रमाना दिएर समायोजन भएका कर्मचारीलाई सम्बन्धित ठाउँमा पठाउन भनेपछि अस्पतालले नै चासो नदिएको देखिएको छ।

केही सरुवा भएका कर्मचारीलाई सोही समयमा पठाएको भएपनि केहीलाई भने रमाना दिन अस्पताल प्रशासनले नै आनाकानी गरेको देखिएको छ।

समायोजन भएका कर्मचारी हाजिर नहुँदा स्वास्थ्य सेवा भने प्रभावित भएको गौरीगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ईश्वरीप्रसाद भूसालले बताए।

‘समायोजना भएका सबै कर्मचारीहरु पुगेका छैनन्। स्वास्थ्य सेवा पनि प्रभावित हुँदै आएका छ। हामीसँग कर्मचारीको कमी छ,’ उनले भने।

प्रदेशको सामाजिक विकास मन्त्रालयले मन्त्री स्तरिय बैठकबाट निर्णय गरेर उक्त निर्देशन दिएको थियो। उक्त निर्देशन समयमा कार्यान्वयन नगरेर सेती अस्पताल प्रशासनले पनि कमजोरी गरेको छ।

कर्मचारी समायोजन २०७५ सालमा नै भएको थियो। उक्त समयमा पनि कर्मचारीले अटेरी गरेका थिए। त्यसपछि कोभिडका कारण सम्बन्धित ठाउँमा पठाउन नसकिएको बताइएको छ। तर पछिल्लो पटक मन्त्रालयले निर्देशन दिएको सात महिनासम्म पनि पठाएको ठाउँमा जान बेवास्ता गरेको देखिएको छ।

नयाँ आर्थिक वर्षको सुरुकै दिन समायोजन भएका कर्मचारीलाई रमाना दिएको दाबी सेती प्रादेशिक अस्पतालका मेसु डा. हेमराज पाण्डेयको छ। ‘मैले सबैलाई रमाना दिइ सकेको छु। साउन १ गतेदेखि लागू हुनेगरी रमाना दिएको हुँ। अब समायोजनामा परेकाहरु जान्छन्,’ उनले भने।

सेती अस्पताल मात्रै नभएर अन्य निकायमा कार्यरत कर्मचारीहरु पनि समायोजन भएको ठाउँमा जान मानिरहेका छैनन्। जसकाकारण बजार क्षेत्रमा कर्मचारीहरु चाहिनेभन्दा बढी छन् भने गाउँका स्वास्थ्य संस्थामा पदपूर्ती हुन सकेको छैन। यसको प्रत्यक्ष असर स्वास्थ्य सेवामा परेको छ।

Last modified on 2022-07-19 15:52:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts